info@jayrimal.com

98********

पुगौं है पुगमालिका

पुगौं है पुगमालिका

 

कालीकोट आएसँगै यहाँका सम्पूर्ण गाउँ र वस्तीलाई आफ्नै आँखाले हेर्ने चाहना थियो । काठमाण्डौं फर्किंदा यहाँका केहि थान सुन्दर दृश्य कैद गरी लैजाने रहर समेत थियो । 

“एक पन्थ दो काम” भने झैं कामको सिलसिलामा जाँदा पनि आन्तरिक पर्यटक बनी त्यहाँको प्रकृतिमा विचरण गर्न थालें । छोटो समयमा समेत धेरै गाउँ र वस्तीलाई आफ्नै आँखाले नियाल्ने अवसर जुट्यो । 

यहाँका वस्ती, पाटन तथा धार्मिक स्थलहरुले मेरो परिवार, मातृभुमि र साथी “सर्कल” समेत भुलाउँदै लगे । कार्य व्यस्तता कम हुने बित्तिकै अर्को गन्तव्यबारे सोची हाल्ने बानी पर्न थाल्यो । एक पछि अर्को गर्दै गन्तव्य बदलिंदै गयो । कालीकोट बसाईका सुगन्धहरु थपिंदै गए । सुन्दर तस्विरहरु कैद हुने क्रम बढ्दै गयो । मन पुलकित हुँदै गयो । 

यसै बिच चैत्र १३ गते साँझ पुगमालिकाको प्रसङ्ग चल्यो । छिटो हिड्नेका लागि “एक दिवसीय यात्रा” रहेको जानकारी पाएँ । भगवानको मन्दिर जाने चाहना भइसकेपछि किन नजाने भन्ने सोंच आयो । सहयात्री बारे सोच्न थालें ।  

मेरो टिममा पहिलो रोजाई बने जिल्ला प्रशासन कार्यालय कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारी । उनी अक्सर मेरो यात्रामा साथ दिने गर्थे । सेवाको दौरान घुमफिर गर्ने मनसाय समेत राखी कर्णाली प्रदेश सरुवा मागेर आएका उनलाई मैले छाड्न पो कहाँ सक्थें र ! 

मान्मदेखि फोई गाउँ सम्मको यात्रा गाडीबाट र त्यसपछि पुगमालिकासम्म पैदल जानुपर्थ्यो । फोईदेखि पुगसम्मको पैदलमार्ग हाम्रा लागि नयाँ थियो । वर्षमा एक पटक मेला लाग्ने र त्यसबाहेक मानिसहरुको आवातजावत नहुने भएकोले पैदलमार्ग स्पष्ट नभएको जानकारी थियो । मौसमले छिनछिनमा रङ्ग फेर्ने र प्रतिकुल मौसममा बाटो खुट्याउन कठिन हुने भन्ने पनि सुनेका थियौं । विगतमा मेला भर्न गएका केहि तीर्थालुले बाटो भुलेर अलपत्र परेका कहानीले हामीलाई थोरै चिन्ता थपेको थियो । तर यिनै अनिश्चितताका बाबजुद हामी पुगमालिका मन्दिर जान तम्सिएका थियौं । 

फोईबाट हामीलाई साथ दिने कोही होओस् भन्ने चाहना थियो । त्यसैले मान्मबाट निस्किने बेलामा फोईका स्थानीय बासिन्दा नबिन हमाललाई टेलिफोन गरी साथ दिन अनुरोध गरें । मनकारी उनले प्रस्ताव स्वीकार गरे ।  उनको साथमा हाम्रो धार्मिक यात्रा तय भयो ।

१४ गते साँझ पाँच बजे मान्मदेखि हिंडेका हामी सांझको ८ बजे फोई गाउँ पुग्यौं । नबिनजी र भाउजुको आत्मिय स्वागतले मन पगाल्यो । छोरीले पाहुनालाई गरेको व्यवहारले वहाँहरुले सिकाएको असल संस्कार प्रतिविम्वित गरेको थियो । एकछिन गफिएर त्यस रात उनकै घरमा बस्यौं ।   

हामी समुद्री सतहबाट २५०२ मिटर उचाईमा रहेको फोई गाउँमा थियौं । गुगलमा पुगमालिकाको उचाई खोजें तर भेटिएन । नबिनजीलाई सोधें । उनले मुस्कुराउँदै एउटा गीतको अंश सुनाए । “चुलिंदै मालिका अग्लो, हुँदै अग्लो पुग” । यसको मतलव थियो, बडिमालिका, चुलिमालिका भन्दा पनि अग्लो हो पुगमालिका । उनले ठ्याक्कै अङ्कमा भन्न नसके पनि समुद्र सतहबाट करिब ४६०० मिटर उचाइमा रहेको अनुमान गरियो । 

