info@jayrimal.com

98********

बे-लगाम क्रिस्टिनिया

बे-लगाम क्रिस्टिनिया

 

डिसेम्बरको एक सांझ । हामी कोपन्हेगन शहरमा थियौं । मेरो लागि यो शहर बिल्कुल नयाँ थियो । भाई मदन गाइड बनेका थिए ।

युरोप भ्रमणका क्रममा मदनसँगको भेटले म थप उत्साहित थिएँ । उ सँगै कोपन्हेगन घुम्म पाउनुमा म आफुलाई भाग्यमानी ठान्दै थिएँ । मलाई घुमाउन पाउँदा मदनले पनि गौरवान्वित महशुस गरेको थियो । हामी दुबैको यस अनुभुतिमा कारण थियो विगतको सम्बन्ध । जीवनका कुनै कालखण्डमा हाम्रो सम्बन्ध गांसिएको थियो । म गुरु थिएँ भने उ चेला ।

हामी टहलिंदै थियौं । विकसित देशको राजधानी सुन्दर देखिएको थियो । नागरिक पनि उस्तै खुशी देखिन्थे । सभ्यता र व्यवहार पर्यटकसँगको व्यवहारमा समेत झल्किन्थ्यो । यसबाट म निकै प्रभावित भएँ । डेनमार्कमा भएर पनि मेरो मानसपटलमा नेपाल छाइरहेको थियो ।

डेनमार्क जानुअघि स्वीजरल्याण्ड समेत पुगेको थिएँ । नेपाल र स्वीजरल्याण्डको भौगोलिक अवस्था र विकासमा बिभिन्नता मेरो लागि तुलनाको विषय बनेको थियो । 

कोपन्हेगनले स्वीजरल्याण्डको यादलाई पुन: ताजा गरायो । घरी नेपाल, घरी स्वीजरल्याण्ड त घरी कोपन्हेगन मेरो आँखा अगाडी आइरहँदा म टोलाएंछु ।  

“सर! के सोच्दै हुनुहुन्छ ?” अलिक ठुलो स्वरमा आएको मदनको आवाजले झस्किएको मैले हतारिएर “हैन, ठीक छ” भन्न पुगेछु ।

“कोपन्हेगनको स्पेशल ठाउँ नजिकै आयौं हामी । छुट्टै विशेषता बोकेको अर्कै खालको ठाउँ छ । त्यहाँ पनि जाउँ ल सर?” मतिर फर्किंदै मदनले अनुरोध गर्यो । 

उसले थप्यो, “त्यसलाई क्रिस्टिनिया भन्छन् । डेनमार्क आएका प्राय: जसो सबै पर्यटक एकपटक त्यहाँ पुग्छन् । हजुरले चाँहि किन मिस गर्ने त सर ?” मैले सहमतिको जनाउ दिंदै टाउको हल्लाएँ ।

मदन अघि लाग्यो । म उसलाई पछ्याउँदै कोपन्हेगनको भाल्वी स्टेशन पुगें । सिटी बस चढी क्रिस्टीनहाव्न स्टेशन पुगेर ओर्लियौं ।

मनमा कुरा खेलाउँदै लामा-लामा पाइला चाल्दै हिड्दै थिएँ । फरक डिजाइनमा CHRISTIANIA लेखिएको एउटा गेटमा मेरो आँखा अडियो । क्रिस्टिनिया क्षेत्रमा प्रवेश गर्ने गेट रहेछ यो ।

यस गेटबाट प्रवेश गर्दै गर्दा भित्रपट्टि अरु दुई वटा कलात्मक गेट देखिए । उत्सुकता र कौतुहलताले मलाई डोहोर्याउँदै लग्यो । नजर घुमाउँदै भित्र प्रवेश गर्दै गर्दा बिभिन्न किसिमका रंगहरुले सजाएको घरको भित्तामा आँखा अडियो । 

हिउँदको महिना । निरन्तर तुषारो परिरहेको थियो । कठ्याङ्ग्रिने जाडोमा समेत क्रिस्टिनिया भित्र हरियाली देखियो । आश्चर्य मिश्रित रोमाञ्चकता थप्ने खालको यहाँको हरियाली बिल्कुल पृथक थियो । यसको प्राकृतिक अस्तित्वमा शंका गर्दै क्रिस्टिनियाभित्रको रहस्य पत्ता लगाउन आतुर भएँ ।

