info@jayrimal.com

98********

मेलोडीको कथा

मेलोडीको कथा

 

हरेक बिहान मेलोडीको मोबाइलको घण्टीसँगै बिउँझन्छ, समर्पण । अनि उनको 'गुड नाइट' शब्दसँगै निदाउँछ । यो उसको बाध्यता हो । आमाको साथ र ममता आजकाल उसलाई प्रतिक्षाको परीक्षा झैं भएको छ । पास गर्न सके प्राप्त हुने र नसके गुम्ने ।

उनले छोरालाई नभेटेको निकै भयो । विछोडको पीडा सम्मिलित टेलिफोन संवाद उनको दैनिकीमा थपिएको धेरै भयो । वर्ष दिन बितिसक्यो छोरालाई भेट्ने मिति सरेको सर्यै छ । अझै कति लम्बिने हो, टुंगो छैन ।

छोराबाट टाढा हुन त कहाँ मन थियो र उनलाई ? आखिर केही पाउन, केही त गुमाउनै पर्थ्यो । उनी आफैंले रोजेकी थिइन् । तर यो रोजाई उनको रहर होइन, बाध्यता थियो ।

उनको परिवारमा तीन सदस्य छन् । उनी, ९ वर्षे छोरा समर्पण, अनि वृद्ध आमा सिलोनी । नाताभन्दा पनि धेरै भावनासँग जोडिएका पात्र हुन् यी । समर्पण, उनको जीवन जिउने एक उर्जा हो । अनि सिलोनी, जीवन रथ गुडाउने एक सारथी ।

सायद यिनै दुई पात्रकै कारण उनले आजसम्म आफ्नो रंगमञ्चको पर्दा बन्द गर्न सकेकी छैनन् । अनि हजारौं दर्शकले उनको अभिनयबाट एक भिन्न जीवन कथाको जानकारी पाएका छन् ।

गत मार्च महिनामा हो उनीसँग मेरो भेट भएको । एक परिपक्व नारी, निकै कम बोल्थिन् । साझा भाषामा उनको खासै दख्खल थिएन । तर उनले भन्न खोजेको कुरा शब्द बिना पनि बुझाउन सक्थिन् । उनको अभिव्यक्तिबाट उनलाई जति बुझिन्थ्यो त्यसभन्दा धेरै उनको हाउभाउबाट बुझिन्थ्यो । उनको त्यो कलाबाट म प्रभावित भएको थिएँ । 

भेटघाट पातलो हुन्थ्यो, तर अर्थपूर्ण कुराकानी हुन्थ्यो । मौका मिल्दा आफ्ना जीवनका भोगाई एकअर्कामा पस्किने गर्थ्यौं । कुराकानीमा कहिले सुख त कहिले दुःखका विषयले प्रवेश पाउँथे । हामी एकअर्काको जीवनबारे सामान्य जानकारी राख्ने भैसकेका थियौं ।

१५ अप्रिलको साँझ तज्जुज रेष्टुरेन्टमा सँगै डिनर गर्ने सल्लाह भयो । भेटपश्चात् सामान्य कुराकानी गर्दै थियौँ । उनले पारिवारिक विषयको पोको फुकाउन सुरु गरिन् । उनीप्रतिको मेरो चासो अनि उनका कुरामा चाख दिएर सुन्ने बानीले होला, उनी प्रशस्तै खुलिन् । आफ्ना विगतबारे बताउन थालिन् ।

कुराकानीकै क्रममा अचानक उनी भावुक भइन् । दुबै आँखामा आँशुका थोपा टिल्पिलाए । मोबाइल फोन मलाई दिँदै रेकर्ड गर्न भनिन् । अनि लामो सुस्केरा हाल्दै विरक्तिएको भावमा बोल्न थालिन् ।

'बाबु समर्पण, आज म तिमीलाई सदाभन्दा धेरै याद गरिरहेको छु । सायद तिमीले पनि । आज राती निद्रामा मलाई बोलाउँदै रुंदै थियौ रे । तिमीबाट टाढा हुँदा मलाई पनि निकै पीडा भएको छ बाबु । यो मेरो बाध्यता हो तर तिमीलाई कसरी बुझाउँ?

