info@jayrimal.com

98********

काकाका कुण्ठा

काकाका कुण्ठा

 

शरदको मिर्मिरे बिहान । हेपाली हाइटको सुनसान सडकमा मष्तिष्क र मनको द्वन्दमा अनायसै धकेलिएका समिरका पाइलाहरु तिव्र गतिमा लम्किएका एक अधबैंशेको (उमेरले काका) जोशले तन्किन्छन् । 

अनायसै उ उत्साहित हुन्छ । धेरै समयपछि खोजेको वस्तु पाए झैं खुशी पनि ।

समिरलाई मधुमेहले सताएपछि जीवनको मोह अझै बढेको छ । शारीरिक स्फुर्ति बढाई केहि थान वर्ष बढी बाँच्ने रहर पनि पलाएको छ । 

काकाको खुट्टासँग चाल मिलाउँदै दुरि घटाउन पाइला लम्काउँदै गर्दा केहि दिनपछि आफू पनि फुर्तिलोसँग हिंड्न सक्ने कल्पना समेत गर्छ ।

टाढाबाट हेर्दा बान्की परेको शरिरमा सफेद पोशाकले काका धपक्कै बलेका छन् । सायद यसले समिरलाई उनीतर्फ थप आकर्षित गरेको छ ।

समिर उनको नजिक पुग्छ अनि नजिकबाट नियाल्न थाल्छ । टाढाबाट देखेको काका र नजिकबाट हेरेको काकामा उसले फरक पाउँछ ।  

वास्तवमा काका हतास मुद्रामा देखिन्छन् । मुहार कान्तिहिन छ । कन्चटको नशा एकतमासले चलिरहेको र ओठमा चाल देखिन्छ तर आवाज भने शून्य !

सायद मनको उभारले बढाएको बेचैनी उनको भावभङ्गीमा प्रतिविम्वित भएको छ ।

संशय र कौतुहलताका साथ काकासँग कदममा कदम मिलाउँदै केहि बेर सँगै हिंडेपछि समिरले काकासँगको सामिप्यता बढाउँछ । अनि उत्सुकता र चिन्ता मिश्रित भावमा केहि थान प्रश्न गर्छ । समिरको प्रश्नमा काका मुस्कुराउँछन् । 

अनपेक्षित मुस्कुराहटले समिर असमञ्जसमा पर्छ ।  

काकाका ओंठहरु अनायसै चल्न थाल्छन् । काकाले आफूलाई प्रतिप्रश्न गरेको कल्पना गर्छ ।  

“को हौ तिमी ? किन सोध्छौ प्रश्न ? के जान्न चाहेका छौ मसँग ? तिमीले आफुलाई बुझेका छौ ? परिवार, समाज र दुनियाँलाई बुझेका छौ ? 

के हुनुपर्थ्यो ? के भइरहेको छ ? किन भइरहेको छ ? यी सब भए के का लागि ? 

सक्छौ पत्ता लगाउन ?

पहिले मेरा यी प्रश्नहरुका उत्तर सोध, खोज र पत्ता लगाउ । अनि तिमीले बुझेको दुनियाँ र मैले चाहेको दुनियाँविचका फरकबारे बसेर कुरा गरौंला ।

सायद काकाका प्रश्नहरु यिनै होलान् । 

तर यस्ता प्रश्न त मैले अपेक्षा गरेको थिइन भन्दै समिर सोचमग्न हुन्छ । उसमा एक खालको बेचैनी बढ्छ । 

अकस्मात काका च्याँठ्ठिएको र आफू झस्किएको अनुभुत गर्छ । काकाका प्रश्नहरु सकिएका छैनन् भन्ने ठान्दछ । पुन: काकाका प्रश्नहरुको अनुमान गर्न थाल्छ ।

कति हामी सधैं शंका र अविश्वासबाट मात्र गुज्रिरहने ? घृणा, अपमान र आलोचना किन हाम्रा प्रिय वस्तु हुने ? अरुको अस्तित्व स्वीकार्न छाडी किन मैमत्ता हुने ? जे मा पनि अरुलाई मात्रै दोष दिने ? सबैले आफ्नो कर्तव्य पूरा गर्ने हो भने अरुलाई दोष दिनुपर्छ र ? यस्तो स्वभाव र कार्यशैलीको गन्तव्य कहाँ हो ? 

