info@jayrimal.com

98********

त्रुटि एक जरिवाना अनेक

त्रुटि एक जरिवाना अनेक

 

हामी युरोप यात्रामा थियौं । पाँचैजना नेपालबाट आएका । रुपियाँ कमाएर युरोमा खर्च गर्न सजिलो कहाँ थियो र ! त्यसैले कहिलेकाहिं हामी बीच मत ऐक्यता हुन गाह्रो हुन्थ्यो । तथापी केहिबेरको गलफती पश्चात हामी सामुहिक निर्णयमा पुग्थ्यौं । सायद, यही नै हाम्रो विशेषता हो ।

हाम्रो गन्तव्य थियो इटलीको प्रसिद्ध ऐतिहासिक शहर “भेनिस” । समुद्रमाथिको शहर पुगेका हामी सबै जना जल-सयर गर्न तयार भयौं । दिनैभरी जल-शयर गरी दृश्यावलोकन गर्ने अपेक्षा थियो । 

समय आफ्नै गतिमा दौडिरहेको थियो । हामीलाई सांझ भिसेन्जा फर्किनु थियो । विलम्ब नगरी टिकट लियौं । बिभिन्न मूल्यका टिकटहरु मध्ये प्रतिव्यक्ति ७.५ युरोको टिकट हाम्रो छनौटमा पर्यो । यसबाट हामी १ घण्टा १५ मिनेटको जलयात्रा तय गर्न सक्थ्यौं ।

प्राकृतिक र कृतिम सौन्दर्यको सम्मिश्रणबाट बनेको शहरको दृश्यपान गर्ने ध्यान केन्द्रित थियो । हामी हतारिएका थियौं । तुरुन्तै स्टेशनमा पुगेर मध्यम आकारको "फेरी" चढ्यौं ।

करिब पाँच मिनेटको जलयात्रा पुरा हुँदै थियो । तेस्रो स्टेशनमा फेरी रोकियो । “फर्मल” पहिरनमा सजिएका तीन जना महिलाहरु अभिवादन गर्दै फेरीमा चढे । सौन्दर्यमा सबै एक-से-एक थिए । फक्रिंदो जवानीले सबैको आँखा तानेको थियो । यसबाट हामी पनि अछुतो रहेनौं ।  समुद्र माथि थियौं । उनीहरुको सौन्दर्यताले किंवदन्तीहरुमा उल्लेखित जल-परीहरुको याद दिलाएको थियो । 

उदाउँदो सूर्य झैं फेरीमा प्रवेश गरेका सुन्दरीहरु ड्युटीकै सिलसिलामा आएका रहेछन् । आपसमा जिम्मेवारी बाँडफाँड गरे र तीन तिरबाट टिकट जाँच्न लागे । ती मध्ये हातमा सानो मेशिन बोकेकी एकजना हामीतर्फ बढिन् ।

फेरीको अग्रभागमा नै भएकोले शुरुमै हाम्रो टिकट चेक हुने भयो । अघि किनेको टिकट म संगै थियो । टिकटलाई हातमा दिंदै उनीतर्फ नजर दौडाएँ । मेशिनको पछाडीको भागमा टिकट टांसिन् । अनौठो आवाज आयो । उनको मुहारमा छाएको मुस्कान अचानक हरायो । निधार खुम्च्याउँदै सोधिन्, “हाउ मेनी आर यु?” 

अपेक्षा विपरितको प्रतिकृयाले म अवाक् भएँ । 

केही गडबडी भएको अनुमान त गरें तर के भयो भन्ने एकिन गर्न सकिन । सशंकित मुद्रामा जवाफ फर्काएँ, “वी आर फाईभ”। उनले अघिका दुईजना साथीहरुलाई पनि उनीतिरै बोलाइन । नेपाली अनुहार पछ्याउंदै उनीहरुले दुई स्थानमा बांडिएर बसेको हाम्रो सानो समूहलाई निगरानीमा राखेको अनुभुति भयो । साथमा रहेको क्यालकुलेटरमा हिसाब गर्दै भने, “यु ह्याभ टु पे थ्री हन्ड्रेड युरो एज फाईन”। हामी अक्क न बक्क भयौं ।

