info@jayrimal.com

98********

रमणीय रुडु बन्चु

रमणीय रुडु बन्चु

 

नयाँ वर्ष २०८० को पहिलो बिहानी । साल शुन्य भए पनि मन भने शुन्य भएन । गतिशीलता नै मानव जीवनको सार्थकता ठान्ने भएर होला सदा झैं त्यस दिनलाई पनि गतिशील बनाउन चाहें । कालीकोटकै सुन्दर भुभाग चिलखायाले मेरो आँखा यस अघि नै तानेको थियो । रहर पुगुन्जेल हेर्ने चाहना अतृप्त नै थियो । महेन्द्रजीले गरेको रुडु बन्चुको सुन्दरताको वयानले थप उत्सुकता जगायो । अनि बिछ्यौनामै बन्यो, चिलखाया देखि रुडु, बन्चु हुँदै त्रिवेणीसम्म पुग्ने योजना ।

योजना बिनै तय गरिएको यात्रा भएकोले अन्य निकायका साथीहरुलाई सहभागी गराउन सकिएन । आफ्नै सहकर्मीहरु सहित छ जनाको एउटा टोली तयार भयो । सवा सात बजेदेखि शुरु भयो हाम्रो दुई दिने “ग्रामीण पैदल यात्रा” । 

मान्मदेखि करिब डेढ घण्टाको “ड्राइभ” पछि पौने नौ बजे भैसीगौंडा पुगियो । गाडी रोकिएसँगै आँखामा एउटा भग्नावशेष देखा पर्यो ।  दु:खदायी विगतले मन भक्कानियो । 

गत असोजको १९ देखि २४ सम्म आएको अविरल वर्षा र यसले सृजित विपत्तिमा भैंसेगौंडा र बाली वस्तीका ७ जनाको अकाल मृत्यु भएको थियो । केहि पर राँचुलीमा १३ जना मलामीले पहिरोमा परी ज्यान गुमाएका थिए । निकै ठूलो धनजनको क्षति पुर्याएको पहिरो र बाढीले भैंसेगौंडाको पक्की पुल बगाएसँगै तीला पारीका बासिन्दा सडक सञ्जालबाट बन्चित थिए । 

विगतको स्मृतिले मन अमिलो भयो । त्यो अपुरणीय क्षति फर्काउन सकिंदैन थियो । भुल्नुको बिकल्प थिएन । दु:खदायी विगतलाई तीला नदीमा बिसाई अगाडीको यात्रा तय गरियो । 

पक्की पुल बगाएको निकै पछि नदीको दुई किनार जोड्ने काठको पुल बनेको थियो । त्यही पुल तर्दै नौ बजेदेखि चिलखायाको उकालो यात्रा शुरु गरियो । 

पैदल यात्राको सुगन्ध भनेकै दृश्यावलोकन हो । सुन्दर दृश्यहरुलाई मन, मस्तिष्क र क्यामेरामा समेत कैद गर्दै अगाडी बढ्यौं । ढकमक्क फुलेका गुराँसले राताम्मै भएको जंगलले मन आनन्दित मात्रै बनाएन, जन्मभूमि नुवाकोट जिल्लाको सामरी गाउँको समेत याद दिलायो । गुराँसको फुल टिपी शिरमा लगाउँदा मातृभुमि नै शिरमा बोकेको आभाष भएको थियो । 

करिब १०:३० बजे चिलखाया गाउँ प्रवेश गरियो । गाउँ पुग्ने बित्तिकै देखिएको सुन्दर फाँटले आँखाको नानी फुलाउँदै लगे । मिलेको बस्ती र तीनतर्फबाट हल्का भिरालो हुँदै एकातर्फ पानीढलो भएको उक्त भुगोल ठुलो स्टेडियमको प्याराफिट जस्तो देखियो । वास्तवमा कालीकोटको प्रकृतिलाई सुख्खा पहाड मात्र मान्नेहरुलाई यसले खिसी गरेको थियो ।

यात्राको उद्देश्यले आँखाको “फोकस” नै परिवर्तन गरिदिने रहेछ । सरसर्ती अवलोकन गर्नु र प्रकृतिलाई गहिरियर नियाल्नुमा निकै ठुलो भिन्नता रहेछ । पहिले पनि चिलखायामा पाइला टेकेको थिएँ । तर त्यतिबेलाको यात्रामा जिम्मेवारी मात्र थियो । प्रकृतिको विचरण थिएन । त्यसैले यसपटक मेरो दृष्टि फरक रह्यो ।

