info@jayrimal.com

98********

भगवान स्वयं मरेको दिन

भगवान स्वयं मरेको दिन

 

दिनको १२ बजेको हुँदो हो, मोवाईल फोनको घण्टी बज्यो । प्राचार्यले गर्नुभएको रहेछ । 

फोन उठाएर “हजुर” भन्न नपाउँदै मलिन आवाजमा भन्नुभयो, “सर, एउटा दुःखद खबर छ ।”  मैले हतारिएर सोधेँ, “हँ, कसलाई के भयो ?”  प्रतिउत्तर साह्रै अप्रिय आयो । 

दिपेशको असामयिक निधनको खबर थियो त्यो । मेरा हात खुट्टा लग-लगाउन थाले । 

ती बाबु विद्यालयकै एक शिक्षिकाको छोरा थिए । घटनाबारे थप पुष्टि गर्न मन लाग्यो । सहायक प्राचार्यलाई टेलिफोनमा सोधें, “मैले एउटा अप्रिय खबर सुनेँ, के यो सत्य हो ?” 

“हजुर, हो सर ! बाबुको शव सिभिल हस्पिटलमा छ । म स्कूल जाँदै छु ।” कम्पनसहितको आवाजमा घटनाको पुष्ट्याईँ  थियो यो । म अवाक् भएँ ।

फागुपूर्णिमाको दिन थियो । सबैजना हाँसीखुसी रङ्गहरुको पर्व “होली” मनाइरहेका थिए । म पनि परिवारसँग रमाउँदै थिएँ । म अस्पताल जानको लागि हतारिएँ । 

अकस्मात् मेरो रवैया परिवर्तन भएकोले श्रीमती आत्तिइन् । यो स्वभाविक पनि थियो । “कसलाई के भयो र ?” मसँग उत्तरको अपेक्षा गरी ढोका ढक्ढक्याउन लागिन् । 

अकल्पनीय त्यो खबरले मर्माहत मैले आफूसँगै होलीमा रमाइरहेकी श्रीमतीलाई समेत जानकारी दिन भुलेछु । 

म छिटो हस्पिटल पुग्न चाहन्थेँ । दिपेशसँग बोल्न चाहन्थेँ ।  त्यो टेलिफोन संवादसँगै आएको खबर झुट भएको प्रमाणित गर्न चाहन्थेँ । 

तर सत्यलाई असत्य बनाउने हिम्मत मसँग पो कहाँ थियो र ! मनमा अनेकन् कुराहरु खेल्न थाले । 

अधिकांश मानिस आज रङ्गसँग रमाइरहेका छन् । तर एक परिवार, जो यस अघि पनि अकल्पनीय दु:खको सागरमा डुबेको थियो, उसैमाथि फेरि बज्रपात परेको छ । पुरानो घाउ नपुरिंदै फेरि अर्को नयाँ घाउ बनेको छ, कहिल्यै पुरिन नसक्ने गरी । 

सहनेले पनि कसरी सक्नु, चोट माथिको त्यो चोट । दैव पनि कति निष्ठुरी हुन सकेको ! दुई वर्षको अन्तरालमा एकै परिवारका दुबै सन्तान चुँडी लग्यो । कति धेरै आरिस रहेछ त्यो परिवारको खुसीमाथि ! 

संयोग पनि कस्तो अचम्मको ! दुबै जनाको मृत्यु १४ वर्षकै उमेरमा । व्यथा पनि एकै किसिमको अनि मरण पनि उति नै समयको अन्तरालमा ।

सामान्य हिसाबले पेट दुख्छ । विस्तारै स्वास फेर्न गाह्रो हुँदै जान्छ । छटपटिन थाल्छन् अनि अचेत हुन्छन् । हतारहतार हस्पिटल पुर्याइन्छ । तर चिकित्सकबाट हस्पिटल ल्याउन ढिला भइसकेको जानकारी आउँछ । पेट दुख्न थालेको ३/४ घण्टामै प्राण जान्छ ।  रोग पनि पत्ता लाग्दैन । के गरेको भए बचाउन सकिन्थ्यो भन्ने पनि थाहा लाग्दैन । 