कालीकोटको शिर मानिने पुगमालिका पुग्न मन आतुर थियो । पराम्परागत मेला भर्न जाने बाहेक कालीकोटकै बासिन्दा पनि नजाने ठाउँ भएकाले धेरै उत्सुकता र थोरै कौतुहलता थियो मनमा । 

अघिल्लो रात पानी परेकोले मौसम शितल भयो ।  यात्रा केहि सहज हुने अनुमान गरियो । १५ गते बिहान ६ नबज्दै फोई गाउँबाट उकालो लाग्यौं । चिउँडो ठोक्किने ठाडो उकालोमा १०० मिटर माथी पुग्दा बाटोमा एउटा बिशाल ढुङ्गा देखियो । गाउँकै सिधै माथी रहेको यस “ढाकी” ढुङ्गा गाउँलेको लागि चिन्ताको विषय बनेको रहेछ । धराप बनेर बसेको “ढाकी” खसेमा फोई गाउँको आधा दर्जन घरलाई क्षति पुग्ने अवस्था रहेकोले उनीहरु त्राहिमाम हुनु स्वाभाविक नै देखियो । 

घुमाउरो बाटोमा उकालो चढ्दै गर्दा घरि-घरि फोई गाउँको दृश्य देखिन्थ्यो । उच्च पहाडी भुभागमा रहेको फोई गाउँ चिलखाया पछि कालीकोटकै सुन्दर भुमि रहेछ । नौ घुम्तीको सांघुरो बाटो चालिस मिनेटमा पार गर्दै सानो मैदानी इलाका, नौफेरीमा पुगियो । नौफेरीबाट देखिएको फोई गाउँको दृश्य लामोसम्म आँखामा अडिरह्यो । सुन्दर गाउँ र वस्तीका दृश्यहरु क्यामेरामा कैद गर्दै अगाडी बढ्यौं । 

नौफेरीबाट केहि अगाडी बढेपछि मुङ्ग्राया पाटा पुगियो । सर्पको टाउको जस्तो देखिने एउटा अनौठो ढुङ्गामा आँखा अडियो । उक्त ढुङ्गामा आफ्नो पदचाप छाड्दै पाइला अगाडी बढाउन लाग्दा भुईभरी भुईं-काफल देखियो । 

फरक परिवेश, फरक भुगोल, फरक दृश्य ! मनसँगै आँखा रमायो । आखिर पदयात्राको सुगन्ध भनेकै दृश्यावलोकन न हो ! यात्राका सुगन्धहरु बढ्दै जान थाले । मन हर्षित हुँदै गयो । 

वर्षौंअघि खाएको भुईंकाफलको स्वाद ताजा भएर आयो । नखाईकन मन थाम्न सकिएन । यसले करिब एक घण्टाको थकाई र प्यास दुबै मेटायो ।

केहि बेर अगाडी बढेपछि जङ्गलको बिचमा खेतियोग्य खाली जमिन भेटियो । निकै ठुलो क्षेत्रफल रहेछ । पहिले फोईका बासिन्दाहरुले फापर, जौ र गहुँ लगाउने गरेका । मलिलो माटो भएकोले उब्जनी पनि राम्रो हुने । तर आजकाल देशैभरि धेरै उर्बर जमिनहरु समेत बांझिएका छन् । बिदेशी खाद्यान्नको आयत बढ्दै गएको छ । आवश्यकता, प्राथमिकता र प्रविधिको संयोजन हुन नसकेको र परनिर्भरता बढेकोमा चिन्ता व्यक्त गर्दै अगाडी बढ्यौं । 

उत्सुकता, कौतुहलता र बेचैनीमा बाटो कट्दै गयो । काफलको स्वादमा जिब्रो पड्काउँदै यात्रा जारी थियो । नबिनजीको पाइला अकस्मात रोकियो । मसँग “ट्रेकिङ्ग स्टिक” मागेर भुईं खोतल्न थाल्नुभयो । खुशी हुँदै प्याकुडे (स्थानीय भाषामा) नामको बोझो जस्तै देखिने जडिबुटी निकाल्नु भयो । यसलाई पखालेर मुखमा राखी यात्रालाई निरन्तरता दियौं । यसले झण्डै १ घण्टाको यात्रामा मुख सुक्न दिएन । यात्रामा उर्जा थपियो । 

यस बिच बिरलै भेटिने किसिम किसिमका सुगन्धित फूलहरुले आँखाको नानी फुलाउँदै लगे । स्थानीय भाषामा “मेग्ये” भनिने फूलले यात्रामा खुसी थप्यो । 

