info@jayrimal.com

98********

पुरानो थर्मस र मेरा बा

पुरानो थर्मस र मेरा बा

 

माघको चिसो बिहानी । सनोज सदा झैं ५:०० बजे बिउँझियो । अघिल्लो दिन सुत्न ढिला भएकोले उसका आँखा बिजाइरहेका थिए । तर उसले आँखालाई थप आराम दिन चाहेन । आँखा मिच्दै किचेनमा पुग्यो । ठिङ्ग उभिएर आँखा यताउति घुमायो । स्ल्यावमा रहेको थर्मसमा उसका आंखा अडिए ।   

उही दुई लिटरको पुरानो थर्मस, जो करिब एक दशकदेखि त्यही ठाउँमा छ । उसको परिवारलाई साथ दिइरहेको छ । सबैको स्वास्थ्यमा मद्दत पुर्याइरहेको छ । 

हरेक बिहान उठ्ने बित्तिकै उसको पहिलो भेट थर्मससँगै हुन्छ । दिनैभरी जसो यसैसँग आमने-सामने हुन्छ । हरेक रात सुत्नु अगाडी उसको अन्तिम भेट पनि यसैसँग हुन्छ । अरु सदस्यसँगको सम्पर्क पनि अक्सर उसैले जुटाइदिन्छ । त्यसो त थर्मसको देखभाल गर्ने पनि उ नै हुन्छ । सफा गर्ने, पानी भर्ने, तताउने अनि “सर्भ” गर्ने उसैको दैनिकीमा जोडिएको छ । त्यसैले एकहाते गाई झैं भएको छ थर्मस उसका लागि ।

बा’को छहारी जस्तै न्यानो लागेको छ उसलाई थर्मसको पानी । प्रतिकुल परिस्थितिमा बा’ले सन्तानको संरक्षण गरे झैं चिसोबाट बचाएको छ थर्मसले । त्यसैले पनि यससँगको हरेक भेट उत्तिकै न्यानो भएको छ सबैलाई । 

पारिवारिक सम्बन्धको आवरण धुजा-धुजा हुँदा समेत उसका बा’ले सन्तानप्रतिको अभिभावकत्व  कुशल तरिकाले निभाएका थिए । उनको त्यो जिम्मेवारी वहन निकै गर्विलो थियो । करिब ८० वर्ष पुगेका उनी आफ्नो कर्तव्यमा अझै उत्तिकै इमान्दार छन् । तर उमेरअनुसार हुने शारीरिक परिवर्तनबाट भने उनी अछुतो रहन सकेका छैनन् । 

उनका कपाल सेतै फुलेका छन् । करिब आधा दर्जन दाँत खसेका छन् । दुवै खुट्टाका कुर्कुच्चा चरचर फुटेका छन् । छाला चाउरी परेका छन् । आँखाको तल्लो भाग झोल्लिएको छ । कानको लोती तन्किएर झुण्डिएको छ । सेतै फुलेका दाह्री र जुँगाले अनुहारमा बुढ्यौली थपेका छन् । तर पनि उनको भने रवाफ उस्तै छ । 

थर्मस पनि बा जस्तै पुरानो छ । बाहिरी बिर्को खुकुलो भएको छ । समात्ने ह्याण्डल हल्लिएको छ । सक्कली रङ्ग मेटिएको छ । पटक-पटक सफा गर्दा पनि नगएको फोहोरको दागले बाहिरी आवरणमा कालो घेरा बसेका छन् । तर बाहिरी स्वरुपमा आकर्षण नभएपनि “पर्फर्मेन्समा” मा भने कुनै कमि आएको छैन ।

यी दुई बिचमा अर्को पनि समानता छ । बा’ बाहिरीरुपमा कमजोर देखिएपनि अनुशासन र संस्कारमा कठोर छन् । कर्तव्य र जिम्मेवारीमा इमान्दार छन् । नैतिकता अनुपम उदाहरण उनी चरित्रका धनी छन् । ठिक त्यसैगरी, थर्मस पुरानो भएर पनि आफ्नो कर्तव्य निभाइरहेको छ । लामो समयसम्म तातो पानी चिसिन दिएको छैन । यसको उपयोगितामा कत्ति पनि ह्रास आएको छैन । 

 बा’ र थर्मसको समानता केलाउने क्रममा निकै बेर टोलाएको उसले थर्मसको तातो पानी गिलासमा खन्याउँदै घुट्घुट पिंउदै थियो । अक्सर यो समयमा किचेनमा एक्लै हुने उसलाई पछाडी कोही आए झैं लाग्यो । पानी पिउन रोकी पछाडी फर्केर हेर्यो । एक बिशाल बृक्ष झैं उसका बा’ ठिङ्ग उभिएको देख्यो ।

उसले बा’लाई पहिचान गरेसँगै आफ्नो धैर्यता सकिएको संकेत गर्दै बा’ले सोधे, “मुख धोइस् ?”