संगै बसेको मेरो साथी मिनेश (नाम परिवर्तन) ले सोध्यो, “हामीसँग टिकट छ त, किन जरिवाना तिर्ने?” हामीले आपसमा मुखामुख गरेपछि एउटीले मुख खोलिन्, “यु ह्याभ टिकेट्स बट यु डिन्ट एक्टिभेट योर टिकेट्स विफोर यु एन्टर फेरी । यु डिन्ट कम्प्लाई आवर रुल ।” 

हामी अलमलमा पर्यौं । यतिबेलै भेनिस जाने क्रममा टिकट लिइसकेपछि रेल्वे स्टेशनमा रहेको मेशिनमा टिकट एक्टिभेट गरेको कुरा याद आयो । अब के भन्ने के भयो ।

हामी पहिलोपटक भेनिस आएको र यस्तो नियमको बारेमा जानकारी नभएको हुनाले एकपटकको लागि माफ गरिदिन अनुरोध गर्यौं । नियममा अडिग रहेका उनीहरुले हाम्रो अनुरोध सुनेनन् । हाम्रो अनुरोध र उनीहरुको अस्वीकारोक्ति बिच एकछिन "डिस्कस्" चलि नै रह्यो ।

हाम्रा लागि तीन सय युरो कम थिएन । त्यो पनि सानो त्रुटी उपर यति ठुलो जरिवाना हाम्रो कल्पना भन्दा बाहिरको विषय भएकोले जरिवाना तिर्न हामी राजी भएनौं । हामीले त्यहाँको नियम थाहा नभएको र कसैले जानकारी समेत नदिएकोले माफ पाउनुपर्ने तथ्य स्थापित गर्न खोज्दै थियौं । उनीहरु भने हाम्रो टिकटमा, स्टेशनमा र फेरीमा समेत सूचना लेखी टाँसिएको हुँदा माफ पाउनुपर्ने कारण नभएको कुरा हामीलाई बताउँदै थिए ।

मेरो मानसपटलमा सिनेमामा देखाइने अदालती बहस घुम्न थाल्यो । न्यायाधीशको भूमिका खेल्ने व्यक्तिको आवश्यकता महशुस भयो । तर हाम्रा लगि यो असम्भवप्राय: थियो । तैपनि अनभिज्ञताको कारणले हुन गएको त्रुटीउपर प्रहरीले माफी दिनेछ भन्ने विश्वासले मिनेशले भन्यो, “वी वील पे द फाइन एट द नियरेष्ट पुलिस स्टेशन, सो प्लीज टेक अस देयर ।” हामी नै प्रहरी हौं भन्दै उनीहरुले प्रहरीको परिचय पत्र समेत देखाए ।  हठात्: मिनेशले आफू पनि प्रहरी (क्याराबिनरी) भएको परिचय पत्र देखायो र अनभिज्ञताको कारणले भएको त्रुटीमा जरिवाना नगराउन पुन: अनुरोध गर्यो । तर उनीहरुले जोसुकै भएपनि जरिवाना माफी नहुने भएकोले अब थप समय खर्च नगरी जरिवाना रकम तिर्न अनुरोध गरे । अब भने कुनै उपाय बांकी रहेन । नियम पालना नगरेको तथ्य स्वीकार्दै हामी जरिवाना तिर्न तयार भयौं ।

जब जरिवाना रकम तिर्न राजी भएपछि मात्र थाहा भयो कि एउटा सानो त्रुटीउपर किसिम किसिमको सजायँ भोग्नुपर्ने रहेछ । टिकट एक्टिभेट नगरी फेरी चढेकोमा उक्त टिकट जफत । प्रति व्यक्ति ६० युरो जरिवाना । टिकट एक्टिभेट नगरेको कारणले उक्त टिकट अमान्य भई बिना टिकट फेरीमा चढेको सरह फेरीको शु:ल्क ७.५ युरो । अनि अघिल्लो स्टेशनमा पुगेपछि फेरीबाट अर्लिनुपर्ने बाध्यता समेत सृजना भयो । कस्तो विडम्वना ! एक त्रुटी उपर अनेक सजायँ !