बाबु, तिम्रा बाबु जीवित हुँदाहुँदै पनि तिमी टुहुरो भएको छौ । तिमी गर्भमा आएपछि हाम्रो खुशी खोज्न गएका उनी अहिलेसम्म आफ्नै खुशीमा अल्झिरहेका छन् । अझैसम्म फर्केका छैनन् । आजसम्म न तिमीले उनलाई देखेका छौ, न उनले तिमीलाई ।

एउटी आमाले सन्तानलाई हुने बाबाको अभाव त कसरी मेटाउन सक्थिन् र, तर असफल प्रयास गरिरहेँ । तिम्रो बाबालाई स्मरणबाट हटाउन पनि सक्दैनथें । तिमीलाई निराश बनाउन पनि चाहन्नथें । त्यसैले हरेक पटकको तिम्रो प्रश्नमा बाबा बिदेशमा हुनुहुन्छ अर्को वर्ष आउनुहुन्छ भन्दै ढांटीरहें ।

तर त्यो अर्को वर्ष तिम्रो लागि कहिले नि आएन । सायद तिम्रो बाबा हामीसँग भैदिएको भए हाम्रो जिन्दगी अर्कै हुन्थ्यो होला । हामीलाई त्यो नलेखेको रहेछ । अब त उनी बिना नै जिउने बानी परिसकेको छ ।

बाबु, हाम्रो बाल्यकाल दुखमा नै बित्यो । ज्यालादारी श्रमिकको परिवारमा जन्मिनु र निमेक गरेरै दुई छाक टार्नु हाम्रो साझा विशेषता थियो । गरिबीले हाम्रो पढाईलाई भने असर पारेको थिएन । हरेक वर्षको अन्तिम नतिजामा प्रथम र द्वितिय स्थान हाम्रै भागमा हुन्थ्यो ।

आमाबुबा सानैमा बितेसँगै उसलाई काकाकाकीले हुर्काए । मान्छे असल थियो । टुहुरो भएकोले पनि होला, मेरो बुबाआमाले उसलाई निकै माया गर्नुहुन्थ्यो । हामी धेरैजसो सँगै पढ्थ्यौं, सँगै खेल्थ्यौं । हाइस्कूल सँगै पास गर्यौं ।

उच्च शिक्षा कसरी लिने भन्ने चिन्ता थियो । पापी दैवले बुबालाई ह्दयघातबाट लग्यो । हामी सहारा बिहीन भयौं । दुःखको समयमा उसले निकै साथ दियो । पहिलेदेखि नै नजिक थियो, अब त झन् हाम्रै परिवारको सदस्य झैं भयो ।

समयक्रममा एक अर्कालाई माया गर्न थालिएछ । साथीबाट प्रेमी प्रेमिकाको सम्बन्धमा जोडियौं । लगत्तै विवाह गरियो ।

उच्च शिक्षाको लागि उ, म र आमा तीनै जना सहर पस्यौं । उसले कन्सल्टेन्सीमा प्राइभेट नोकरी सुरु गर्यो । अनि मैले प्राइभेट स्कुलमा पढाउन । जसोतसो गुजारा चल्दै थियो । आमा सडक दुर्घटनामा पर्नुभयो । एक पछि अर्को पिडा थपिदै गयो ।

हिट एण्ड रन केश थियो । ठक्कर दिने सवारी साधन र चालक पत्ता लाग्न सकेन । आमाको उपचारमा निकै ठुलो खर्च लाग्यो । वर्षदिनसम्म दुःख गरेर कमाएको पैसाले छेउ पनि लागेन । निकै ऋण लाग्यो । तर पनि आमालाई पहिलेजस्तो बनाउन सकिएन । अपांग हुनुभयो ।

त्यति नै बेला कोरियामा कामदारको माग भयो । आकर्षक तलब सुबिधाले उसलाई लोभ्यायो । ऋणमा परेकोले मैले पनि नाईं भन्ने अवस्था रहेन । उ कोरियाको लागि उड्यो । आमा, म अनि गर्भमा रहेको तिमीलाई छोडेर ।

उ गएको तेस्रो महिनादेखि नै हाम्रो जीवनले नयाँ मोड लियो । शुरुको दुई महिनाको पारिश्रमिक पठाएदेखि उ सम्पर्कमा आउन छोडेको थियो । सम्पर्क गर्न धेरै प्रयास गरें । हरेक प्रयास असफल भयो । दिन महिना गर्दै वर्षौं बिते । न घर आयो, न त सम्पर्कमै रह्यो ।

मनमा धेरै कुरा खेल्ने, निद्रा नलाग्ने, मन व्याकुल हुने र हरेक रात आँशुले सिरानी भिज्ने क्रम चलि नै रह्यो । एकातिर उसको पीर, अर्कोतिर ऋणको बोझ । निकै मुश्किल हुँदै गयो जीवन धान्न ।

