info@jayrimal.com

98********

तेलको पैसा

तेलको पैसा

 

“धनगढी, धनगढी! 

सिट खाली, सिट खाली !

दाई, धनगढी जाने हो ?

ए.... अघिकै मान्छे पो रहेछ । ठिकै छ, सिट खाली नै छ क्यारे । आउनुस् जाउँ ।

यो एकोहोरो संवाद थियो, कोहलपुरमा कार्तिक ९ गते बिहानको ७:१५ बजे, कोहलपुरबाट धनगढी जाने माइक्रो बसको सहचालकको ।

बिशेष कारणबश नेपालगञ्जमा मेरो बसाई एक दिन लम्बिएको थियो । श्रीमती पनि सँगै थिइन् । यो एकमा चिसापानी कैलाली गएर कर्णाली पुल हेरी फर्किऔं भन्ने सल्लाह भयो । कोहलपुर चौराहामा बसेर सुदुर पश्चिमतर्फ जाने गाडी कुर्दै थियौं ।

कहाँ जाने ?

चिसापनी ।

बिचमा झर्नेलाई नहाल है, तेलको पैसा नै उठ्दैन । 

कति ढिलो गरेको होला । ए राख्न हे राख् । तेलको पैसा त उठाउनु पर्यो नि । आफ्नै घरको पाँच जना छौं ।

सहचालक, म अनि चालकको बिचमा यस्तै संवाद चल्दै गर्दा गाडी हुइंकिदै गर्थ्यो ।

धेरै समय कुरिसकेकोले खाँदिएरै भए पनि जानै पर्ला जस्तो भएको थियो । यसो हेरें, जसोतसो अटिने जस्तो देखियो । गाडीमा चढेपछि सबैतिर नजर घुमाएँ । यात्रुको संख्या धेरै रहेछ । सरसर्ति गनें, हामी सहित बीस जना ।

गाडी पुरानो थियो । डर लाग्यो । मन थाम्नै सकिन । सहचालकलाई सोधें, यसको सीट क्षमता कति हो ?

के हेर्दैछस् तं ? जाने मान्छेहरु छन् त, “मिलाएर राख् न लाटा ।” चालकको कडा झम्टाई आयो सहचालकलाई । ढोका खोल्ने, मान्छे चढाउने अनि “मिलाउने” मा व्यस्त थिए सहचालक ।

चालक पछाडी रहेका हरेक पंक्तिका सिटहरुमा ४ को ठाउँमा ६ जना भए । यत्तिकैमा म संगै बसेका यात्रुले सोधे, “तपाईं पहिलोपटक यता आउनुभएको हो?”

सायद मेरो मनको डर अनुहारमा प्रतिविम्बित भएछ क्यारे । उनि थप्दै थिए, “यस्तै हो, कुनै कुनै चालकले त २२ जना पनि राख्छन् । अस्ति म आउँदा २२ जना राखेथ्यो । के गर्ने, जानै पर्यो।” 

अकस्मात गाडी रोकियो, अगाडीको सिटमा टाउको ठोकिन पुग्यो । के भएछ भनि झ्यालबाट चियांए । एक जना महिला प्रहरी देखें । “यी दुई जना बुढी आमाहरुलाई जसरी पनि धनगढी लगिदिनुस गुरु” उनी चालकलाई अनुरोध गर्दै थिइन् ।

ती आमाहरुको अवस्था देखेर सबै यात्रु अक्क न बक्क भए । अटिने ठाउँ नभए पनि नराख भत्र सकिने अवस्था पनि थिएन । गाडी चढ्न पनि प्रहरीको सहायता माग्नु परेको देख्दा यस भित्र धेरै कहानी लुकेको भान भयो । प्रहरी बहिनीले चालकसँग कुराकानी गर्दै पकेटबाट भाडा निकालेर दिएको देखियो । यी आमाहरु यसमा अटाउँदैनन्, नलैजाउँ भन्ने हिम्मत कसैको भएन ।