मेरा नजर घरी दायाँ त घरी वायाँतर्फ नाच्दै थिए । पृथक वातावरणमा मौजुदा चिजवस्तुहरुको दृश्यपान गर्न बे-लगाम दौडिएका मेरा नयनहरु Green Light District लेखिएको बोर्डमा पुगेर अडिए । सूचनामूलक बोर्ड रहेछ ।  यहाँको वस्तुस्थिति दर्शाउने बोर्डमा उपलब्ध सूचना भन्दा पनि महत्वपूर्ण विषय चांहि यस क्षेत्रमा तस्वीर नखिच्ने जानकारी थियो । यसले यहाँको दृश्य र गतिबिधिलाई क्यामेरामा कैद गर्ने मेरो चाहनामा पूर्णबिराम लगायो । म थप सचेत भएँ । जीवनमा पहिलोपटक देखेको र सुनेको यस Green Light District को विशेषता जान्न थप आतुर भएँ ।

एकछिन अडिएर सबैतिर नजर घुमाएँ । अनौठो स्थानमा आइपुगे झैं लाग्यो । आखिर के ले आकर्षित गरेको छ यति धेरै पर्यटकलाई यहाँ ? खुल्दुली झनै बढ्यो । गेटबाट बाहिरिने मानिसतर्फ नजर घुमाएँ । आ-आफ्नै तालमा नशामा डुबे झैं लरखरिंदै बाहिरिएको देखियो । उनीहरुको भावभङ्गीले मलाई कलेज जीवनको एक दिनको याद दिलायो । 

फागुपूर्णिमाको दिन थियो त्यो । हामी ९ जना साथीहरु पशुपतिक्षेत्रमा डुल्दै थियौं । केहि साथीहरु बेफिक्री गाँजा तान्दै नशाको उन्मादमा एकअर्कालाई लोला हान्दै थिए । उनीहरू निकै उन्मत्त थिए । उनीहरुलाई नियन्त्रण गर्न बांकी हामीलाई कठिन भएको थियो । त्यस पश्चातको घटना उनीहरुका लागि निकै अप्रिय समेत भएको थियो ।  त्यसै दिनको स्मरण गर्दै गर्दा कल्पनाको सागरमा चुर्लुम्म डुबेछु । एउटा सानो हडल्सले खुट्टामा ठेस लागेपछि झस्किएँ । 

झटपट आफूलाई सम्हालें । कुनै पनि दृश्य मेरो आँखा बाहिर नहोस् भन्ने चाहन्थें । मेरो उत्सुकता बढ्दै थियो । धैर्यताको बाँध टुट्यो । हेरेर मात्र चित्त नबुझी मौखिक वर्णन समेत सुन्न मन लाग्यो । यहाँको विशेषताबारे वयान गर्न मदनलाई अनुरोध गरें ।

“Pusher Street र Green Light District को नामले चिनिने यो एक स्वतन्त्र शहर (Free Town) हो । सन् १९७१ देखि नै स्वतन्त्र भएको यस शहरमा जताततै हरियाली मात्रै देखिन्छ । त्यसैले यसलाई Green Light District भनिएको हो ।” उसले इतिहासको कथा शुरु गर्यो ।

यहाँ गाँजाको खुल्लमखुल्ला उत्पादन र बिक्री वितरण हुने गर्दछ । यस क्षेत्रको प्रमुख पर्यटकीय आकर्षण पनि यहि हो । गाँजाको व्यापार गैह्र-कानूनि हो र डेनिस सरकारले यसको नियन्त्रणको लागि धेरै पटक प्रयास पनि गरेको थियो । तर अहिलेसम्म पनि यहाँ स्वतन्त्ररुपमा गाँजाको व्यापार चलिरहेको छ ।” मदन भन्दै थियो ।

“यहाँ प्रहरी प्रवेश नै गर्दैन । यहाँको सरकारले यस क्षेत्रमा छापा मार्दैन । पार्टी हल, थियटर, Gay House समेत यस भित्र नै छन् । यहाँको स्थानीय परिषदले कार्गो ट्रान्स्पोर्ट बाहेक मोटरसाइकल र कार ल्याउन मनाही गरेको छ । यहाँ बसोबास गर्ने स्थानीय बासिन्दाका सवारी साधन पनि यस क्षेत्र बाहिर नै पार्किङ्ग गरिन्छ ।” उसले थप जानकारी दिंदै थियो ।

मदनको कुरा सुन्दै क्रिस्टिनिया भित्र डुल्दै गर्दै गर्दा अनेकन दृश्यहरु देखियो । त्यहाँ भित्रका हरेक बिक्री केन्द्रहरु प्रदर्शनीका स्टलहरु झैं देखिन्थे । सबै केन्द्रमा मानिसहरुको भीड उत्तिकै थियो । समूह बनाई गएका र एक्ला एक्लै गएका हरेक मानिसहरुका गतिबिधीहरु हेर्न लायक थिए । सबै आ-आफ्नै ताल रसुरमा रमाउँदै थिए । यो देख्दा लाग्थ्यो, उनीहरुको खुशीको साधन र गन्तव्य दुबै यहीं छ । 

