info@jayrimal.com

98********

पचाल झरना अग्ला शिर

पचाल झरना अग्ला शिर

 

“दाई, हामी अस्ति पचाल झरना गाको नि । कस्तो राम्रो रहेछ । हजुर पुग्नु भयो त?” एउटी बहिनीले सामान्य भेटघाटको क्रममा सोधिन् । 

“नाईं, छैन नि ! अलि पछि जान्छु म ।” 

मेरो स्वतस्फुर्त जवाफ उनको अपेक्षा विपरित परेछ । विस्मित भावमा उनले भनिन्, “छिट्टै जानुस् न ल ! अनि त्यहाँको बारेमा पनि लेख्नुहोला है ?”  म खिस्स हाँसें । उनी मेरो नियात्राको नियमित पाठक भएको जानकारी पाउँदा खुशी लाग्यो । 

पचाल झरना मेरो दृष्टिभन्दा पर थिएन । कालीकोटको बसाईमा पुग्नै पर्ने स्थानको “हिट लिस्ट” मा राखेको थिएँ । असारको मध्यतिर जाने योजना थियो । वर्षा लागेपछि पानीको आयतन बढ्ने भएकोले झरना झनै सुन्दर देखिने अनुमान गरेको थिएँ । तर उनको अनुरोधले मेरो हुटहुटी बढ्यो । पछि समय मिल्छ या मिल्दैन, अहिले नै जाउँ न त भन्ने लाग्यो । 

ज्येष्ठ ३० गते पचालझरनाको प्रसङ्ग चल्यो । कुरै कुरामा जाने योजना बन्यो । मित्रजी लगायतका आठ जना सहकर्मी मलाई साथ दिन तयार भए । अपरान्ह दुई बजे नौ जनाको टोली मान्मबाट पचालझरनाको लागि हिंड्यौं । मान्मबाट हुल्म हुँदै कर्णाली करिडोरको बाटोमा हाम्रो यात्रा शुरु भयो । लालीघाट, रेंगिल, सान्नीघाट हुँदै सांझको छ बजे भैंसे सैन पुगियो । गाडीबाट झर्दै गर्दा पानीको छिटा शुरु भयो । हतार हतार झोलुङ्गे पुल तर्दै लाफा तर्फ लाग्यौं ।

प्रकृतिसँग हाम्रो के जोर चल्थ्यो र ! सिमसिम परेको पानी बाक्लिंदै थियो । आत्तिएको मनलाई सम्हाल्दै खुट्टाको बेग बढाउनुको बिकल्प थिएन । आधा घण्टाको चालपछि पचाल झरना गाउँपालिकाको केन्द्र पणेक्षामा पुगियो । पालिका अध्यक्ष सहितको टिमको आतिथ्यताले मन द्रविभुत भयो । 

बादलले आकाशलाई फेरो मार्यो । रातभरी पानी पर्ने संभावना देखियो । 

“झरनासम्म पुग्ने बाटो त्यति सहज छैन त्यसमाथी पानी पर्यो भने त कसरी पुग्नुहोला र सर !”, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णजी को यो भनाईले अनिश्चयको बादल लाग्यो । गन्तव्यमा पुग्न सकिंदैन कि भन्ने चिन्ताले यात्रामा शंशय थपियो । 

खिन्नताका बाबजुद केहि बेर गफगाफ गर्यौं । अनि स्थानीय स्वादको खानासँगै त्यस रातलाई त्यहीं बिसाउने निधो गर्यौं । झमझम पानीसँगै मन शीतल बनाई बेडमा ढल्किनै लाग्दा मोबाइलको नोटिफिकेसनले मेरो मौनता चिर्यो । 

“म्यासेज सेन्डर” थिइन् कविता चापागाईं । प्लान इन्टरनेशनलको परियोजना विज्ञको रुपमा कालीकोट खटिएकी उनले हामीसँगै जान औधी मन गरेकी थिइन् । कारणवश सँगै जान नमिले पनि हाम्रो यात्राको चासो राखेकी थिइन् । मौसम पूर्वानुमान हेरी भोलीको मौसम सफा हुने सन्देश दिन चाहेकी रहिछन् । झरनाको तस्वीर हेर्न आतुर रहेकी उनको “गुड विस” ले आङ्गमा घाम लागेको महशुस भयो । 

रातभरि पानी परेपनि बिहान उठ्दा मौसम सफा थियो । चिन्तित मनमा हर्षका किरण सञ्चारित भए । मानौं, हामीलाई ठुलै सफलता मिल्नेवाला छ ।

पचालझरना जाने बाटोमा दुइवटा खण्ड रहेछन् । पणेक्षादेखि खार्दुसम्म पहिलो खण्ड अनि खार्दुदेखि झरनासम्म दोस्रो खण्ड । केन्द्रबिन्दु भने खार्दु गाउँ । 

पहिलो खण्ड ठाडै उकालो तर मोटरबाटोको ट्रयाक बनिसकेको । तर भैंसे सैन देखि लाफा जोड्ने “मोटरेवल पुल” नभएकोले मोटरसाईकल मात्र जाने गरेको । 