सुन्दर चिलखायाको दृश्यावलोकन पश्चात ठिन्के बजारमा राखिएको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुन पाउँदा खुशी लाग्यो । तिलागुफा न.पा. को ९ र १० नं. वडा कार्यालयले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा वडाबासीहरुको न्यानो स्वागतले मन प्रफुल्लित भयो ।

दिउँसोको तिन बजे अर्को गन्तव्यको लागि हिड्यौं । गन्तव्य रुडु गाउँ थियो । त्यहाँबाट यात्रामा अर्का एक सहयात्री थपिए, मुन बहादुर थापा । उनी वडाध्यक्ष समेत भएकाले उनीसँगको यात्रा हामीलाई थप जानकारीमूलक रह्यो । उनको साथबाट हामी थप खुशी भयौं ।   

मन फुरुङ्ग बनाउँदै उकालो लाग्दै गर्दा चौसिला चौर आसपासमा भेटिएका गुराँसहरुले सबैलाई बालापनमा फर्कायो । गुराँसको रुखमा पुग्न सकिने जति माथी जाने अनि गुराँससँग मितेरी लगाउँदै तस्विर खिच्ने क्रम एकछिनसम्म चलिरह्यो । 

प्रफुल्लित मनको उल्लासलाई निकास दिनु थियो । गीत बजाउँदै नाच्ने सल्लाह भयो । डेउडा गीत बजाएर जानी नजानी नाच्यौं । माहौल रङगिन बनाउँदै जङ्गलका बिच झल्याकझुलुक देखिने घाम र छायाँसँग लुकामारी गर्दै अगाडी बढ्दै रह्यौं । 

राताखालामा स्याउको व्यावसायिक खेती रहेछ । लटरम्म फुलेका स्याउका फुलहरुले मन पुलकित बनाउँदै गाउँतर्फ लाग्यौं । राताखालालाई फेरो लगाउँदै जाँदा काँध भन्ने स्थानमा एउटी बुढी आमाले घाँस भरिएको डोको बोकेर धागो कात्दै भेडा धपाउँदै आएको दृश्यले मन कुँडियो । आराम गर्ने उमेरमा समेत “मल्टिपल रेस्पोन्सिविलिटी” का साथ सकृय जीवन जिउने उनलाई सम्मान प्रकट गर्दै रुडु गाउँ झर्यौं । 

ठिन्केबाट हिंडेको करिब दुई घण्टा पछि मुन बहादुरजीको घरमा पुग्यौं । सरल स्वभावका धनी उनको आतिथ्यता आत्मिय रह्यो । भोलीपल्ट नयाँ गन्तव्यमा पुग्नु थियो । सो को योजना बनाउँदै नयाँ वर्षको पहिलो रातलाई उनकै घरमा बिसायौं । 

उत्साह र उमङ्गका साथ दोस्रो दिनको यात्रा शुरु भयो । विहानको सात बजे बन्चु पाटन तर्फ हिड्यौं । केहि मिनेटको यात्रा तय गरी पछाडी फर्किंदा रुडु गाउँको सुन्दर दृश्य देखियो । एकैनासका घरहरु र मिलेको वस्तीले आँखा तान्यो । सुन्दर गाउँको सुन्दर दृश्यलाई क्यामेरा कैद गर्दै पाइला लम्कायौं ।

बाटो फराकिलो र हल्का ओरालो थियो । भेडी गोठतर्फ जाँदै गरेका स्थानीय बासिन्दा पनि यात्रामा मिसिए । सजिलो बाटो भएकोले सहयात्रीहरुको खुट्टा बे-लगाम थियो । कहिले हामी अगाडी त कहिले स्थानीयहरु अगाडी हुन्थे । नजिक पर्दा उनीहरुसँग गफिंदै पनि थियौं । बन्चुलाग्नामा पुगेपछि बाटोको किनारामा पिरामिड आकारको ठुलो ढुङ्गा देखियो । 