समिरको कल्पनामा काका रोकिएका छैनन् । कसैले सुनोस् वा नसुनोस् ! कुनै परवाह नभए झैं उनी बोलिरहन्छन् । 

“अरुलाई सिकाउन चाहिं सबैले जान्दछन् है ? अरु कसले के काम गर्नुपर्दछ सबैलाई थाहा छ तर आफुले के गर्नुपर्छ भन्ने चांहि कसैलाई थाहा छैन, यो कस्तो अचम्म हो ? आफ्नो कमजोरीमा समेत किन अरुको दोष देखाई पन्छिन खोज्छन् आजकाल सबै । आखिर आफ्नो गल्ति स्वीकार्न किन यति धेरै गाह्रो भाको हो ? मान्छे हो, जान अन्जानमा गल्ति हुनसक्छ । मेरा कमजोरी स्वीकार्छु अनि सुधार्छु भन्न किन नहुने ? आफू राम्रो हुन अनि आफ्ना गलत कार्यको छाकछोप गर्नका लागि सबैको आ-आफ्नै तर्क हुन्छन् । लाग्छ कि सायद आँखा देख्ने र सबै कुरा थाहा पाउने उनीहरु मात्रै हुन् अरु सबै मानिस बेकारका छन् !

हामी कति स्वार्थी हुँदै छौं है ? परिवार र समाज जोड्ने परोपकारी कर्म, सहयोगी भावना र सामाजिक कार्यहरु सबै मेटिंदै गएका छन् । सांस्कृतिक र नैतिक मूल्य मान्यताहरु एकादेशका कथा भएका छन् ।”

समिर भावुक हुन्छ र आफुलाई काकामा पूर्णरुपमा समर्पित गर्छ । 

आँखा ठुला-ठुला बनाउँदै चिन्तित मुद्रामा काकाले केहि थपिरहे झैं लाग्छ उसलाई ।  

“जिम्मेवार मानिसहरु नै प्रभावमा परिरहेका छन् । शक्तिको पूजा गरिरहेका छन् । आखिर यो कहिलेसम्म ? के का लागि ? कहिल्यै कसैलाई पुगेन है ? न पदले पुग्यो, न शक्तिले पुग्यो, न त धनले नै ! कति कृतघ्न भा’को हो ?

विडम्वना त यो छ कि यति हुँदा पनि सबै जना तनावमै देखिन्छन् । सबै दु:खी छन् । नहुने पनि दु:खी छन्,  हुने पनि दु:खी नै छन् । कसैलाई के पुगेको छैन अरे, कसैको के भएको छैन अरे । यस्तो हुनुपर्थ्यो रे, उस्तो हुनुपर्थ्यो रे !”

काकाले लामो स्वास तानेर खुइय: गरेको आभाष हुन्छ । उनले अझै केहि भने झै लाग्छ समिरलाई । पुन: काकाका भावनाहरु अनुमान गर्छ ।

“निकै चिन्ता लाग्छ बाबु ! कुनै दिन राम्रो समाचार सुन्न पाइदैन । सदाचार, सुशासन, सत्कर्म र परोपकारी कामको खबरै आउँदैन । सञ्चार माध्यम सबै नकारात्मक विषयले नै भरिएका छन् । सामाजिक सञ्जालका स्ट्याटसमा छेडछाड, गाली र आरोप मात्रै देखिन्छन् । स्वार्थीपन र नकारात्मकताले सीमा पार गरिसकेको छ । यो सब देख्दा पनि कसैलाई भविष्यको चिन्ता नभएजस्तो देखिन्छ । यसको परिणति के हुने हो कसले बिचार गर्ने होला ? विगतको तुलना, भविष्यको आंकलन केहि पनि भएन । दुरदृष्टि, विकास र समृद्धि त कल्पनामै सीमित हुने भयो !”

समिरको कल्पनामा बे-लगाम आक्रोस पोखेका काकाले दोबाटोमा पुगेर बा-बाई गर्दै हात हल्लाउँदा समेत केहि भने झैं लाग्छ ।  

“ल त बाबु मैले देखे भोगेको कुरा यिनै हुन् । तपाईंलाई कस्तो लाग्यो कुन्नि ? यो बुढो बौलाएछ भने पनि भन्नुस् । यिनले ठिकै कुरा गरे भने पनि भन्नुस् । तर एउटा कुरा चांहि याद गर्नुहोला । अब हामीलाई जनावरबाट भन्दा मानिसबाट धेरै डर हुनेछ ।”

काका समिरबाट टाढा हुन्छन् । काकासँग नजर मिलाएर खिस्स हाँस्न चाहन्छ समिर । तर चिन्ता मिश्रित बे-लगाम आक्रोशको कल्पनाले समिर स्तब्ध हुन्छ ।

