info@jayrimal.com

98********

नियतीको नियती

नियतीको नियती

 

हाम्रो समाजमा मानवीय संवेदना विरुद्ध थुप्रै घटनाहरु भइरहेका छन् । यसलाई अपराधको परिभाषाले समेट्न सकेको छैन । केवल नैतिक प्रश्न मात्र उठ्ने हुनाले यसको नियन्त्रण गर्न कठिन छ । व्यक्तिको आत्मसम्मानमा चोट पुर्याउने यस्ता धैरै घटना मध्येको एउटा घटना हो– घरधनीले डेरावालसँग गर्ने अमानवीय व्यवहार ।

साहित्यकार अमर न्यौपानेले लेख्नुभएको उपन्यास ‘करोडौं कस्तूरी’को ‘फेरिएका आँखा र फेरिएको मन’ शीर्षकमा समाविष्ट केही साहित्यिक वाक्यांशहरु यस प्रतिनिधि घटनाका पात्रसँग मिल्दोजुल्दो भएकाले लेखकसँग अनुमति माग्दै प्रस्तुत गरेको छु ।

‘भित्र कोठामा हुनेहरुले झ्यालमा आएर हेरे, पिँढीमा हुनेहरुले आँगनमा आएर हेरे, आँगनमा हुनेहरुले बाटोसम्म आएर हेरे । कसैकसैले त आँखामाथि दाहिने हत्केलाको पाली बनाएर हेरे, बाटो हिँड्नेले टक्क उभिएर फर्कीफर्की आँखालाई दुर्विनजस्तो बनाएर हेरे । चिनेकाहरुले पनि नचिनेझैं हेरे । नचिनेकाहरुले पनि चिनेझैँ हेरे । आफन्तहरुले पनि पराइलाई झैं हेरे । एउटा मान्छेलाई मान्छेहरुले नै अमान्छेलाई झैं हेरे तर पशुहरुले भने मलाई मान्छेलाई झैँ हेरे ।”

हो, वास्तवमा काठमाडौँको खाल्डोमा कोठा भाडामा लिई बस्ने डेरावालहरुको यस्तै हविगत बनेको छ । नियती (नाम परिवर्तन) एक विवाहित महिला हुन् । परिवारकी कान्छी छोरी नियती सानै छँदा उनको बुबाको मृत्यु भयो । दाजुले अभिभावकत्व निभाउन नसक्दा आफ्नै परिवारमा समेत बोझ बनेकी उनमा उच्च शिक्षा हासिल गर्ने धोको थियो । संयोगबश श्रीमतीलाई पढाउने चाहना भएका एक पुरुषसँग उनको विवाह भयो । 

हाल उनको परिवारमा पाँच सदस्य रहेका छन् । सासू, ससुरा, श्रीमान, १८ महिनाकी एक छोरी अनि उनी । उनले अध्ययन गर्न चाहेको विषयको अध्ययन शुल्क महँगो थियो । श्रीमतीको पढाइ पूरा गर्न आवश्यक पर्ने शुल्कको जोहो गर्न श्रीमान् विदेशीएका छन् । १८ महिनाकी नाबालक छोरीलाई बाबुआमाबाट टाढा राखेर डेरामा बस्न थालेकी छिन् । सासु, ससुरा दुधे नातिनीलाई च्यापेर विकट गाउँमा बस्दै आएका छिन् । आफ्नो स्याहारसुसार र लालनपालन आमाबुबाबाटै पाउनुपर्ने अधिकारबाट वञ्चित ती बालिका आमाको पढाइलाई बाधा नपुर्याउन विवश छिन् ।

घरबेटीसँग अलि टाढाकै भए पनि उनको नाता सम्बन्ध थियो । नाताले अर्थसँग सम्बन्ध नगाँसेपछि खर्च धान्न गाह्रो हुँदै गयो । सस्तो भाडा भएको अर्को कोठा खोज्न बाध्य भइन् । एक्ली नारी, त्यो पनि विद्यार्थी भएकाले धेरैजसो घरधनीहरुले उनलाई डेरामा राख्न पत्याएनन् । करिब दुई महिनाको प्रयासपछि अहिलेको डेरा नजिकैको घरमा एउटा कोठा पाइन् । घरधनीलाई आफू अन्यत्रै डेरा सर्न लागेको जानकारी पनि दिइन् । नियतीको अवस्थाको बारेमा जानकार उनले असहमति जनाएनन् ।

आवधिक हिसाबले कलेजको शुल्क तिर्नुपर्ने थियो । निश्चित मासिक आम्दानीबाट चल्नुपर्ने भएकाले मासिक घरभाडालाई पनि आवधिकरुपमा तिर्ने गरेकी थिइनन् । श्रीमान र घरबेटीको सल्लाह बमोजिम कहिले तिन चार महिनाको भाडा अगाडि दिने त कहिले पछाडि दिने गरेकी थिइन् । यसमा घरबेटीको गुनासो समेत थिएन ।

