info@jayrimal.com

98********

गुलाफ झरेको दिन

गुलाफ झरेको दिन

 

समिरको दैनिकी सामान्यरुपमा चल्दै थियो । जिम्मेवारीको हिसाबले सबै दिन उस्तै नै थिए । उसको “रुटिन लाईफ” मा गत नोभेम्वर १० भने फरक सावित भयो । त्यस दिन टेलिफोनको रिसिभरले उसको कानमा मधुर आवाज गुञ्जायो । आवाज कर्णप्रिय थियो जसले उसलाई तरङ्गित बनायो । 

एउटा अफिसियल काममा सामान्य सहयोगको अपेक्षा गर्दै आएको टेलिफोन कल थियो त्यो । समिर संयुक्त राष्ट्रसंघीय मिसनमा कार्यरत थियो । उसको ड्युटी स्टेशन डार्फरको अल-फासिरमा रहेको मिशन हेडक्वार्टर थियो । 

मधुर आवाजकी धनी रोज थिइन् । उनी मिशनको अर्को हेडक्वार्टर जालिन्जीमा कार्यरत थिइन् । उनीहरुको डिउटी स्टेशन करिब २०० कि.मि. को दुरीमा थियो । उनीहरुको ड्युटी स्टेशन फरक भएपनि जिम्मेवारीमा केहि समानता थियो । रोजले कामको सिललसिलामा समिरसँग समन्वय गरिरहनुपर्ने थियो । कुराकानीका बहाना पनि मिल्दै गए । रोजको आवाजले उसलाई पछ्यारह्यो । संवादको दायरा फराकिंदै गयो । शुरु-शुरुमा कामको सिलसिलामा सामान्य भलाकुसारीबाट शुरु भएको उनीहरुको सम्बन्धमा विस्तारै हाँगा पलाउन थाल्यो । 

यसविचमा दुबैले एक अर्कालाई सामाजिक सञ्जालबाट परिचित गराइसकेका थिए । आवाजबाटै प्रभावित समिरले रोजको तस्वीर देखेपछी झनै मन पराउन थालेको थियो । “ब्रदर एण्ड सिस्टर” बाट शुरु भएको उनीहरुको सम्बन्ध “साथी-साथी” हुँदै “मोर द्‍यान फ्रेण्ड” मा परिणत भयो । रोजको एक्टिभनेस समिरलाई “के खोज्छस् काना ? आँखा !” भने झैं भयो । उनीसँग सम्बन्ध गाँस्न लालायित समिर अब झन् उत्साहित देखिन थाल्यो । समयक्रमसँगै उनीहरुको “कन्भर्सेसन” ले वेजोडको गति लिन थाल्यो ।

समिरले रोजलाई मन पराउन थालिसकेको थियो । उसको मनमा अंकुरण भएको प्रेमभावलाई नयाँ उचाईमा पुर्याउन चाहन्थ्यो । त्यसैले उनलाई नजिक राख्न कुनै मौका चुकाउन चाहेन । 

समिर शब्दसँग धेरै खेल्ने गर्दथ्यो । उपयुक्त समयमा उचित शब्दको प्रयोग गर्न जान्दथ्यो । तस्वीर हेरी-हेरी उनको सौन्दर्यको असीमित वयान गरिदिन्थ्यो । यसबाट रोज निकै प्रभावित थिइन् । यस्तो लाग्थ्यो कि “आफ्नो प्रशंसामा हरेक व्यक्ति रमाउँछ” भन्ने तथ्यलाई समिरले आफू अनुकुल प्रयोग गर्न जानेको थियो । 

एकदिन समिरले संयोगवश रोजकी साथी इमिलीलाई भेट्यो । इमिली अर्कै ड्युटी स्टेशनबाट जालिन्जी आएकी थिइन् । अफिसियल काम लिई आएकी उनलाई समिरले सहजीकरण गरी न्यानो आतिथ्यता दियो । उसको सहयोगी भावना र सत्कारले प्रभावित उनले रोजसामु समिरको प्रशंसा गरिन् । यसले रोजमा समिरप्रतिको सम्मान बढ्न गयो । 