एकछिन पछि मेरा आँखा क्रिस्टियनाबाट बाहिरिएकाहरुमा केन्द्रित हुन थाले । उनीहरुको जोश र ताकत पग्लिएर तरल हुंदै छताछुल्ल पोखिए झैं देखिन्थ्यो । बाहिर निस्कंदा उनीहरुको पूर्व उत्तेजनामा निकै स्खलन भएको भान हुन्थ्यो ।

यस किसिमको वातावरणले मन उद्वेलित भयो । मदनले अनुरोध गर्यो भने यसको नशामा डुबौं कि झै भयो । तर न त मदनले अनुरोध गर्न सक्यो न मैले नै इच्छा व्यक्त गर्न । सायद मदन मेरो शिष्य हुनु यसको बाधक बन्यो होला । त्यसैले यसबाट म अछुतो नै रहें ।

बिल्कुलै पृथक जानकारीको साथमा मनमा कुराहरु खेलाउँदै स्वतन्त्र शहरमा आफ्नो पदचाप छाड्दै मदनकै आपार्टमेन्टमा फर्किएँ । दिमागमा अनेकन कुराहरु खेल्न थाले । घरी-घरी आफुले यसको नशा स्वादन नगरेकोमा केहि खड्किरहेको जस्तो पनि हुन्थ्यो । तर आफुलाई नियन्त्रण गर्नु नै बुद्धिमानी भएको ठहर गरी यस क्षेत्रको थप जानकारी लिन चाहें ।

मदनले थपे, “कोपन्हेगन शहरको ३.४३ बर्ग कि.मि. क्षेत्रफलमा फैलिएको एक सुन्दर क्षेत्र हो क्रिस्टिनहाव्न । Slotsholmen र Amager को बिचमा पानी माथी हजारौं काठका मुडाहरु थुपारी उक्त थुप्रो माथी बनाइएको Island हो यो । स्वीडेनसँगको युद्वमा मरुभुमिमा परिणत भएपछि क्रिस्टिनहाव्न मिलिटरी कब्जामा रहेको थियो । प्राकृतिक सम्पदाहरुले धनी मानिने यस शहरमा डच शैलिमा ग्रिड प्याट्रनमा बनेका पुरातात्विक एवम् ऐतिहासिक धरोहरको निर्माण कौशलले गर्दा बिदेशी पर्यटकहरुको आकर्षणको केन्द्र बन्न पुगेको छ । हाल यस संरक्षित क्षेत्र क्रिस्टिनियाको नामले समेत चिनिन्छ । क्रिस्टिनहाव्नलाई क्रिस्टिनियाको घर मानिन्छ ।

सन् १९७१ देखि क्रिस्टिनिया एक स्वतन्त्र शहरको रुपमा स्थापित भएको हो । त्यति बेला हरेक व्यक्तिले आफ्नो हितको लागि आफैंद्वारा शासित हुन नयाँ समाजको निर्माण गर्ने उद्वेश्य रहेको थियो । तर केहि समयपश्चात् उक्त स्वायत्तताको मर्म अनपेक्षित रुपमा The Hippie Movement, The Squatter Movement, Collectivism र Anarchism मा परिणत भयो । यस सँगै यहाँका बासिन्दाले यस क्षेत्रमा डेनिस सरकारको उपस्थितिलाई रुचाएनन् । सन् १९७६ मा Tom Lunden ले लेखेको Protest Song "You can’t kill us" नै क्रिस्टिनियाको अनौपचारिक राष्ट्रिय गीत बन्न पुग्यो । र हालसम्म यो भुभाग विशेष कानून “द क्रिस्टीनिया ल, १९८९” को अधिनमा आफ्नै स्थानिय परिषदबाट सञ्चालन भइरहेको छ ।

स्वतन्त्र समाज र खुल्ला गाँजाको व्यापार केन्द्रको रुपमा एउटा छुट्टै पहिचान बनाएको यस शहरलाई डेनिस सरकारले चार दशक सम्म लामो समय बिशेष परिक्षण स्वरुप स्वतन्त्र रुपमा सञ्चालित हुन दियो । यस परिक्षणकाल पश्चात पनि केहि व्यक्तिहरुले स्वतन्त्र क्रिस्टिनियाको पक्षमा र केहिले बिपक्षमा वकालत गरि नै रहे । 

यस बिचमा डेनिस सरकारले यस किसिमको स्वतन्त्रतालाई नियन्त्रण गरी कानूनि शासन लागू गर्न केहि प्रयासहरु गरेको पाइन्छ । पहिलो प्रयास स्वरुप प्रहरी परिचालनद्वारा लागु औषधको गैह्रकानूनि व्यापारलाई निस्तेज गर्ने योजना, दोस्रो प्रयासको रुपमा क्रिस्टिनिया क्षेत्रका सबै घरहरुलाई दर्ता प्रकृयामा लैजाने योजना र तेस्रो प्रयासको रुपमा त्यस क्षेत्रमा अवस्थित ऐतिहासिक महत्वका काठका सम्पूर्ण घरहरु भत्काउने निर्णय भएको पाइन्छ । तर ती घरहरु निर्माणका लागि यस भन्दा अघिका सरकारले अनुमति प्रदान गरिसकेको हुनाले यी प्रयासहरु बिबादास्पद नै रहे । 