यसपटक घरभाडा पछाडि तिर्ने पालो परेको थियो । पछिल्लो डेड महिनाको घरभाडा रु. ९,००० बांकि थियो । सामान सार्ने दिन बिहानै उनले घरबेटीलाई तिन चार दिनमा ज्वाइँले पैसा पठाएपछि बाँकी भाडा दिने अनुरोध गरिन् । उनले सहमति पनि दिए । 

साँझपख नियतीले भरिया बोलाइन् र सामान सार्न थालिन् । सांझको ८ बजेको थियो । काठको दराज लैजान बाँकी थियो । अकस्मात् घरबेटी आएर घरभाडा दिएपछि मात्र बाँकी सामान लैजान सुझाए ।

उनी छाँगाबाट खसेझैँ भइन् । उनले तिन चार दिन भित्रमा दिने वाचा गरिन् र बिहानै मात्र जानकारी गराएको कुराको याद गराइन् । तर उनले सबैले सुन्ने गरी घरभाडा नतिरी अन्त डेरा सर्न लाज लाग्दैन भनेर हप्काए ।

आफ्नो समस्या सबैलाई नसुनाउन अनुरोध गर्दै उनले ३ दिनको भाकामा चेक काटेर दिइन् । तर उनले मानेनन् । त्यसपछि विवाहमा श्रीमानले बनाइदिएको सुनको सिक्री झिकेर दिइन् र तीन दिनभित्र भाडा दिएपछि सिक्री फिर्ता लिने वाचा गरिन् । घरबेटीले त्यो पनि मानेनन् । 

उनको अनुरोध अर्थहीन र कमजोर बन्दै गयो भने घरबेटीको अडान अझै दरिलो । अब उनलाई यो हर्कत असह्य हुन लाग्यो । पीडा खप्न सकिनन् र रुन थालिन् । यो रडाको मच्चिँदा रातको साँढे नौ बजेको थियो । पकेट खर्चको रुपमा राखेको तिन हजार रुपैंया मात्र थियो उनीसँग । 

सामान सार्न बोलाएका ज्यामीलाई  ज्याला दिनुपर्ने थियो । आफन्तसँग सापटी लिई भाडा तिर्ने बाहेक अरु बिकल्प थिएन उनीसँग तर यति राती पैसा माग्न कहाँ जानु ! 

तर पनि थप बेइज्जती बेहुर्नुको साटो जानै पर्ने भयो । रातिको समय अनि एक्ली महिला । रुँदै घरबाट निस्किइन् । उनलाई रोक्ने कोही भएन ।

सामान सार्न आएका दुई जना अपरिचित ज्यामीले यो सब दृश्य हेरिरहेका थिए ।  तीमध्ये एकले उनलाई रोके । ज्यालादारी गरी जम्मा गरेको रकम उसको साथमा रहेछ । रु. ९००० झिकेर दिंदै लिन अनुरोध गरे र यति राती एक्लै बाहिर नजान अनुरोध गरे । श्रीमानले पैसा पठाएपछि मलाई टेलिफोन गर्नुस् म लिन आउँछु भनी मोबाइल नम्बर दिए । 

यो दृश्यले असमञ्जसमा परेकी उनले काठमाडौंका घरबेटी र निमेकको भरमा ज्यान पाल्ने ज्यामीलाई तुलना गरिन् । आफ्नो पीडामा ज्यामीलाई दुःख नदिने निर्णय गरिन् । र २०, २५ मिनेटभित्रमा फर्किने जानकारी गराउँदै ज्यामीलाई पर्खिन अनुरोध गरी आफ्नो गति बढाइन् ।

उनको डेराबाट केही टाढा उनकै गाउँकी एकजना दिदी बस्थिन् । छोटकरीमा आफ्नो समस्याको जानकारी गराई रु. १०,००० सापटी लिएर फर्किइन् । यतिबेला रातिको बजेको थियो । घरबेटी पर्खेरै बसिरहेका थिए । उनले पैसा दिइन् अनि आफ्नो सामान लिएर नयाँ डेरामा पुगिन् । उनी धेरै थाकेकी थिइन् । सामान बोक्ने ज्यामीलाई ज्याला दिएर लामो स्वास फेर्दै भुइँको कार्पेटमा पल्टिइन् ।

आफ्नो हैसियत दर्शाउने यस घटनाले उनको भोक, प्यास सबै मेटाएको थियो । खाना बनाउने र खाने होस् समेत भएन । भोकै सुतिन् । तर निद्रा परेन । 

पैसाको आवश्यकता र महत्व बारे सोच्न थालिन् । मनमा विचारहरुको तुफान आयो । यस तुफानलाई थाम्ने उपाय एउटा मात्र थियो उनीसँग । मोबाइल फोन चलाउन थालिन् । श्रीमानलाई टेलिफोन गरेर सबै वृत्तान्त सुनाउन चाहिन् । तर उनीसँग पर्याप्त ब्यालेन्स थिएन । 