चाहे साना हुन् वा कम मूल्यका, उपहारले महिलालाई दिने खुशी बारे उ जानकार थियो । कुराकानीको क्रममा रोजलाई पत्तो नै नहुने गरी उनको चाहना र छनौट पत्ता लगाउँथ्यो  । अनि त्यसै अनुसारको उपहार किन्थ्यो । उनको अफिसमा जाने मानिस भेटिए पिच्छे फरक-फरक उपहार पठाउने गर्थ्यो । यसबाट रोजलाई खुशीलाई मापन पनि गर्थ्यो । रोज समिरसँग निकै खुशी थिइन् । उनीहरुको सम्बन्ध दुबो झैं झाँगिदै थियो । 

फेब्रुअरी ५ को साँझ एक टेलिफोन कलले समिर असमञ्जसमा पर्यो । ३० मिनेटभित्र “बिगेस्ट स्टार रेस्टुरेन्ट” मा डिनरको लागि उपस्थित हुन रोजले अनुरोध गरेकी थिइन् । रोजलाई भेट्न पाउने हुनाले रोमाञ्चित त भयो नै, सँगै उसमा कौतुहलता थपियो । टेलिफोन र म्यासेजमा मात्रै कुरा गरेको उ रोजलाई प्रत्यक्ष भेट्न जादै थियो । च्याट गर्नु र प्रत्यक्ष भेट्नुमा निकै फरक हुने कुरामा उ जानकार त थियो नै, सचेत पनि थियो । 

मनमा कुरा खेलाउँदै रोजले आमन्त्रण गरेको रेष्टुरेण्टको हलमा प्रवेश गर्यो । हलको सजावट अनपेक्षित लाग्यो । हल निकै सिंगारिएको थियो । 

हलभित्र प्रवेश गरेसँगै उसको अनभिज्ञता हट्यो । वास्तवमा उ रोजको “बर्थडे सेलेवेरेशन” मा जाँदै थियो । रोज उसलाई “सर्प्राइज” दिन चाहन्थिन् । यस मानेमा उनी सफल भइन् ।

समिरको प्रवेशसँगै हलमा छुट्टै आवाज गुञ्जियो । उसको प्रतिक्षामा अरु ६/७ जना साथीहरु बसिरहेका थिए । रोजले उसलाई न्यानो स्वागत गरिन् । यो स्वागत पृथक थियो ।  रोजले उसलाई आफ्नोपनको आभाष दिलाएकी थिइन् । उसले फरक अनुभूति गर्यो । यी सब देख्दा रोजसँगको सम्बन्ध निकै आत्मिय हुने अनुमान समेत लगायो ।  

पश्चिमा संस्कार अनुरुप “बर्थडे सेलेवेरेसन” सम्पन्न भयो । प्रेमिकाको जन्मदिनमा उपहार बिनै उपस्थित भएकोमा उ लज्जित थियो । टाढा हुँदा उपहार पठाइरहने उसले उनलाई भौतिकरुपमा भेट्न जाँदा भने साथमा केहि लिएको थिएन । उसको अनुहार पढ्दै रोजले तिमीसँगको पहिलो भेट नै मेरो उपहार मानेको बताइन् । केहिबेर बसेर रोजलाई कोठामा पुर्याई समिर फर्कियो । 

उसको मनमा रातभरी निकै कुरा खेल्यो । सपनामा रोज आइरहिन् । उसले त्यस रात रोमान्टिक सपना देख्यो । उसको सपनाको कथा सुन्दा यस्तो लाग्यो कि सबै मायावी पलहरु उसले सपनामै अनुभुत गरिसकेको छ ।  