आफ्ना दुबै सन्तानलाई दुई वर्षभित्र गुमाउनुको पीडा कसले अनुमान गर्न सक्छ र ?  सम्झँदा पनि आङ जिरिङ्ग हुन्छ, भक्कानो फुट्छ अनि मुटुको चाल रोकिन खोज्छ ।

कठै ती अबोध लाला बाला ! स्कूले विद्यार्थी, लाउँलाउँ र खाउँखाउँको बेला । अध्ययनमा अब्बल थिए । क्षमता र प्रतिभाले भरिपूर्ण थिए । अनुशासित थिए । सरल अनि शालिन थिए । के थियो र तिनीहरुको दोष ? कसको के बिगारेका थिए र यति छिट्टै लग्यौ तिमीले भगवान्  ? यही प्रश्न थियो ईश्वरलाई सबैजनाको ।

उनीहरुप्रति बाबुआमाले निकै ठुलो सपना सजाएका थिए । अनि त्यही सपना साकार पार्न अहोरात्र मेहनत गर्दै थिए । सुन्दर भविष्यको कल्पनामा रमाउँदै थिए । तर आज ती सबै सपना चितामा जल्दै थिए । सबै यादहरु हरक्षण घोच्ने काँडा बनेर मुटुमा बिज्दै थिए ।

परिवारमा बाँकी भए केवल दुई दम्पति । तिनै अभागी बाबु र काख रित्तिएकी आमा ! साथमा केवल तिनका दर्दनाक पीडा  र हृदयविदारक यादहरु ।

साह्रै सज्जन थिइन्, ती शिक्षिका । सरलता र शालीनता सायद तिनकै पेवा हुन् जस्तो लाग्थ्यो । किनकी त्यो उनलाई जति अरु कसैलाई सुहाउँदैनथ्यो । दशकौँदेखि सँगै अध्यापन गर्ने शिक्षिकाहरु मभन्दा दृढ थिए उनको यस विशेषतामा ।

एकातर्फ मेरो मनमा भएको भगवानको आस्था र विश्वास, अर्कोतर्फ आजको यस घटना ! भगवान छन् कि छैनन् ? यसैका कारण म मा द्वुविधा उत्पन्न भयो । मनमा अनेकन् प्रश्नहरु आउन थाले । 

म सानो हुँदादेखि नै बुबाले बारम्बार पाप र धर्मको भिन्नता खुट्याई रहनुहुन्थ्यो । धर्म कर्ममा लाग्न प्रेरित गर्नुहुन्थ्यो । असल बन्न र भलाइका काम गर्न उपदेश दिनुहुन्थ्यो । भलो गरे फल पनि राम्रो हुन्छ भन्नुहुन्थ्यो । बुबाका ती उपदेशजन्य वाणीहरु कानमा गुञ्जिन लागे । केवल मलाई गिज्याउँन लागे । यति नै बेला एक हिन्दी गीतको स्मरण भयो, “तूने जो किया होगा, भला कर भला होगा,  बुरा कर बुरा होगा ।”

स्कुले जीवनमा पढेको हिरण्यकश्यपु र प्रल्हादको बारेमा लेखिएको पौराणिक कथा सम्झन पुगेँ । हामीले मान्दै आएका सबै भगवानका तस्विरहरु मेरा आँखा अगाडि देखापर्न थाले । ती सबैलाई एकैठाउँमा भेला पारी एक-एक गर्दै सोध्न मन लाग्यो । 

म कठोर हुँदै गएँ । तिनीहरुमाथि घृणा लाग्न थाल्यो । तस्विर र कहानीमा सुनेका भगवानको अस्तित्व माथि शंका लाग्न थाल्यो । ती कहानीहरुको सत्यता केलाउन मन लाग्यो । अझै भनौँ, भगवानको अस्तित्व खोज्न मन लाग्यो हिरण्यकश्यपुले झैँ  ।