अनि दोस्रो खण्ड तेर्सो तर मोटरबाटो नभएको । पर्यटकीय पदमार्ग बनिरहेको । 

पैदल यात्राकै हिंडेका हामीले दुबै खण्ड हिंडेरै पार गर्ने निधो गर्यौं । पणेक्षाबाट दुई जना सारथी थपिएपछि हामी एघार जना भयौं । अगाडीको पहाडलाई निधारमा बोकी छिट्टै झरनामा पुग्ने अभिलाशाका साथ पौने छ बजेदेखि हाम्रो पदयात्रा शुरु भयो ।

केहि अगाडी रहेको लाफागाड साना जलविद्युत आयोजना कटेपछि चिउँडो नै ठोकिने उकालो यात्रा शुरु भयो । यात्रामा बढेको स्वासलाई छिनछिनमा बिसाउँदै चौथा पुगियो । चौथाको सानो गाउँमा रहेको धाराले पानी प्यास मात्रै मेटाएन, शरिरमा स्फुर्ति समेत बढायो । खुट्टा लम्काउँदै केहि बेर हिंडेपछि खलाबैनी पुगियो । लाफाबाट आएको सडक नागबेली हुँदै उकालो चढ्दै यहिं आएर भेट हुने रहेछ । केहिबेर मोटर बाटोमा हिंडेपछि हामी खार्दु गाउँ पुग्यौं । 

पणेक्षाबाट करिब २ घण्टाको पैदल यात्रामा पुगिने गाउँ रहेछ यो । स्वास्थ्य अवस्था प्रतिकुल रहेका वडा अध्यक्ष कृपालाल कठायतलाई भेटी शिघ्र स्वास्थ्य लाभको कामना गर्यौं । कार्यबाहक अध्यक्ष दान बहादुर कठायतको स्वागत आत्मिय थियो । उनीसँगै गाउँको वस्तुस्थितिबारे सामान्य जानकारी लियौं । उनले केहि वर्षयता पहिरोको शिकार भई उच्च जोखिममा रहेको खार्दु गाउँ र त्यहाँका बासिन्दा हरेक मनसुनमा त्राहीमाम भई बस्नुपर्ने अवस्था रहेको जानकारी गराउँदा हामी दु:खी भयौं ।

दान बहादुर सहित दुई जना सहयात्री थपिए यात्रामा । खार्दु पुगेपछि दुईवटा पदमार्ग भेटियो । एउटा मार्ग उनीकोट दरबारतर्फ जाने रहेछ भने अर्को मार्ग पचाल झरनातर्फ । हामी झरनातर्फ लम्कियौं । आधा घण्टा हिंडेपछि कोट पुगियो । 

करिब तिन कि. मि. वरै रहेको कोटबाट पचाल झरनाको “भ्यु” सुन्दर देखियो । यो दृश्यले चुम्बकले ताने झैं आँखा तान्यो । झरना पुरै देखिने र पृष्ठभुमिको “ल्याण्डस्केप” ले झरनाको सुन्दरता बढाउने भएकोले भ्यु प्वाइन्ट बनाएको रहेछ । रहर पुगुन्जेल झरनालाई हेरी क्यामेरामा केहि थान तस्विर समेत कैद गर्यौं । अनि प्रफुल्लित मुद्रामा “कर्णालीका तिरै तिर, पचाल झरना अग्ला शिर...” बोलको डेउडामा साथ दिंदै माहौललाई सांगितिक बनायौं ।  

हाम्रो गन्तव्य धैरै टाढा थिएन । निरन्तर अगाडी बढदै गयौं । बाटोमा भेटिने सिस्ने कांक्री (सिस्नुको बोटमा फलेको फल) खाँदै भोकलाई पर धकेल्दै थियौं । पदमार्गको तल्लो किनारमा रहेको ठुला पात भएको बुढेत्तोको रातो फुलले मेरो गाउँको जंगलमा पाइने भट्टेको झल्को दियो । सानो हुँदा भट्टेको पातमा ऐंसेलु टिपेर खाएको सम्झना आयो ।  

पदमार्ग सजिलो थियो । विगतको स्मरणमा रमाउँदै दृश्यपान गर्दै जाँदा चुलेमी, खिब्ला हुँदै झुल छहरा खोलामा पुगियो । दान बहादुरले पुगमालिकाको पानी ढँडारमा जम्मा भई झुल छहरा खोला बनेको जानकारी दिए । खोलाको माथि झोलुङ्गे पुल बन्दै गरेको रहेछ । काठको दुईवटा फट्टा राखी खोला माथि बनेको अस्थायी पुल होसियारीका साथ तर्यौं । 

झुल छहरा खोलाले करिब १०० मि. अग्लो सुन्दर झरना बनाएको रहेछ । एकनासको आवाज, शान्त बहाव अनि वरिपरिको वातावरणलाई चिस्याउने पानीका मसिना बुँदहरुले एकछिन मन बहलायो । खोलासँगको केहिबेरको अंकमाल पछि भराणा पाटो हुँदै राफा ढुङ्गा पुगेर बाटो टुंगियो । यससँगै हाम्रो प्रतिक्षाको घडी सक्कियो ।  