रोज आफ्नो डिउटी स्टेशनबाट तिन हप्ता विदा लिई समिरलाई भेट्न आएकी थिइन् । दिनहुँ भेट हुन्थ्यो । प्रायजसो “बिगेस्ट स्टार” रेष्टुरेण्टमा गफिन्थे । हरेक सांझ डिनर सँगै गर्थे । अनि हरेक बिहीबार “बिगेष्ट स्टार” मा हुने पार्टीमा सँगै नाच्थे । दुवै जना राम्ररी नाच्दथे । उनीहरुको “कपल डान्स” ले पार्टीमा थप रौनक भरेको थियो । 

शान्ति स्थापनार्थ सुडानमा खटिएका थिए । परिवेश भिन्न अनि वातावरण प्रतिकुल थियो । विदेशी भुमिको बसाई कसलाई पो सहज हुन्थ्यो र ! यस अघि दुबैले निकै असहजता महशुस गरेका थिए । तर आजकाल परदेशी भूमि समेत प्रिय हुँदै गएको थियो । उनीहरुको मिलनले प्रतिकुल परिवेशलाई समेत अनुकुल बनाएको थियो । काममा एकदमै व्यस्त अनि सम्बन्धमा त्यतिकै मस्त देखिन्थे । हरेक क्रियाकलापमा उनीहरुको प्रेम र समर्पण छरपस्ट देखिन्थ्यो । उनीहरुको मायावी सम्बन्ध देख्नेहरु ईर्श्याले जल्ने गरेको सुनिन्थ्यो ।  

फेब्रुअरी ७ को दिन विहानै समिरले रोजलाई भेट्यो । रोजको हातमा रातो गुलाफ दिंदै समिरले प्रणय दिवस सप्ताहन्तको शुरुवात गर्यो । यो पल रोजलाई विशेष लाग्यो । झण्डै एक वर्षको सुडान बसाइमा उनले गुलाफ देखेकी थिइनन् । विशेष दिनमा प्रेमीबाट प्रेमको प्रतिक रातो गुलाफ पाउनु निकै सुखद क्षण थियो । समिरको प्रेमको कोसेली फ्रेममा सजाएर निकै जतनसाथ राखिन् ।

“रोज डे” देखि “भ्यालेन्टाइन्स डे” सम्मका हरेक दिन उनीहरुले विशेषरुपमा मनाए ।  रोजको विदा सकिंदै थियो । उनी डिउटी स्टेशन फर्किंदै थिइन् । समिर केहि दिनको लागि घर जान चाहन्थ्यो । सबै बन्दोबस्ती मिलाएर आएपछि रोजलाई घर लैजाने योजना थियो उसको । रोजले यसमा सहमति जनाइन् । उनले पनि त्यही समयमा घर जाने र आफ्नो बुबा आमालाई भेटेर आउने चाहना व्यक्त गरिन् । मार्च ६ मा दुबै छुट्टिए छिट्टै सधैंका लागि सँगै हुने बाचाका साथ । समिर इजिप्ट जाँदै थियो भने रोज इन्डोनेसिया । 

तिसौं वसन्तसम्म एक्लै विताएको उसलाई कुनै पनि स्वदेशी महिलाले आकर्षण पैदा गर्न सकेकी थिइनन् । तर भाग्यको खेल हो वा उसको नियती ! परदेशमा रहँदा विदेशी महिलासँग प्रेममा बांधिएको थियो । 

रोज एक “डिभोर्सी” महिला हुन् । उनले गत वर्षमात्रै दाम्पत्य जीवनको अन्त्य गरेकी थिइन् । लागु औषध दुर्व्यसनीसँगको पाँच वर्षे कष्टकर सम्बन्धबाट मुक्ति पाउन पक्कै पनि सहज भएको थिएन । प्रेम र आफ्नोपनको आभाष बिनै वितेका ती काला दिनहरु विर्साउने गरी समिरको प्रेम पाउन थालेकी थिइन् । समिरको प्रेममा डुबेकी उनले दुर्व्यसनी पतिसँग विताएका पिडादायी क्षणहरु बिस्तारै भुल्न थालिन् । उनलाई ।