गाडीको ईन्जिन बन्द भयो । चालक गाडीबाट झरे अनि पछाडीबाट ढोका खोलेर अन्तिम पंक्तिको सिट पछाडी र ढोकाको बिचमा रहेको खाली ठाउँमा राखे ती दुई जना बुढी आमाहरुलाई ।” विद्यार्थी जीवनमा गाउँबाट काठमाण्डौं आउँदा गाडीको डिकीमा खाद्य सामाग्री राखेर ल्याएको याद आयो ।

“बाबु, बान्ता हुन्छ कि? साह्रै अप्ठ्यारो ठाउँमा परियो, सिटमा बस्न पाए हुन्थ्यो । ” एउटी आमाले भनिन् । वृद्ध आमाको अवस्था देखी टीठ त लाग्यो । तर आफु त्यहाँ चक्कर मारेर बसी ती आमाहरुलाई आफ्नो सिट दिन पनि सकिन । सानो गाडी, मान्छेको खचाखच र तातो हावा ! भित्रको वातावरण उकुसमुकुस थियो । मलाई पनि वान्ता होला झैं भएको थियो । 

चालक भन्दै थिए “हुदैन आमा, म बिस्तारै लैजान्छु नि ।” मन नलागे पनि त्यहीं बस्न विवश थिए ती आमाहरु । एकछिन उनीहरुलाई हेरिरहें । नेपथ्यमा कारूणिक कहानी लुकेको भान भयो ।

गाडी अगाडी बढ्यो । मनमा धेरै कुराहरु खेल्न थाले । चालकले घरिघरि दांया बांया गरेको देखें । सायद चालक गाडी कुरिरहेका यात्रु नियाल्दै थिए । पुनः २ किलोमिटर अगाडी पुगेपछि गाडी रोकियो । चालक भन्दै थिए, “ए सुदु, तिमी र हरि यता आउ त । पछाडी २ जना राख्नुपर्यो। “अब भने यात्रुहरुको धैर्यताको सीमा टुट्यो । सबै एकैपटक कराउन थाले, “यो के गर्न खोजेको ? कहाँ अटाउंछ र राख्ने ? हद हुन्छ नि सहनुको पनि !”

तर के गर्नु, चालकले अरुको कुरा सुन्दै सुनेनन् । उसको एउटै भनाई थियो, तेलको पैसा त उठाउनु पर्यो नि!

ती दुई भाई ओर्लिएर चालकको दायाँ र बायाँ बसे अनि उनीहरुको ठाउँमा थप दुई जना यात्री । जम्मा भए २४ जना । यात्रुजति सबै भन्दै थिए, “कमसेकम चालक त राम्ररी बस्नुपर्छ । आज कहाँ लगेर फालिदिने भयो!” 

यतिबेलासम्म चुपचाप बसेकी मेरी श्रीमतीको पनि धैर्यताको बांध टुटेछ । एक्कासी चिच्याईन, “गाडी रोक्नुस्, हामी ओर्लिन्छौं । कसरी जाने यति धेरै डराई डराई !” 

चालकका ५ जना आफन्त मध्येका एकजना सम्झाउन खोज्दै थिए, “नडराउनुस, यो चालक अनुभवी छ राम्ररी लैजान्छ ।”       

सोचें, श्रीमतीको निर्णय त ठिक हो । तर बाध्यताले गर्दा दोधारमा परें । मनमनै कुरा खेल्न थाले ।

तिहारको भोलिपल्ट, खासै गाडी चलेको छैन । नयाँ ठाउँ, अर्को गाडी कतिबेला आउने हो ? यो बस स्टेशन हो कि होईन थाहा पनि छैन । फेरी अर्को गाडी यहाँ रोक्छ कि रोक्दैन ? साँझ नेपालगञ्जमा नै फर्किनुपर्छ । अघि यति लामो बाटोमा यो गाडीले त रोक्न मानेको थिएन भने अब त झन बाटो एक तिहाई घटिसक्यो, अरु गाडीले कसरी लैजाला !