बाटो जङ्गलको बिचमा पस्यो । बिस्तारै मानिसहरु पैदल हिंडेको निशानी समेत देखिन छोड्यो । बिचबिचमा फुलेका गुराँससँगै आफ्नो मन फुलाउँदै गोब्रेसिम भन्ने स्थानमा पुग्यौं । ज्येष्ठसम्म पनि लालीगुराँस फुलिरहेको देख्दा अचम्मित भयौं । गुराँसकै छेउबाट उडेको डाँफेले आफूसँगै मेरो मन निकै परसम्म उडाइरह्यो । गर्वले छाती चौडा भयो । खुशीको सीमा नै रहेन ।

करिब आधा बाटो तय गरेपछि झुलौना महादेव मन्दिर पुगियो । यात्रा सफलता र सहजताको कामना गर्दै मन्दिरको दर्शन गरियो । नबिनजीले मन्दिरमा ध्वजा चढाउनुभयो । एकछिन थकाई मार्दै साथमा लिई गएको ड्राई फुड खायौं र पाइला अगाडी बढायौं । 

बिशाल जङ्गलको बिचैबिच हिंड्दै गर्दा अत्तिसी पाटीमा पुगेपछि एउटा घृणित मानव व्यवहारको निशानी देखियो । आवेग, उत्तेजना र क्षणिक स्वार्थ पूर्तिका लागि सयौं वर्ष लागेर हुर्किएका बनस्पतिहरु छेदविच्छेद गरि लडाइएको रहेछ । प्रकृतिको यस प्रकारको छेदन अस्वीकार्य मात्रै नभएर दण्डनीय थियो । छेदन भएका बिशाल रुखहरु प्रयोग बिहिन थिए । यो दृश्यले निकैबेर मन अशान्त भयो । 

केहि अघि बढेपछि एउटा भोजपत्रको रुख देखियो । भोजपत्रका पत्रहरु निकाल्दै हातमा खेलाउँदै अगाडी बढ्दा पाटन क्षेत्र शुरु भयो । जतौरुको भात खाने स्थान भनेर चिनिने यस पाटन क्षेत्र तिर्थयात्रीहरुको बिश्रामस्थल रहेछ । करिब ३६०० मिटर उचाईमा रहेको यस स्थानमा पुग्दा केहि साथीहरुलाई हल्का टाउको दुख्न शुरु भएको थियो । 

शरिरलाई “एक्लमटाईज” गर्दै जानु थियो । एकछिन बिश्राम लिई रोटी र साग खायौं । सुस्तरी हिंड्ने, एकछिन आराम गर्ने, खानेकुराहरु खाने अनि फेरि हिड्ने गर्दै बाटो कटाउँदै गर्यौं । 

पाटनै पाटन हुँदै अबको यात्रा तय गर्नु थियो । जता हेरेपनि उस्तै लाग्ने पाटन क्षेत्रमा पैदल मार्ग कतै भेटिएन । निकै माथी देखिएको पहाडको टुप्पोलाई “लक्ष्य” मान्दै उकालो लाग्यौं । 

घरपालुवा जनावरहरुको एउटा हुल हामीतर्फ आउँदै गरेको देखियो । ग्वाला निकै अगाडी थियो, पछाडी करिब सय वटा जति भेडा, बाख्रा र घोडाहरु थिए । यात्राका सबै रङ्गहरु क्यामेरामा कैद गर्न सिपालु सरोज सरले जनावरतिर क्यामेरा फर्काए र नजिक लम्किए । यसक्रममा एउटा अचम्मको दृश्य देखा पर्यो । 

एउटा ठुलो कालो कुकुर (स्थानीय भाषामा भोटे कुकुर) दौडंदै भेडाहरुको बथानको अगाडी आएर ठिङ्ग उभियो र सबै जनावरहरुलाई रोक्यो । तिनीहरुले भने आज्ञाकारी हुँदै कुकुरको आदेश पालना गरे । शिकारीले सिकारको लागि तयार भए जसरी कुकुरले पोजिसन लियो र सरोज सर माथी जाइलाग्न लाग्यो । उसले हामीबाट भेडा असुरक्षित ठानेको आभाष भयो । नबिनजीले पछाडीतर्फ बिस्तारै पाइला चाल्दै उनीहरुबाट टाढा भई आक्रमणबाट जोगिन सुझाउनुभयो । सरोजजीले त्यसै गर्नुभयो । एउटा पशुको यो तहको सचेतना र नेतृत्वको प्रशंसा गर्दै पुन: यात्रालाई निरन्तरता दियौं । 