“बिर्सिस् होला, नि ! तेरो बच्चा देखि कै बानी हो नि मुख नधोई खाने । ब्राह्मणको छोरो भएर अलिकति पनि शरम लाग्दैन है ?” उत्तरको अपेक्षा समेत नगरी बा’ ले पुन: थपे ।

सनोज एकछिनसम्म अक्क न बक्क भयो । लाज र डर मिश्रित भावमा सुस्तरी केहि बोल्न खोज्यो तर आवाज निस्किएन । राता रात आँखा पारेर एकछिनसम्म एकटकले हेर्दै बा’ पुजा कोठामा गए । सनोज भने टोलाउन थाल्यो । उसलाई करिब २३ वर्ष अगाडीको घटना याद आयो । 

सानैमा छोराको चुडो-उपनयन गर्दा कर्मको फल पाउने विश्वास बा’मा थियो । परिणाम स्वरुप ७ वर्षमै उसको ब्रतबन्ध भयो । करिब एक हप्ता बितेको थियो । आमालाई खाना पस्किन अनुरोध गर्दै भान्छामा बस्यो । पहिलो गाँस खाँदै गर्दा बुबा आए । उसलाई नजिकबाट नियाल्दै भने, “आज पनि यो गधाले मुख नधोई खायो हैन ? बिहान उठेर पाठ-पुजा जप-ध्यान गर्नु त कता हो कता, मुख पनि नधोई भात खान थालेछ ।” 

रिसले भरिएको आँखाले अस्वभाविक ढङ्गले हेर्दै दाहिने खुट्टाले देब्रे कुममा पुक्क हाने । खुट्टे पिर्कामा बसेको उ भुईंमा पुङलुङ्ग लड्यो । सुंक-सुंक गर्दै आमालाई हेर्यो । आमाको संकेत अनुसार खाना त्यहीं छाड्यो । र सर्टको बाहुलाले मुख पुछ्दै जुठो हातले किताबको ठेली च्याप्दै स्कुल दौडियो । बाटोमा पर्ने साउने खोल्साको धारोमा हात मुख चुठेर स्कुल पुग्यो ।

बालापनमै शुरु भएको नयाँ दैनिकीमा उ अभ्यस्त भइसकेको थिएन । तर त्यस घटनाले उसलाई ठुलो सबक सिकायो । बा’को चाहना अनुसार आफूलाई परिवर्तन गर्दै लग्यो । शुरु-शुरुमा बा’को डरले गरेका कार्य समेत उसका आदत बन्न थाले । उसको दैनिकी बा’कै जस्तो हुन लाग्यो ।  

आयुर्वेद विज्ञान, कर्मकाण्ड र ज्योतिषी विद्यामा चाख राख्ने उनले सनोजलाई धार्मिक व्यक्ति बनाउन चाहेका थिए । त्यसैले छोराप्रतिको उनको चासो कहिल्यै कमी भएन । सनातन धर्म र संस्कृतिको जगेर्ना गर्ने व्यक्ति मात्र संस्कारी हुन्छ भन्ने विश्वास राख्ने उनले चाहे धर्म रिती रिवाज र संस्कारको नाममा होस् या अनुशासन र चरित्रसँग सम्बन्धित विषयमा होस्, खबरदारी गरी कमजोरी सच्याउन कहिल्यै छाडेनन् ।

 बा’को निरन्तर निगरानीले सनोजको जीवनमा मनग्यै परिवर्तन आएको थियो । यसमा उनी सन्तुष्ठ पनि थिए । तर वितेका २३ वर्षमा आफ्नो दैनिकीमा कहिल्यै नचुकेको सनोज आजै चुक्यो जुन बा’को अगाडी छुप्न समेत सकेन ।  यस घटनाले सनोजप्रति बा’को शंका झनै बढायो । फलस्वरुप उसले बिहानै खप्की खायो । ३० वर्ष भइसकेको छोरा समेत दाउन नपुगेको बाच्छो ठहरियो ।

यस घटनाले उसलाई निकै लज्जाबोध भयो । फेरिएको आफु र नफेरिएको बा’का बारेमा निकै सोच्यो । मनमनै बा’का दैनिकीमा आफूलाई लग्यो । बा’का हरेक गतिविधिबारे सोच्न थाल्यो । 

एक सुपरीवेक्षकले झैं बा’का दैनिकीको मुल्याङ्कन गर्न शुरु गर्यो । उनको इमान्दारिता, मिहिनेती स्वभाव र लगनशीलताबाट प्रभावित हुन थाल्यो । धैर्यता र सजगताबाट उत्साहित भयो । आफ्नो वचनमा रहेको चट्टानी अडान, साहस र निडरतामा गर्व गर्न थाल्यो । नतिजाको पर्वाह नगरी काममा दत्तचित्त भएर लाग्ने र तर्क सहित आफ्नो कर्मको बचाउ गर्ने क्षमतालाई उनको गहना मान्यो । बा’का हरेक गतिविधिमा र आनीबानीबाट प्रभावित हुँदै उनका बिशेषताहरुको अंकभार तोक्न चाह्यो । अनि सबैभन्दा धेरै अंक चांहि खप्कीभित्र लुकेको मायालाई दियो । 