ढुङ्गा सुन्दर त थियो नै पृथक पनि थियो । आजसम्म हामीले देखेका अन्य ढुङ्गाभन्दा फरक थियो । यसलाई देख्नेहरुले प्राकृतिकरुपमा बनेको भन्नेमा प्रश्न गर्ने गरेको समेत सुनियो । सबै कोणबाट यसलाई नियाल्दै धिमे गतिमा पाइला अगाडी बढायौं । 

केही पर डाँडा नै ढाकेर फुलेका “पिङ्क कलर” का गुराँसहरुले पुन: पाइला रोके । छ जना सहयात्रीको साथमा निस्किएको मलाई एकाएक एक्लोपनको महशुस भयो । विरलै भेटिने यस्ता गुराँसले जीवनसंगिनीको याद ताजा गरायो । उनको फूलमोह र त्यससँगै जोडिएको खुशीलाई अनुभुत गरें । यो यात्रामा मेरी उनी साथमा भएको भए उनको खुशी मैले के बाट मापन गर्थें होला भन्ने सोच्दै गर्दा आफैं टोलाउन पुगेछु । सहयात्री साथीहरु निकै पर पुगिसकेछन् । उनीहरुलाई भेट्ने कोशिष गर्दै पाइला लम्काएँ ।  

आँखालाई यताउता नचाउँदै तस्विर खिच्दै विस्तारै हिड्दै थियौं । करिब डेढ घण्टापछि हाम्रो पदमार्गले सिनौला भन्ने स्थानमा अर्को बाटोसँग भेट गरायो । कर्णाली राजमार्ग बन्नु भन्दा अगाडी दैलेखबाट जुम्ला जाने पैदल मार्ग रहेछ त्यो । 

केहि मिनेटको यात्रामा पाती हाल्नामा रहेको भेडीगोड पुगियो । ठूलो संख्यामा गोठमा रहेका भेडाहरु ग्वालाको पर्खाईमा थिए । उनीहरुको देखभाल गरिरहेका “भोटे कुकुरहरु” हामीसँग अपरिचित थिए । भेडिगोठ नजिक पुग्दा कानै दुख्ने गरी भुक्ने उनीहरुले हाम्रा पाइला केहि बेरका लागि नियन्त्रित गरे । 

भेडी चौरबाट बाह्रबाउसे हुँदै करिब बिस मिनेट अगाडी बढेपछि प्राकृतिक सुन्दरताको अर्को अनौठो दृश्य देखियो । वरिपरी बन्चु खोला, बिचमा एउटा सानो थुम्को । पाथीभरा पिरामीड नामको यस थुम्कोलाई बन्चु खोलाले एकसरो बेरेको देखियो । झट्ट हेर्दा नागले महादेवको घाँटी बेरे जस्तो । प्रकृतिको यो दृश्य अदभुत लाग्यो । रहर पुगुन्जेल हेरी यसलाई क्यामेरामा कैद गर्दै अगाडी बढ्यौं ।

पाथीभरा पिरामिड देखि केहि अगाडी बढेपछि पाटन क्षेत्र देखियो । चिमारीमा रहेको यस पाटन भेडा, घोडा र बाख्राहरुको चरन क्षेत्र रहेछ । पाटनमा हरियाली शुरु हुन थालिसकेको थियो । कतै कोपिला त कतै टुसाउँदै गरेका पंहेला फूलहरुले पर्यटकलाई निम्तो दिंदै थिए । जवानीका सबै रङ्गहरु भरी नसकेकाले होला ती फूलहरु बैंसालु भने देखिएका थिएनन् । 

पाटनक्षेत्र प्रवेश गरेको करिब आधा घण्टापछि दोभानमा पुग्यौं । तीनचाङ्गे खोला र कैलाश खोला मिसिएर बनेको बन्चु दोभान शान्त थियो । सयौं आत्माहरुलाई आफूमा समाहित गरेको बन्चु अब परिपक्व भइसकेको रहेछ । उसको उत्तेजनाको प्रभाव वरिपरिका जमिनमा समेत देखिएन । 

कैलाश खोलाको वारीपारी गर्ने काठको पुल रहेछ । बुट्टा कुंदिएका पोलहरु र बिचमा बडेमानको काठ तेर्स्याएर बनाएको पुल निकै कलात्मक रहेछ । एकछिन पुलमा आराम गरी बन्चु खोलाको जलले सिंचन गर्दै कैलाश महादेवको मन्दिर दर्शन गर्यौं ।  