पहिलेको डेराबाट नजिकै सरेकी हुँदा त्यस राउटरको “रेन्ज” भित्र पर्ने झिने अपेक्षाका साथ वाईफाई अन गरिन् । “पुअर सिग्नल” देखियो । सारा वेदना श्रीमानलाई सुनाइन् र भोलीको दिनको पखाइमा सुतिन् ।

नियतीको यस घटनाले मलाई केही लेख्न उत्प्रेरित गर्यो । पैसा र मानव जीवनको सम्बन्धको बिभिन्न पाटो केलाउन मन लाग्यो । केही सोच्ने, खोज्ने अनि पढ्ने र अरुलाई समेत सुनाउने रहरसमेत जाग्यो । 

आजकाल चलेको सबैभन्दा सहज तरिका अपनाएं । इन्टरनेटमा पैसाको महत्व बारे लेखिएका रचनाहरु खोज्न थालें । अरुलाई सिकाउने तर आफूले व्यवहारमा नउतार्ने ढोँगी दुनियाँमा धेरैले धेरै कुराहरु राखेको पाएँ । धेरैवटा लेखहरु पढें । ती मध्ये एउटा अलिक सान्दर्भिक लाग्यो र साभार गर्न उपयुक्त ठानेँ ।

म पैसा हुँ, म बोल्दिनँ तर सबैको बोली बन्द गर्न सक्छु ।

म पैसा हुँ, कैयौं मानिसहरुसँग म प्रशस्त थिएँ तर पनि उनीहरु मरे र रुनेहरु कोही पनि भएनन् ।

म पैसा हुँ, म भगवान होइन तर मानिसहरुले मलाई भगवानभन्दा कम सम्झिदैनन् ।

म पैसा हुँ, म फसादको जड हुँ तर पनि थाहा छैन मानिसहरु पागल भएर किन मेरो पछि लाग्छन् ।

म पैसा हुँ, म केही पनि होइन तर तपाईंलाई अरुले कति इज्जत दिन्छन् त्यो म नै निर्धारण गर्छु ।

म पैसा हुँ, म नुनजस्तो छु, जुन आवश्यक त हुन्छ तर आवश्यकता भन्दा धेरै भयो भने जिन्दगीको स्वाद बिगारिदिन्छु ।

म पैसा हुँ, मलाई त्यहाँसम्म मात्र पछ्याउ जहाँबाट फर्किदा तिमीले फेरि आफन्तलाई भेट्छौ ।

म पैसा हुँ, म तिम्रो साथमा छु भने तिम्रो हुँ तिम्रो साथमा छैन भने तिम्रो होइन ।

तर म तिम्रो साथमा भएँ भने सबैजना तिम्रा हुनेछन् ।

वास्तवमा धन सम्पत्ति, भोग, विलास, ऐस आराम क्षणिक हो । धेरै धन सम्पत्ति हुने सबैसँग त्यतिकै इज्जत र मान सम्मान हुन्छ नै भन्न सकिन्न । जीवनभर अथाह सम्पत्ति कमाउन उद्दत हुनेहरु पनि मरणसँगै खाली हात जान्छन् । वास्तवमा सबै चीज बाँचुन्जेल मात्रै हो । यसको मतलव धन सम्पत्ति केही पनि होइन र आवश्यक पनि छैन भन्न खोजेको भने पक्कै होइन । हरेक मानवमा यसको चाहना र आवश्यकता त हुन्छ नै तर कसरी कमाउने र पैसाको लागि कुन तहसम्म जाने भन्ने त हुन्छ नि ।

फोकटमा केहि पनि पाइंदैन । यो तथ्य सबैलाई थाहा छ । सेवा तथा वस्तुको उपभोगको यथोचित मूल्य त सचेत मानिस सबैले तिर्छ नै । तर कसैको आत्मसम्मानमा चोट पुर्याएर तत्कालै धन प्राप्ति गर्न खोज्नु कदापि ठीक हुँदैन । यसरी गरेको प्राप्तिले केवल अशान्ति मिल्छ । 

त्यसैले अरुलाई आदर्श सिकाउन खोज्ने तर आफूले नै व्यवहारमा लागू गर्न नचाहने मानिसहरुको झुण्डमा आफूलाई फरक बनाउने प्रयास गरौं । सुखमा त सबै हुन्छन् नै दुःखमा समेत सहयोगी बन्ने कोसिस गरौँ ।

 

भदौ, २०७३ 

सामाखुशी, काठमाण्डौं ।

२०७३ को फागुन-चैत्र अङ्कमा प्रहरी द्वैमासिक तथा २०७३ मा रातोपाटीमा समेत प्रकाशित ।

Views: 197

यो रचना तपाईलाई कस्तो महसुस भयो ?

3

खुसी

0

दुःखी

0

अचम्मित

0

उत्साहित

0

आक्रोशित

यो पनि पढ्नुहोस्