यतिबेर टोलाएको उसले झटपट आँखा खोल्यो । उसका आँखा पुन: त्यही थर्मसमा अडिए । स्नेहले भरिएको आँखाले थर्मसलाई हेर्यो । हतार-हतार बेसिनमा गई हात मुख धोएर बा’सँगै पुजा कोठामा गएर जप गर्न थाल्यो । 

आफ्नो अगाडी शिर निहुराउँदै आएको छोरालाई देखी बा’को मन पग्लियो । उसले मात्रै सुन्ने गरी बा’ले साउती गरे, “अब त तँ पनि जवान भइस् । नातिलाई तैंले सिकाउने बेलामा मैले तलाईं सम्झाउनु पर्ने होइन बाबु । म बुढो पनि भएँ, कति तेरो गोठालो लाग्नु ! अबदेखि कहिल्यै पनि नबिर्सनु । पितृले सराप्ने र समाजले धिक्कार्ने काम नगरेस् !” 

सन्तानप्रतिको माया समेत कडा लवजमै पस्किने बा’ले आज नरम मिजासमा सम्झाएकोमा हर्षित भयो । सायद यो उसको पहिलेदेखिकै अपेक्षा थियो । उसलाई बुबाको औधी माया लाग्यो । थप सम्मान पनि । 

बा, म हजुरलाई तातो पानी ल्याइदिन्छु भन्दै कोचेनमा गयो र थर्मसको पानी गिलासमा खन्याउन लाग्यो । त्यति नै बेला, उसलाई खोज्दै छोरा किचेनमा पुग्यो । “मलाई पनि पानी” भन्दै उसको हातबाट गिलास तान्न थाल्यो ।  छोरालाई पन्छाउँदै उसले बा’लाई पानी दियो । छोरा रिसाएर रुँदै थर्मस खसालिदियो । कर्कश ध्वनिका साथ थर्मस भुईंमा बजारियो । एक दशकदेखि जतनले स्याहारेको थर्मस निमेशभरमै बेकाम भयो ।  

केवल एक निर्जिव वस्तु फुटेको थियो, तर सनोजलाई आफ्नो विश्वास फुटे झैं लाग्यो । यसलाई उसले बा’ले भने झैं अनिष्टको संकेत ठान्यो । उसको मनमा तर्कना खेल्न लागे, कतै थर्मस खसे झैं बा’ पनि...! अहँ, उसले यो भन्दा धेरै सोच्न चाहेन । आफ्नै गालामा एक थप्पड हान्यो र बा’लाई अङ्गाल्यो । 

“लाछी, के चिन्ता लिएको जाबो थर्मस फुट्दा ! आखिर अजम्मरी के नै छ र यो दुनियाँमा ! सृजना सँगै अन्त्य अवश्यम्भावी छ । चाहे सजिव होस् वा निर्जिव, सबैको निश्चित आयु हुन्छ । केवल एक निहुँ चाहिन्छ अस्तित्व मेटिनको लागि । आज नाती निहुँ भयो । सबैको अस्तित्व यसैगरी मेटिने हो । मेरो पनि पालो आउँदैछ । 

उसले यो भन्दा धेरै सुन्न नचाहेको मेसो पाएका बा’ले नातीलाई हेर्दै भने, “यो पनि ४ वर्षको भयो । अब तेरो जिम्मेवारी शुरु भयो, बाबु ! तैंले आफ्नो जिम्मेवारी निभाउन शुरु गर ।”

उ केहि पनि बोलेन । छोरोलाई काखमा च्यापी बा’लाई हेरिरह्यो । मयलको मसिनो घेरा लागेको मयलपोसमा उसका आँखा अडिएको बा’ले चाल पाए । 

“गाउँघरमा बसेर काम गर्नेको कपडा फोहोर भइहाल्छ नि ! कपडा भन्दा त मन पो सफा राख्नुपर्छ त !” आफूलाई बचाउ गर्न जानेका उनले बलियो तर्कसहित छोरालाई सम्झाए । बा’सँग सहमत भएको संकेत स्वरुप उसले टाउको हल्लायो । अनि छोरालाई हजुरबुबासँग पठाई फुटेको थर्मसका टुक्राहरु टिप्न थाल्यो ।

 

टोखा, काठमाण्डौं (२०८०, माघ) ।

२०८० फाल्गुण १ गते साहित्यपोष्टमा प्रकाशित (https://sahityapost.com/aakhyan/story-aakhyan/136387/) ।

Views: 226

यो रचना तपाईलाई कस्तो महसुस भयो ?

7

खुसी

0

दुःखी

0

अचम्मित

0

उत्साहित

1

आक्रोशित