खोल्सा खोल्सीमा भेटिएका मुलका पानीले प्यास मेटाउँदै हिंडेका हामीलाई दोभान पुग्दा भोक लागिसकेको थियो । साथमा मुन बहादुरजीले घरमा पकाएर पठाइदिनुभएको सुख्खा रोटी र खुर्सानीको अचार थियो । अनि केहि थान “ड्राई फुड” र “कोल्ड ड्रिङ्क्स” पनि । यिनै खानेकुराले भोक र प्यास मेटाउँदै एकछिन गफियौं ।

गन्तव्य त्रिवेणीसम्मको थियो । बुवाँसी, झांग्रा र कलदह खोलाको संगमबाट बनेको त्रिवेणी सुन्दर रहेको जानकारी थियो । नजिकैको पाटनबाट झरेको सुन्दर धारा “बासुधारा” ले यसको सौन्दर्य झनै बढाएको सुनेका थियौं । यार्यागुम्वा लगायतका जडिबुटीहरु पाउने फुलबारी पाटनमा पुगी अवलोकन गर्ने चाहना समेत थियो । 

दोभानबाट त्रिवेणीसम्म पुग्न करिब दुई घण्टा हिड्नुपर्थ्यो । समय घर्किसकेको थियो । सांझसम्ममा मान्म फर्किनुपर्ने बाध्यता थियो । त्रिवेणी पुगेमा त्यस दिन रुडुमै बास बस्नुपर्ने भएकोले यो यात्रालाई दोभानमै बिट मार्ने निर्णय गरियो । 

फर्किने क्रममा जडिबुटी टिप्न जाँदै गरेका आधा दर्जन महिलासँग बाटोमा भेट भयो । उनीहरुका अनुसार दोभानदेखि त्रिवेणीसम्मको भुभागमा गुची च्याउ, रातो च्याउ, समाया, सतुवा, अत्तिसी, पाँचऔंले लगायतका जडिबुटीहरु पाइने रहेछ । यी मध्ये गुची च्याउ विशेष रहेको जानकारी पायौं । स्थानीय मूल्य प्रति के.जी. १५/१६ हजारसम्म पर्ने यस च्याउको स्वाद लिने रहर हुँदा हुँदै पनि समय व्यवस्थापन गर्न सकिएन । डुब्नलागेको घाम हेर्दै मान्मतर्फ पाइला बढायौं ।

रुडुबाट मान्म आउने दुईवटा बाटा थिए । कामखेत हुँदै गाल्जे झरेर आउने या पुन: चिलखाया हुँदै भैंसीगौंडा झरेर आउने । मुनबहादुरजीले कामखेतको बाटो जान सुझाउनु भयो । साथ, सहयोग र जानकारीका लागि उनलाई ह्रदयदेखि नै धन्यवाद दिई कामखेततर्फको ओरालो बाटो झर्यौं ।  

रुडुबाट तल झरेपछि खारा राख्ने भन्ने स्थानमा पुगियो । बाटो जङ्गलको बिचमा पस्यो । झाडीले घेरिएको उक्त बाटोबाट मानिसहरु नियमित हिंडडुल गर्छन् र ? भन्ने आशंकाका बिच ओरालो झर्यौं । मुन बहादुरजीले बेला बेलामा फोन गर्दै हामी सही बाटोबाट हिंडे नहिंडेको एकिन गर्दै हुनुहुन्थ्यो । यो चासोले उनको सहयोगी भावना र हामीप्रतिको माया दर्शाएको थियो । 

बाटो सानो थियो अनि ठाउँ-ठाउँमा निकै कठिन गौंडाहरु थिए । रित्तो ज्यान समेत जसोतसो थाम्दै ओरालो झरेका हामीलाई भारी बोकेर उकालो चढेका स्थानीयले गिज्याए झैं लाग्यो । यात्रामा देखिएका र कल्पना गरिएका कुराहरुको बिस्कुन सुकाउँदै र उठाउँदै मान्मबाट शुरु भएको हाम्रो दुई दिने यात्रा मान्म मै आएर टुङ्गियो ।

बैशाख, २०८०

२०८० असार ६ गते साहित्य पोष्टमा प्रकाशित ।

Views: 192

यो रचना तपाईलाई कस्तो महसुस भयो ?

23

खुसी

0

दुःखी

1

अचम्मित

0

उत्साहित

0

आक्रोशित