पाटनक्षेत्र प्रवेश गरेपछि मौसमले भने हामीलाई चिन्तित बनायो । कहिले बादलले पुरै ढाक्ने अनि निकै चिसो बढाउने त कहिले घाम लाग्ने भइरह्यो । मौसम उघ्रिने बित्तिकै क्यामेरा निकालेर तस्विर लिन खोज्यो उत्ति नै बेला बादलले ढाकिहाल्थे । बादल र क्यामेराले लुकामारी खेलेजस्तो हुन्थ्यो । 

पानी परिहाल्यो भने ओत लाग्ने ठाउँ समेत देखिदैनथ्यो । कतै माथि पुग्न नसकिने हो कि आशंकाका बाबजुद पाइला बढाइरह्यौं । केहिबेरको हिडाईमा हुम्दिना पाटन पुगियो । 

भुईं भरी एकै रङ्ग र किसिमका फूलहरु फुलेका थिए । फूलको जीवनमा समेत हिंउँको प्रभाव परेको देखिन्थ्यो । हिउँले छिट्टै छाडेका स्थानमा फूलहरु फुलिसकेका थिए भने पछि छाडेका स्थानमा फक्रिंदै गरेका । कतै कोपिला, कतै फक्रिंदै गरेका त कतै जवान भइसकेका फूलहरुले पाटनलाई रङ्गिन बनाएका थिए । यिनै फूलहरुलाई हेर्दै थकानलाई केहि पर धकेल्दै यात्रा निरन्तर बढिरह्यो । 

झण्डै ३९०० मिटरको उचाईको ढाँडखर्क भन्ने स्थानमा पुगेपछि दाहिनेतर्फ एउटा ट्र्याक देखियो । ओडार जाने बाटो रहेछ । केही पर रहेको ओडारले यात्रुहरुलाई रातको समयमा छहारी दिने गरेको पाइयो । नजिकै दुईवटा धर्मशाला पनि बनेको रहेछ । करिब सात/आठ सय तीर्थयात्रीलाई सहजता प्रदान गर्न धर्मशाला र ओडार निकै उपयोगी भएका रहेछन् ।

हामी पुगमालिका मन्दिरको नजिक पुगेका थियौं । करिब दुई सय मिटर तलैदेखि छपक्कै हिउँ देखियो । ज्येष्ठको मध्यसम्म पनि नपग्लिएको हिउँले मन रोमाञ्चित बनायो । नबिनजीले सफा हिउँमा चुक, चिनी, जीरा राखी साँधेर हामीलाई चखाउनुभयो । जीवनमा पहिलोपल्ट हिउँ साँधेर खाइयो । हिउँ खाँदै र खेल्दै हामी गन्तव्यमा पुग्यौं । समग्रमा हाम्रो ७ घन्टाको यस यात्रा निकै रामाञ्चकारी रह्यो ।

२५०२ मिटरबाट शुरु भएको हाम्रो उकालो यात्रा करिब ४६०० मिटरमा पुगेर रोकियो । हामी कालीकोटकै शिर पुगमालिकामा पुगेका थियौं । धार्मिक यात्रा थियो । सबैजना सनातन हिन्दु धर्म मान्ने भएकोले पहिले मन्दिर दर्शन गर्यौं ।

नेपाल टेलिकमको “फोर जी” सेवा टिप्ने रहेछ । परिवारसँग भिडियो कल गरेर त्यहाँको सुन्दरताबारे सबैलाई जानकारी दिन पाउँदा मन प्रफुल्लित भयो ।

पुगमालिकाबाट वरिपरिको दृश्य असाध्यै सुन्दर देखिने जानकारी थियो । मौसमको प्रतिकुलताले गर्दा सुनेजस्तो दृश्य देख्न भने पाइएन । 

आजकाल हाइकिङ्ग र ट्रेकिङ्ग युवा पुस्ताको आकर्षण बनेको छ । शरिर स्वस्थ हुने र आन्तरिक पर्यटनको विकास हुने हुनाले यस्ता कार्यक्रमहरुलाई बढावा दिनु सबैका लागि हितकर हुन्छ । न्यूनतम सुविधा सहितको ट्रेकिङ्ग रुट तय गरी व्यवस्थित गर्ने हो भने दुई दिनको ट्रेकिङ्गको लागि “पुगमालिका मन्दिर” उत्तम गन्तव्य हुने रहेछ । 

मान्म, कालीकोट (२०८०, जेठ)

२०८० जेठ २७ गते सेतोपाटीमा प्रकाशित ।

Views: 134

यो रचना तपाईलाई कस्तो महसुस भयो ?

4

खुसी

0

दुःखी

0

अचम्मित

0

उत्साहित

0

आक्रोशित