यस क्षेत्रका ९०० भन्दा धेरै बासिन्दाहरुले सामुहिक सह-अस्तित्वलाई स्वीकारी समाजमा बस्न पाउनुपर्ने अधिकारलाई सरकारले नियन्त्रण गरेकोमा बिरोध जनाए । यसको साथै व्यक्तिगत सम्पत्तिमा जसरी नियन्त्रण गरी आफ्नो अस्तित्व मेटाउन खोजेको भन्ने ठहर गरी सामुहिक हकको लागि लड्दै आए । तर डेनिस सरकारले भने यसको कुनै सुनुवाई गरेको छैन र बिगत १५ वर्षदेखि यस क्षेत्रमा नयाँ घरहरु बनाउने अनुमति दिएको छैन । ठुलो संख्यामा प्रहरी परिचालन गरि निर्माण कार्यलाई नियन्त्रण समेत गरेको छ । तथापि हाल सम्म पनि यसको स्वतन्त्रता माथि भने अंकुश लागिसकेको छैन । यसै कारण यस शहरको भविष्यको सम्बन्धमा डेनिस सरकारले धेरै पटक गम्भिर छलफल समेत गरेको पाइन्छ ।”

यी सब जानकारी पश्चात मेरो मन झनै अशान्त बन्यो । युरोपको अति विकसित राष्ट्र डेनमार्कको राजधानी शहरको एक क्षेत्रको कहानी थियो हो । हुन त मेरो सोचाइलाई दिग्भ्रमित बनाउने यस्तो दृश्य अष्ट्रियाको राजधानी भियनामा घुम्दा समेत देखेको थिएँ । मुख्य सडकसँगैको बिशाल भवनमा प्रकाश र तापको उपयुक्त संयोजन गरि गाँजाको व्यावसायिक खेती गरेको पनि देखेको थिएँ । पत्याउनै गाह्रो भए पनि आफ्नै आँखालाई विश्वास नगर्नुपर्ने आधार पनि थिएन मसँग ।

त्यसैले युरोपमा लागु औषधको खुल्ला उत्पादन र बिक्री बितरण भन्दा पनि त्यहाँका बासिन्दाको जीवन र जगत प्रतिको बुझाई अनि सरकारी कदमको बिरुद्दमा व्यक्त प्रतिकृयाले मलाई अवाक् बनायो । यससँगै मलाई मानव सभ्यताको बिकासक्रम र आजको युगमा मानवजातिको चाहना र चेतनास्तरको बारेमा सोच्न बाध्य बनायो ।

लागू औषधको सम्बन्धमा हाल बिश्वमा दुईथरिका दृष्टिकोण रहेको पढेको थिएँ । कुनै पनि किसिमका लागू औषधहरु (Hard Drugs र Soft Drugs दुबै) को उत्पादन तथा बिक्री वितरणलाई निर्मुल गर्नुपर्छ भन्ने एउटा दृष्टिकोण छ भने Cannabis, DMT, LCD, Mescaline, Psilocybin लगायतका Soft Drugs हरुलाई नियन्त्रित तवरले उत्पादन, बिक्रि वितरण र सेवनमा छुट दिनुपर्दछ भन्ने अर्को दृष्टिकोण रहेको छ । यी दृष्टिकोणमा व्यापक बहस पनि भइरहेको छ । तथापि हालसम्म यसको सम्बन्धमा आधिकारिक धारणा सार्वजनिक भएको छैन । सायद स्वतन्त्र शहर क्रिस्टिनियाको हालको स्वतन्त्रताप्रतिको डेनिस सरकारको धारणा यसैको पर्खाइमा रहेको हुनुपर्छ ।

नोट: यस यात्रानुभुतिमा व्यक्त गरिएका ऐतिहासिक जानकारी अध्ययन प्रयोजनको लागि इन्टरनेटबाट समेत साभार गरिएका छन् । 

माघ, २०७२

सामाखुशी, काठमाण्डौं ।

२०७२ फाल्गुण ९ गते सेतोपाटीमा, २०७३ बैशाख ३ गते ओखरेनी साप्ताहिकमा र शिवपुरी न्युज डट कममा समेत प्रकाशित ।

Views: 10806

यो रचना तपाईलाई कस्तो महसुस भयो ?

32

खुसी

0

दुःखी

4

अचम्मित

1

उत्साहित

0

आक्रोशित