उनको जीवनमा समिर सौभाग्य बनेर आएको थियो । उसको प्रेमले जीवनभर बल्झिरहने घाउ समेत निको भएको महशुस गर्न थालिन् । समिरसँगको साथले उनका भावी दिन सुनौला हुने गहिरो विश्वास पलाएको थियो ।

उनीहरुको प्रेम सम्बन्धबारे जानकारी पाएका साथीहरुले भने उनीहरुको सम्बन्ध दुरगामी नहुने आंकलन गरेका थिए । कर्मभूमिको छोटो बसाईमा पलाएको प्रेम केवल दुईदिनको घामछाँया हो र फगत रोमान्समा नै सीमित हुनेछ भन्ने विश्वास गर्थे । वास्तवमा अविवाहित समिर र पारपाचुके भइसकेकी रोजको प्रेम सम्बन्धमा निकै व्यवधानहरु थिए । उनीहरुको जन्मभूमि त फरक थियो नै यससँगै भाषा, धर्म, संस्कृति, रीतिरिवाज कुनैमा पनि समानता थिएन । तर उनीहरुको अगाध प्रेम र समर्पणले सारा असमानता चिर्दै सामुहिक जीवन जिउने बलियो आधार प्रदान गरेको थियो । समिर आफ्नो विश्वासमा दृढ थियो । उसले नोकरी र विवाहलाई व्यवस्थापन गर्ने योजना बनाईसकेको थियो । छिट्टै उनीहरुविचको सम्बन्धले औपचारिकता पूरा गर्नेमा निश्चिन्त थियो । 

समिरको परिवारमा आमा र उ मात्रै थिए । बाबुको ह्रदयघातका कारण स्वर्गवास भएको थियो । उपचारको क्रममा निकै खर्च भएकोले ऋण तिर्नको लागि आमाले घर वेचेकी थिइन् । त्यसयता उनीहरु डेरामा बस्दै आएका थिए । समिरकी आमाको जिउने आधार नै समिर थियो । बुढेसकालको दरिलो सहारा हुने विश्वास समेत गरेकी थिइन् ।

उनको संयुक्त राष्ट्रसंघीय मिशनमा काम गरेपछि उसले केहि पैसा जम्मा गरेको थियो । एउटा घर किन्यो । अनि छिट्टै बुहारी लिएर आउने आश्वासनका साथ आमालाई नयाँ घरमा बसाई मार्च १५ मा पुनः सुडान फर्कियो ।  

रोज १७ मा फर्किंदै थिइन् । अर्को महिना समिरसँगै इजिप्ट जाने योजना थियो । त्यसैले मार्च १६ मा रोज सपिङ्गको लागि निस्किन् । साँझपख घर फर्किंने क्रममा अकस्मात् मौसम बदलियो । कञ्चन निलो आकाश क्रमशः बादलले ढाक्दै थियो । बेजोडले बतास चल्न शुरु गर्यो । तुफानसरी आएको बतासमा लपेटिएकी उनी हतारिंदै घर पुगिन् । 

कोठाको झ्याल खुल्लै थियो । झ्यालबाट पसेको हावाले उनको कोठाको सौन्दर्य पुरै बिगारीसकेको थियो । अत्तालिंदै झ्याल बन्द गरिन् र हावाले छरपस्ट बनाएका सामानहरु मिलाउन थालिन् । अकस्मात् उनको आँखा टुटेको वस्तुमा अडियो । त्यो त्यही गुलाफ थियो जुन् समिरले रोज डेमा दिएको थियो । हावाको झोंकाले भूईंमा खसेपछि फ्रेम फुटेको थियो भने फूल पत्र-पत्रमा छुट्टिएको थियो । प्रेमीको अमूल्य चिनो साथमा लिएर आएकी उनी निकै दुखी भइन् । नरमाईलो मान्दै छरिएका पत्रहरु संगाल्दै समिरलाई टेलिफोन गरिन् । 