एकाबिहानै अपरिचितसँगको यो तहको कुण्ठालाई समिरले सामान्य मान्न सक्दैन । काकाबाट छुट्टिएर टाढा गएसँगै समिरको मनमा विचारको बाढी आउन थाल्छ । 

काकाको आवरणमा समिरको कल्पनातित एकोहोरो संवादले आफैंलाई निराशावादी अनि नकारात्मक भनेर चित्रण नगरेको पनि होइन । तर आफ्नो स्वार्थलाई मात्रै केन्द्रमा राखेर काम गर्नेहरुको अस्तित्व र प्रभाव प्रशस्त देखेको उसले आफैंमाथि बिरोधाभास टिप्पणी गर्न पनि चाहेन । सायद यो चिन्ता र आक्रोश आम मानिसहरुको हो भन्नेमा आफूलाई चित्त बुझाउँदै घरतर्फ पाइला लम्काउँछ ।  

बाटोमा हिंड्दै गर्दा समिरको एउटा मन दुइवटामा बिभक्त हुन्छ र दुबैले आफ्नो-आफ्नो बुझाई सुनाउँछन् ।  

उसको एक मनले भन्छ, “यस्ता कति काका होलान् जसले हामी सबैलाई निराशाको बादलभित्र धकेलिदिएका छन् ? परिवर्तन कहाँ एकैपटक हुन्छ त ! सांस्कृतिक, राजनीतिक र आर्थिक परिवर्तनलाई संस्थागत हुन समय त लाग्छ नि । भएका सकारात्मक काममा खुशी हुनुको सट्टामा किन नैराश्यता बढाएका होलान् ?”

फेरी अर्को मनले भन्छ, “काकाले सत्य बोलिरहेका छन्, हाम्रा नैतिक र सांस्कृतिक मुल्य एवम् मान्यताहरु खस्किदै गएका छन् । हामी भन्दा पनि म भन्ने प्रवृत्ति बढ्दै गएको छ । परोपकारी कर्म र सामुहिक भावनामा महशुस हुने गरी ह्रास आएको छ । बेरोजगारीको अवस्था दिनप्रतिदिन बढ्दो छ । आर्थिक र सामाजिक अपराध बढ्दै गएको छ । राजनीतिले अपेक्षाकृत गति लिएको छैन् । प्रतिभा पलायन निकै बढेको छ । अनि यो सब देखे भोगेर पनि हामी कसरी सकारात्मक हुन सक्छौं त ?”

एकछिन सोचमग्न हुन्छ समिर । उसको मनमा अर्को स्वीकारोक्ती आउँछ । 

“साँच्चै, धेरै नकारात्मक बनेका छौं है हामी ? अपेक्षा गरेबमोजिम नहोला तर क्रमिक रुपमा विकास भएकै छ त । बत्तीले दिएको उज्यालोमा खुशी हुनुको अलावा हामी किन बत्ती मुनिको अंध्यारो हेरेर चिन्तित भएका छौं ?” 

आखिर “काका” हरुको भोगाई र सोचाई परिवर्तन गर्न सकिदैन । उनीहरुको मनको कुण्ठा हटाउन र चिन्ता कम गर्न पनि सकिदैन । त्यसो त नकारात्मक विचारधाराका मानिसहरुलाई सकारात्मक बनाउन पनि सक्दैन । अनि अरुको भावना बुझ्ने, सुन्ने र कल्पिने गर्दा हुन्छ चांहि के ? 

एकछिन घोत्लिएपछि कुनै दिब्यज्ञान प्राप्त हुँदा झैं अनुहार उज्यालो बनाउँछ । फोकटको चिन्ताले आफूलाई अँध्यारो खाडलमा खसाल्ने बाहेक अन्यत्र कहिं नपुर्याउँने निचोडमा पुग्छ । आफ्नो क्षमताभित्र नरहेको विषयमा चिन्तित हुनुको अर्थ नभएको विषयमा कन्भिन्स हुन्छ । अहिलेसम्म जे जति राम्रा भएका छन् त्यसमा सन्तुष्ठ हुँदै आफू भएर जिउने अठोट गर्छ । अनि आफ्नो क्षमताले भ्याएसम्म सकारात्मक भावनाको विकास गर्न केहि न केहि गर्ने प्रण गर्छ । 

 

मंसिर, २०८०

टोखा, काठमाण्डौं ।

साहित्यपोष्टमा २०८० मंसिर २७ मा प्रकाशित (https://sahityapost.com/top-news/130450/) ।

Views: 138

यो रचना तपाईलाई कस्तो महसुस भयो ?

5

खुसी

0

दुःखी

0

अचम्मित

0

उत्साहित

0

आक्रोशित

यो पनि पढ्नुहोस्