भिरालो परेर बसेको यस ढुङ्गामा लेउ लागेको थियो । झरनाको स्पर्श गर्न जानेलाई यसले जोखिम बढाएको रहेछ । निकै कम यात्रुले मात्रै यो ढुङ्गा पार गरेर झरनामा पुग्न सक्ने रहेछन् । राफा ढुङ्गाको छातीमा सावधानीका साथ पैताला राखी झरनामा पुग्यौं । पणेक्षाबाट शुरु गरेको करिब चार घण्टाको एकतर्फी पैदल यात्रामा “मोस्ट अवेटेड” झरनामा पुगियो । 

ओहो ! कति सुन्दर झरना । भिमकाय चट्टानलाई सिरानी हाली लहरिएको पानीको दृश्यले निकै मोहित बनायो । 

अविवाहित युवकले आफ्नो अगाडी देखा परेकी सुन्दरीको शरिर नियाले झैं झरनालाई एक तमासले हेर्दै गर्दा आफैं टोलाएँछु । सायद सुन्दरताको केन्द्रबिन्दु पहिल्याउने कोशिष हो यो । अनि एक्कासी खुशीले भरिएको मन सम्हाल्न नसकी पागल झैं चिच्याउन थालेंछु । आफ्नो आवाज चट्टानमा ठोकिई कानमा गुञ्जिंदा आफैं डराएको पललाई साथीहरुले क्यामेरामा कैद समेत गर्न भ्याएछन् । बेपर्वाह खुशीका साथ एक उन्मत्त साँढे झैं बे-लगाम भई झरनाको आसपासमा दौंडिदा मेरा सहकर्मीहरु चिन्तित भएछन् । 

दुई खण्डमा बिभक्त झरनाको बिच भागमा थियौं हामी । तल सिधै भिर । सामान्य असावधानीमा समेत करिब १०० मिटर तल झर्न सक्ने अवस्था थियो ।  

प्यास बढेको थियो । झरनाको चिसो पानी बोतलमा भरी प्यास मेटाएँ । माथीबाट खसेको झरना चट्टानको हल्का तेर्सो भागमा ठोक्किंदा आएको दबाबले पानी उकालोतर्फ फैलिन्थ्यो अनि पुन: तल झर्ने बेलामा साविकको बाटो फेर्थ्यो । यस अवस्थामा झरनामा अनौठो उत्तेजना देखिन्थ्यो । झरनामा टांसिएर तस्विर लिन खोज्ने सबैलाई नशालु झरनाले चुम्न खोजको भान हुन्थ्यो । यो दृश्य निकै हेर्नलायक थियो । 

पुलकित हुँदै कोही टिकटक बनाउन थाले । कोही पुरै झरनालाई क्यामेरामा कैद गर्न उपयुक्त स्थान खोज्न थाले । सबैको ध्यान झरनाको सुन्दरता क्यामेरमा उतार्ने थियो । नाङ्गो आँखाले देखेको प्रकृतिको सुन्दरता अनुपम थियो । क्यामेराले यो दृश्यलाई कैद गर्न नसकेको भाव सबैको अनुहारमा पढ्न सकिन्थ्यो । 

अपेक्षा गरेजस्तो तस्विर कसैले पनि खिच्न सकेन । फगत क्यामेराले यस्तो मनमोहक दृश्य कैद गर्न सक्ने भए यति बिघ्न कष्ट गरी-गरी मानिसहरु किन त्यहाँ पुग्थे र ! तैपनि हाम्रो कोशिष जारी रह्यो । मोबाइलमा चार्ज बांकी रहेसम्म फोटो र भिडियो खिची नै रह्यौं ।   

वास्तवमा पचाल झरना कालीकोटको विशिष्ट पहिचान रहेछ । पचाल झरना गाउँपालिकाको प्राविधिक टोलीले झरनाको उचाई ३८१ मिटर मापन गरेको जानकारी पाइयो । यससँगै नेपालको सबैभन्दा अग्लो झरना भनी सुचीकृत भएको तेह्रथुमको ह्यातुंग झरना भन्दा पचाल झरना १६ मिटरले अग्लो रहेको दाबी पनि सुनियो । 

प्रसिद्ध धार्मिकस्थल चुलीमालिकाबाट आएको हुनाले यस झरनालाई धार्मिक हिसाबले समेत महत्वपूर्ण मानिएको छ । हिउँदमा दुई भागमा बिभक्त हुने अनि वर्षामा एउटै विशाल छाँगो बन्ने यस झरना कालीकोटको विकासमा संभावना बोकेको पर्यटकीय स्थल रहेको स्वीकारोक्तीका साथ मान्म फर्कियौं । 

 

मान्म, कालीकोट (असार, २०८०)

२०८० असार १६ गते सेतोपाटीमा प्रकाशित ।

Views: 267

यो रचना तपाईलाई कस्तो महसुस भयो ?

8

खुसी

0

दुःखी

0

अचम्मित

0

उत्साहित

0

आक्रोशित