यत्तिकैमा एक दिन अगाडीको नुवाकोटको बेल्कोटमा भएको बस दुर्घटना मेरो मानसपटलमा आयो । १८ महिना अगाडी सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा क्षत् विच्छेद भएका यात्रुहरुलाई गौशाला प्रहरीले एम्बुलेन्सको व्यवस्था गरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट काठमान्डौका बिभित्र अस्पतालमा पठाएको स्मरण पनि ताजा भयो । बिस्तारै ओखलढुङ्गा, डोटी लगायतका दुर्घटनाका तस्विरहरु समेत आँखा वरिपरि घुम्न थाले ।

सम्पर्क नम्बर पत्ता लगाएर नजिकैको ट्रफिक प्रहरी कार्यालयमा खबर गरौं कि जस्तो पनि लाग्यो । तर के गर्नु, बिचल्ली आफ्नै हुन्छ ।

क्षमता भन्दा धेरै यात्रु बोकेकोमा जरिवाना गर्ने बाहेक तत्कालको समाधान अरु त के नै हुन्छ र ट्रफिक प्रहरीसँग ! यात्रुचापको आधारमा सवारी साधनको व्यवस्थापन नगर्ने समिति, विद्यमान सिन्डिकेट प्रणाली, तेलको पैसाको लागि सबैको ज्यान जोखिममा राख्न तयार हुने चालक र निजका सहयोगी, सिट नहुंदा नहुंदै जबरजस्ती चढ्ने हामी यात्रु, सबै उत्तिकै जिम्मेवार छौं, कसलाई के भत्रे !

विवशताबस श्रीमतीको निर्णयलाई बेवास्ता गरें । उनले पनि मनमनै जे भए पनि जानै पर्यो भन्ने मेरो आशय बुझे जस्तो लाग्यो । यत्तिकैमा उनले भनिन् “धन्य, छोरीलाई नेपालगञ्जमा नै छोडेर आईएछ नत्र त पल पलमा झस्किनुपर्ने रहेछ । “मैले टाउको हल्लाउँदै उनको कुरामा सहमति जनाएँ ।

मेरो आँखा चालकतर्फ मात्रै सोझिएको थियो । बिपरीत दिशाबाट सवारी साधन आएको देखेपछि मुटुको ढुकढुकी बढ्थ्यो । यात्रा गरिरहेको सडक को अवस्थाको अज्ञानताले मन अस्थिर हुदै जान्थ्यो ।  

जब जब अप्ठ्यारो पर्छ अनि भगवान सम्झिने हाम्रो बानीको पुनरावृत्ति हुदैं थियो । बिचबिचमा भएको राष्ट्रिय निकुञ्जको चेकपोष्टमा पुगेपछि यतै झरौं कि जस्तो पनि हुन्थ्यो । तर पनि समय अभाव र त्यसपछिको अवस्थाको अन्यौलताको कारणले त्रासदीपूर्ण वातावरणमा यात्रा गर्न बाध्य थियौं हामी ।

केहि समयको यात्रा पछि निकुञ्जको अन्तिम चेकप्वाईन्ट देखियो । दायाँ बायाँ हेरें, बोर्डमा चिसापानी लेखिएको रहेछ । ठाउँ एकिन गर्नको लागि सँगै बसेको सहयात्रीलाई सोधें । एकिन भए पश्चात लामो स्वास फेरें अनि मेरो जीवनको कुनै कालखण्डमा अमिट छाप छोडेर गएको यो ७६ किलोमिटरको यात्रा सकुशल पुरा भएकोमा धन्य ठानी नेपालको बेग्लै पहिचान बनाउने पबित्र नदी कर्णालीको किनारमा ओर्लिएँ ।

२०७१, कार्तिक,

नेपालगञ्‍ज, बांके ।

२०७१ कार्तिक २५ गते नागरिक दैनिकमा प्रकाशित ।

Views: 125

यो रचना तपाईलाई कस्तो महसुस भयो ?

8

खुसी

1

दुःखी

0

अचम्मित

0

उत्साहित

0

आक्रोशित