info@jayrimal.com

98********

पापी तीला

पापी तीला

 

कोइली झैं मधुर धुनमा सुसेल्ने तीलाको चाहना सदियौंदेखि दबिएको छ । तीला गहिरिंदै जाँदा खोंच बढ्दै गएसँगै चट्टानबिच उनको स्वर समेत भासिंदै छ । अस्वाभाविक भु-बनोटले उनको मधुर स्वरमा अप्राकृतिक रिमिक्स गरेको छ । उनको एकल गायनलाई यसले प्रतिबन्धित गरेको छ र आफ्नै स्वरमा पहिचान स्थापित गर्दै निस्फक्री गाउने चाहनालाई समेत कुण्ठित गरेको छ । जसमा उनी दु:खी छिन् ।

असोज ५ गतेको सांझ । खोंचको विचबाट डुब्न लागेको सूर्य हेर्दै आरतीको तयारीमा थिइन् तीला । श्रावणको बाढीले सृजित भेलमा “छ्वाप्ल्याङ्ग” आवाजसहित उनको काखमा एउटा वस्तु खस्यो । अप्रत्यासित आवाजले उनी झस्किइन् । उनको अनिच्छित संगितमा अर्को कर्ड थपिएको महशुस भयो र उनी असमञ्जसमा परिन् । 

हठात् एउटा भुमरी सृजना गरिन् र त्यस वस्तुलाई निमेशभरमा दबाइन् । निकै तल पुग्ने गरी । पृष्ठभूमिमा सन्नाटा छायो ।

उनको हतारो हेर्दा लाग्थ्यो कि उनी त्यसैको पर्खाइमा थिइन् । उनी यसरी प्रशिक्षित छिन् कि कसैले नदेख्दै भेलमा दबाइ हाल्नु पर्छ । सायद यो उनको रीत हो । उनी यसैमा रमाउँदै आइरहेकी छिन् ।

तर परिस्थिति भिन्न देखियो । उनी बेचैन भइन् । किनकी तीलामा निर्जीव र सजीवको भेद खुट्याउने क्षमता छ । 

यतिञ्जेलसम्म उनको स्मरणमा त्यो वस्तु चमेलीको जिउँदो शरिर ठहरिसकेको थियो । आँखा चिम्म गर्दै एकछिन सोचमग्न भइन् र आक्रोसित् हुँदै कराउन लागिन् । आज पनि मलाई आरती जगाउन दिएनौ हगि ? 

उनी यत्तिमा रोकिइन् । दबिएको स्वरमा चिच्याउन लागिन् । मेरो इतिहास बिगार्ने तिमीहरु नै हौ । आफ्नो अस्तित्व जोगाउन नसक्ने अनि बारबार मलाई पापको भारी बोकाउने ? आफूलाई धर्तीको सर्वश्रेष्ठ प्राणी ठान्छौ तर तिमीहरुको चेतना यही हो त ?  समग्र मानव जातीलाई नै बेपर्वाह गाली गर्न लागिन् ।

आँ⁓माँ⁓...! 

यसैबिच नेपथ्यमा बालिका च्यांठ्ठिएको आवाज गुञ्जियो । चमेलीकी छोरीको आवाज थियो । भिमकाय पहाडमा ठोकिएर उनको आवाज निकै लामो समयसम्म प्रतिध्वनित भइराह्यो । तीलाले उक्त आवाजलाई पछ्याउन लागिन् । उनको स्मरणमा साथमा अर्की सानी नानी र कुप्री परेकी बुढी आमा समेत देखा परिन् । 

उनमा असह्य पिडाबोध भयो । दुबै हात टाउकोमा राखिन् र बरबराउन लागिन् ।

हे चमेली ! मैले थाहा पाएँ कि तिम्रो गोठभरी भोका पशु छन् । कतिवेला आमा आई खाना पकाएर खुवाउनु हुन्छ भन्ने आशामा दैलो कुरी बसेका तिम्रा लालाबाला पनि छन् । तिमीहरुको भविष्यको सुखको लागि मुगलान पसेका तिम्रा मालिक कहिले दशैं आउला र घरमा फर्कि जाउँला भनेर पर्खिरहेका छन् । अधबैंशे उमेरमै श्रीमानले छोडी गएकी तिम्री बुढी सासु आमालाई तिम्रो स्याहारको खाँचो पनि छ ।

उनी भावुक हुदै चमेलीलाई सम्झाउन लागिन् । 

कति बेहोसी भाकी तिमी ! तिम्रो घाँसको भारी तिमी हिड्ने बाटोमा अटाउँदैन भन्ने पनि हेक्का गरिनौ । अनि सुन, म त्यति अकल्पित छैन जति वर्षाको खहरे छ । मेरो स्वर त्यति कर्णप्रिय छैन जसमा तिमी बहकिन सक्छौ । मेरो संगित त्यति सुमधुर छैन जसमा तिमी बगिरहन सक्छौ । मेरो शब्द त्यति ओझिलो छैन जसले तिमीलाई बहकाउन सक्छ । 

अनि म यति बिरानो पनि त छैन जसलाई तिमीले आफ्नो स्मरणबाट हटाउन सक्छौ । 

केहि सम्हालिंदै भन्न लागिन् । तिमी त मेरो साथमा आइहाल्यौ । अब फर्किन सक्दिनौ । तर अरुलाई भने नबोलाउ ल ! मेरो काख अब भरिसक्यो । कोही नअटाउने गरी । कहिले पनि खाली नहुने गरी ।

म चाहन्छु, मेरो स्वासले कसैलाई नभेटोस् । काला पत्थरले बिगारेको मेरो कर्कस ध्वनिले कसैलाई आकर्षित नगरोस् । अनि मेरो बिरक्तिको भाकामा कसैले आनन्द नलियोस् । 

मलिन आवाजमा यति भन्दै तीला शान्त भईन् । उनको आवाज त्यही कर्कस ध्वनीमा बिलाउँदै गर्दा अघिको त्यो वस्तु (चमेलीको मृत शरिर) केहि पर बग्दै गरेको देखा पर्यो । 

यति बेला सम्म नदी किनारामा केहि मानिसहरु भेला भइसकेका थिए । सबैको ध्यान शवलाई पाखा लगाउने र रितपूर्वक नष्ट गर्न मै केन्द्रित रह्यो । 

बिचरी चमेलीले मृत्युकर्ममा साथ दिने त भेटाइन् । तर उनको अभावमा लालाबाला सम्हाली दिने कोही पाइनन् । वास्तवमा परिवारमा चमेलीको अभाव कसले पूर्ति गर्न सक्थ्यो र ! फगत उनीहरुसँगै भाका मिलाई दुई थोपा आँशु खसाल्ने बाहेक कसले पो के गर्न सक्थ्यो र ! 

मान्म, कालीकोट (२०७९, भदौ)

२०७९ भदौ १४ गते साहित्यपोष्टमा “भावावेशमा तीला कर्णाली” शीर्षकमा प्रकाशित (https://sahityapost.com/aakhyan/story-aakhyan/82978/) ।

 

Views: 913

यो रचना तपाईलाई कस्तो महसुस भयो ?

0

खुसी

4

दुःखी

0

अचम्मित

0

उत्साहित

0

आक्रोशित

यो पनि पढ्नुहोस्