बुबाको क्रन्दन र आवेगले हस्पिटलको आकस्मिक कक्ष नै स्तब्ध भएको थियो ।  आमा छाती पिटी पिटी रुँदै थिइन् । चित्कार र रोदन मिसिएको आवाजमा भगवानलाई आफ्नो कुनचाहिँ गल्तीको सजाय हो, यो ? भनी सोध्ने उनलाई सम्झाउने बुझाउने हिम्मत कसैको भएन । 

दु:खमा साथ दिन अस्पतालमा जम्मा भएका हामी सबै निःशब्द थियौं । उनको जस्तै सबैको प्रश्न थियो भगवानलाई । निकै बेरसम्म सम्हालिन नसकेको त्यो दम्पतिलाई सम्हाल्नुको विकल्प थिएन । निकै बेरको प्रयासपछि आफन्त र सहकर्मी शिक्षिकाहरूले सम्हालिन कोशिस गरे । 

जसोतसो शवलाई पशुपति आर्यघाटमा लगियो । हिन्दु संस्कार अनुसार काजकिरिया त गर्नु नै थियो । शवको सदगद गर्नु अनिवार्य थियो । तर कसरी सक्थे र आफ्नो मुटुको टुक्रालाई जलाई खरानी बनाउन ? आफ्नै हातले हुर्काएका प्राणभन्दा प्यारालाई आफ्नै हातले जलाउन कसले पो सक्थ्यो र ! तर ती विवश थिए ।

घरी घरी लडिबुडी गर्दै छोराको मृत शरीरलाई अँगालो मार्दै बरबराएको दृश्य निकै कारुणिक थियो । छाती पिट्दै आफ्नो प्राण पनि यहीँ लिन गरेको अनुरोध र छोरासँग चितामा सँगै जल्ने ती दम्पतीको चाहनाले सबैलाई निःशब्द गरायो । 

अन्तिम संस्कारमा जाने सबै भक्कानिएका थिए । आँखाको डिलबाट आँसु झार्दै थिए । सपना जस्तो त्यो वास्तविकतामा एकोहोरो भई निकैबेर टोलाएछु म पनि ।

यस अघि धेरैजनाको अन्तिम संस्कारमा सहभागी भइसकेको थिएँ । नाता, सम्बन्ध, उमेर, रोग या मृत्युका कारण जे भए पनि हर कोहीलाई मानव मरणको पीडा एकै किसिमको हुन्छ भन्ने सोच्दथें । तर होइन रहेछ । परिस्थिति अनुसार वियोगको पिडा फरक-फरक हुने रहेछ । यो अतुलनीय थियो । त्यसैले अरु वियोगसँग यसले मेल खाँदैनथ्यो । 

आजसम्म पनि मेरो मानसपटलमा यो दु:खद घटनाको याद ताजै छ । मेरो स्मरणमा घरी घरी आइरहन्छ । त्यसयताका हरेक होलीमा मानिसहरु रङ्गहरुमा डुब्दा म टोलाउने गर्छु । किनकि मलाई रङ्गसँगै त्यस दिनको याद आउँछ । एउटा शवसँग दुई मुटु खरानी भएको पलको स्मरण हुन्छ । हो, त्यस दिनदेखि ईश्वर पनि निःसन्तान भए झैँ  लाग्छ । भगवान स्वयम् मरे झैं लाग्छ ।

 

२०७५, फागुन

सामाखुशी, काठमाण्डौं ।

नोट: २०७७ जेठ ३ मा साहित्यपोष्टमा प्रकाशित (https://sahityapost.com/aakhyan/story-aakhyan/4946/) ।

Views: 220

यो रचना तपाईलाई कस्तो महसुस भयो ?

4

खुसी

0

दुःखी

1

अचम्मित

1

उत्साहित

0

आक्रोशित

यो पनि पढ्नुहोस्