गह्रौं ज्यान थियो । शारिरीक अस्वस्थता बढ्दै गएको थियो । मेरो आशाको दियो बनेर तिमी जन्मियौ । तिमीलाई हेरेर आफूलाई सम्हाल्ने कोशिस गरें । आफूले पाएका सारा दुख र कष्टलाई पेवा ठान्दै अँगाल्दै गएँ । कहिले पनि हरेश नखाने अठोट गरें । अनि तिमीलाई हुर्काउने र बढाउनेमा ध्यान केन्द्रित गरें । गन्तव्य त अनिश्चित थियो । तर पनि अपाङ्ग आमाको साथमा आशाको दियो धिपधिप बाल्दै जीवन धकेली रहें ।

आँट मात्रै गरेर नहुने रहेछ, बाबु । न्युनतम् आवश्यकताका सामान समेत जोहो गर्न नसक्दा जीवन धान्न गाह्रो हुँदै जान थाल्यो । तिमीलाई हुर्काउनु अनि राम्रो स्कूलमा पढाउनु निकै चुनौतीको विषय बन्दै गयो ।

प्राइभेट स्कुलले दिने न्युनतम तलवले तिम्रो जन्मसँगै बढेको खर्च धान्न मुश्किल हुन थाल्यो । राम्रो नोकरीको आवश्यकता भयो । प्राइभेटमा भन्दा राम्रो तलव सुविधा भएकोले सरकारी नोकरीको लागि प्रयास गरें ।

तिमी एक वर्षको थियौ । प्रहरीमा भर्ना खुलेको जानकारी पाएँ । परीक्षा दिएँ । छनौट पनि भएँ । सरकारी तलबले हातमुख जोड्न र तिमीलाई स्कूल पढाउने त आधार भयो । तर पनि महिना बित्दासम्म तलब जत्ति नै सापटी लिइसकेको हुन्थें । तलव आएपछि पहिलेको सापटी तिर्यो अनि फेरि उही पुरानै रितलाई पछ्यायो । यसैगरी तिमीलाई बढाउँदै अनि पढाउँदै लगें ।

विभिन्न आरोह अवरोहका बीच नोकरी चल्दै थियो । जागिर सातौं वर्ष पुगेपछि एउटा मौका आयो । अफ्रिकाको द्वन्दग्रस्त क्षेत्रमा गई शान्ति स्थापनाका लागि काम गर्ने । यसबापत संयुक्त राष्ट्र संघबाट प्राप्त हुने दैनिक भत्ता आकर्षक हुने भएकोले यता आउने निर्णय गरें । केवल पैसाको लागि आमाको साथमा तिमीलाई छोडेर ।

म त एक्लो छैन बाबु । तिम्रो याद हरपल मसँगै छ । तिम्रो सुन्दर भविष्य र खुशीका लागि सँगालेको 'एमएसए' ले मलाई भुलाएकै छ । यसैलाई सुम्सुम्याएरै तिम्रो स्पर्शको आनन्द लिन खोज्दैछु । अनि यसैलाई काखमा राखी हल्लाउँदै तिम्रो तृष्णा मेटाउने कोशिस गर्दैछु ।

बाबु, आज मेरो आँखामा हाम्रो विगत घुमिरहेको छ । कतिपय सम्झना प्यारा लागेका छन् । तिनलाई अँगालोमा राख्न खोज्छु तर मसँग तर्की तर्की भाग्दैछन् । कतिलाई भने कोसौं टाढा धपाउन खोज्छु, तर झम्टी-झम्टी नजिक आई गिज्याउँदै छन् । अनि खाटो बसेको घाउ कोट्याउँदै आलो रगत निकाल्दै हाँस्दैछन् ।

मैले जीवनमा पाएका चोट र भोगेका पीडा मानसपटलमा घुमिरहेका छन् । तिम्रो स्कूलको फी समयमा तिर्न नसक्दा रिजल्ट रोकिएको, धेरै उधारो भयो भनेर पसलेले सामान दिन छाडेको अनि समयमा डेराभाडा तिर्न नसक्दा घरबेटीले कोठाबाट टिभी लगेका घटना ताजै छन् ।

कतिपय अवस्थामा परिस्थितिसँग जुध्न नसकी संयमता गुमाएको घटना आलै छ ।

उनी बोलिरहेकी थिइन् । मानौं, उनले यी भावनाहरु व्यक्त गर्न वर्षौं पर्खेकी थिइन् । अनि आज नै सही मौका हो जसलाई उनी उम्कन दिने छैनन् ।