पूरै “रिङ्” बज्यो तर फोन उठेन । हतास हुँदै ह्वाट्सएप अनि फेसबुक म्यासेन्जर दुबैमा पालैपालो कल गरिन् । तर उनले सम्पर्क गर्न सकिनन् । दुबैमा “टेक्स्ट म्यासेज” छोडिन् । निकै बेरसम्म समिरले कलब्याक गरेन । न त म्यासेजको रिप्लाई नै आयो । 

मनमा अनेकन कुराहरु खेल्न थाले । समिरले आफूसँग सम्पर्क हुन नसकेमा म्यासेज छोड्न भनि सरेसको नम्बर दिएको याद गरिन् । हतारिंदै सरेसलाई कल गरिन् । 

समिर हस्पिटलमा भएको जानकारीले उनी मर्माहत भईन् । भोलिपल्ट उनको फ्लाइट थियो । जतिसक्दो चाँडो आएर समिरलाई भेट्न चाहन्थिन् ।

मोबाइलमा एकोहोरो हेरेर टोलाउँदै गर्दा इमेलको नोटिफिकेशनले झस्कायो । उनले भोलीपल्ट यात्रा गर्ने एयर लाइन्सबाट आएको इमेल थियो । खार्तुम एयरपोर्ट बन्द भएकोले उनको फ्लाइट रद्द भएको जानकारी आएको थियो । उनी हतास् भइन् । मन व्याकुल भयो । वेचैनी थप बढ्न थाल्यो । 

समिर शारीरिक रुपमा तन्दुरुस्त थियो । तर त्यस सांझ नियमित व्यायमको क्रममा ह्दयघातका कारण अकस्मात् ढल्न पुग्यो । डाक्टरहरुको प्रयास सफल हुन सकेन । उसले आल्पायुमै मृत्युवरण गर्यो । साथी वियोगको पिडालाई आत्मसात् गर्दै सरेसले समिरकी आमा र प्रेमिका रोजलाई दुःखद खबर सम्प्रेषण गर्नु थियो । 

हिम्मत जुटाउन निकै गाह्रो भयो उसलाई । आमाको मुटु फुटेको र रोजको सपना टुटेको दृश्य उसका आँखा अगाडी तछाड-मछाड गर्दै दौडिन थाले । जति नै कठिन भएपनि खबर त गर्नु नै थियो । 

समिरकी आमा निःशब्द भईन् । उनी होसमै छिन् कि बेहोस भइन् उसले भेउ पाउन सकेन । उनका निःशब्द वेदना उसले कसरी पो अन्दाज गर्न सक्थ्यो र ! 

यो खबरले रोज विक्षिप्त भइन् । उनलाई पुनर्जीवन दिने समिरको प्रेम सदाका लागि अधुरो रह्यो । क्षणभरमै उनका सपना खरानी भए । जीवनका सारा रङ्ग उडे । प्रिय मानिसको वियोगमा पिडा र आक्रोश मिश्रित भावमा एकोहोरो चिच्याइरहिन् । 

एक छिन पछि त्यही गुलाफका संगालिएका पत्रहरु सुमसुम्याउँन थालिन् । उनको साथमा बचेको केवल त्यही गुलाफको फुल र केहि थान यादहरु त थिए । उनको जीवनका खुशी लुट्ने मार्च १६ चिरकालसम्म मुटु बिझाउने “गुलाफ झरेको दिन” बनी गढिरह्यो ।

डार्फर, सुडान (२०७७, बैशाख)

२०७७ ज्येष्ठ ३२ गते सेतोपाटीमा प्रकाशित ।

Views: 205

यो रचना तपाईलाई कस्तो महसुस भयो ?

2

खुसी

0

दुःखी

0

अचम्मित

2

उत्साहित

0

आक्रोशित