म उनलाई रोक्न त चाहन्नथें । तर मोबाइलको ब्याट्री सकिन लागेको संकेत आयो । मैले उनीतर्फ ईशारा गरें । अहँ, उनी रोकिइनन् । हतार गरेर मेरो मोबाइलमा पुन: रेकर्डिङ सुरु गरें । उनी बोल्दै गइन् । अनि म भावहीन प्राणी झैं उनका वेदना मिश्रित सन्देश कैद गर्दै रहें ।

मेरा सबै दुःख गरिबीकै कारण सृजित थिए । गरिबीले नै हाम्रो खुशी लुट्यो । तर आज समय बदलिएको छ, बाबु । सामान्य हिसाबले जीवनयापन गर्न सक्ने भएको छु । तिमीलाई उच्च शिक्षा दिलाउन सक्ने सामर्थ्य पनि छ मसँग । तर के गर्नु, मानिसको आवश्यकता समय र परिस्थिति अनुसार फरक हुँदोरहेछ । जतिबेला जे आवश्यक पर्ने हो, त्यस बेलामा पाइएन भने पछि यसको महत्व नहुने रहेछ ।

दुई वर्षसम्म यहाँ काम गरेर फर्किएपछिको जीवन सुखी हुने मेरो विश्वास थियो । तर अहिले चाहना उल्टिएको छ । कतिबेला घर फर्कुं र तिमीलाई अँगालोमा बाधौं झैं भएको छ ।

जब म त्यहाँको बारेमा सोच्न थाल्छु, मन आत्तिन्छ । उपलब्ध स्वास्थ्यकर्मी र साधनस्रोतको सीमितताले चिन्ता बढाउँछ । दिनहुँ हजारौं संक्रमित भइरहेका छन् । यो अवस्थामा जो कोहीले पनि म सुरक्षित छु र रहिरहन्छु भन्ने अवस्था रहँदैन । मलाई केहि भइहाल्यो भने तिमीलाई भेट्ने मौका समेत पाउँदिन कि भन्ने चिन्ताले जलाइरहेको छ ।

बाबु, यो रेकर्डिङ तिम्रो लागि हो । तर म चाहन्न कि मभन्दा पहिले यो भिडियो तिमीकहाँ पुगोस् । अनि यो पनि चाहन्न कि कतै तिमीप्रतिको मेरो चिन्ता सत्य होस् । 

मलाई विश्वास छ, मैले आजसम्म सँगाली राखेको खुशी लुट्ने हिम्मत कसैले गर्ने छैन ।

मेलोडीले वालेटबाट एउटा सानो तस्विर निकालेर छातीमा टाँसिन् ।  अनि दुवै आँखाबाट बलिन्द्र धारा आँशु बगाउँदै रुन थालिन् ।

म असमञ्जसमा परें । मोबाइल फोन बन्द गरी टेबुलमा राखें । अनि उनलाई सान्त्वना दिदै भनें, 'हरेकको जीवनमा दुःखपछि सुख अवश्य आउँछ । अब तिम्रो खुशी अनि सुखी हुने पालो हो । छिट्टै सबै कुरा ठिक हुँदै जान्छ । चिन्ता नगर कसैलाई केही हुँदैन । तिमी छिट्टै छोरा भेट्न जादैछौ ।

मैले यसो भनिरहँदा कसैले मलाई बोल्न नदिएको आभाष भयो । एक अनौठो आवाजले म झस्किएँ । अचानक आफूलाई बेडमा पाउँदा डराएँ पनि । हतारिएर मोबाइल खोजें अनि त्यही रेकर्डिङ खोजें । तर कुनै रेकर्डेड भिडियो पाइन ।

मेरो आंखाले मेलोडी खोजे, तर उनी देखिइनन् । बल्ल चाल पाएँ । मैले सुनेको मेलोडीको कथा, मेरो सपना रहेछ । अनि बिहानीको अलार्मले मलाई बिउँझाएको रहेछ ।

डार्फर, सुडान (२०७७, चैत्र) ।

२०७७ बैशाख ८ गते सेतोपाटीमा “सपनामा कोरोना: मेलोडीको कथा” शीर्षकमा प्रकाशित (https://www.setopati.com/literature/204334) ।

Views: 369

यो रचना तपाईलाई कस्तो महसुस भयो ?

6

खुसी

0

दुःखी

0

अचम्मित

0

उत्साहित

0

आक्रोशित