अज्ञानताबश भएको हाम्रो कार्य गलत मनसाययुक्त नभएकोले सजाय माफीको लागि बारम्बार अनुरोध गरे तापनि कानुनको अज्ञानता क्षम्य हुदैन भन्ने स्थापित सिद्दान्तमा अडिग इटालीयन प्रहरीले हाम्रो अनुरोधलाई अस्वीकार गरे । हामीले त्यहाँ टिकट एक्टिभेट नगर्दैमा न हामीलाई कुनै फाईदा भएको थियो न त कसैलाई हानी नै पुगेको थियो । केवल नियमको पालना नगरेको मात्र थियो । फलस्वरुप हामी जरिवाना तिर्न बाध्य भयौं । सायद टिकटको मूल्य भन्दा दशौं गुणा बढी जरिवाना भएकै कारणले होला, त्यसपछिका हरेक यात्रामा उपलब्ध सबै सूचनाहरु पढ्ने सचेतना हामीमा बढेर गयो । त्यहाँको प्रणाली र नियमको बारेमा पूर्ण जानकार नभएका हामी सूचना हेर्दे उपलब्ध नियमको जानकारी राख्न र पालना गर्नमा समेत अभ्यस्त हुँदै गयौं ।

जरिवाना तिर्ने क्रममा भएको गलफतीमा ती प्रहरीहरुको प्रस्तुति र व्यवहारले मलाई प्रभावित बनायो । हामी जति नै अस्थिर र आक्रोशित भएका थियौं त्यसको दशौं गुणा स्थिर र शान्त थिए तिनीहरु । निरन्तर प्राकृतिक मुस्कानका साथ हामीलाई ‘कन्भिन्स’ गरिरहे र आफ्नो आत्मविश्वासलाई कायम राख्दै हामीलाई नियमको पूर्ण पालना गर्न बाध्य बनाएका थिए । सभ्य र भद्र मिजासका साथ मुस्कुराउंदै आफ्नो पेशागत दायित्व निभाएका थिए । त्यतिबेला मलाई नेपाल प्रहरीको मुस्कान सहितको प्रहरी सेवाको याद आइरह्यो । हामीमा यस्तो आत्मविश्वास सहितको सेवा प्रवाह गर्नमा के कुरामा जोड दिनुपर्ला भन्ने जिज्ञासा समेत आइरह्यो । नियम मिच्न अग्रसर हुने हाम्रो प्रवृत्ति, दायित्व वहनको स्तर, नियम पालनाको विद्यमान अवस्था, न्यून जरिवानाको रकम, दण्ड सजायँको कारणले पैदा गर्ने डर र मुस्कान सहितको प्रहरी सेवाको तादाम्यता बारे गमिरहें ।

केहि दिनको युरोप बसाईमा अधिकांश नेपालीहरु र उनीहरुका सम्पर्कमा रहेका धेरै “एशियन सिटीजन” हरुको समेत साझा भोगाई रहेको जानकारी पाइयो । प्रणाली र पद्दतिमा चलेको देश र हामीबिचको फरक स्पष्ट छुट्टिएको थियो । यसले हाम्रो पद्धती र सचेतनाको स्तर समेतलाई उजागर गर्यो । मेरो जीवनमा अमिट छाप छोडेको यस घटना मेरो लागि जति नमिठो भयो यसबाट त्यो भन्दा कैयौं गुणा बढी सिक्ने मौका पाएँ ।

नियम उल्लंघन गर्नु सामान्य हो भन्ने ठान्ने हामीले दैनिक यस्ता धेरै घटनाहरुसँग साक्षात्कार गरिरहेका हुन्छौं ।   प्रतिनिधि घटनाको रुपमा ट्राफिक नियम उलंघनको घटनालाई नै तुलना गर्न सकिन्छ । हामी सडक प्रयोगकर्ताहरु ट्राफिक नियमको जानकारी कम राख्छौं । जानकारी भएका नियमहरुको समेत उल्लंघन गर्न अग्रसर हुन्छौं र केहि गरि पक्राउ परेमा सकेसम्म कसैबाट भनाएर जरिवाना माफ गराउन उद्दत हुन्छौं । यदि त्यसो हुन सकेन भने पनि न्यूनतम् जरिवानाका लागि बार्गेनिङ्ग गर्छौं । तर भविष्यमा पुन: त्यस्ता कार्य नगर्नेतर्फ ध्यान दिदैनौं । नियम उल्लंघन गरेकोमा आत्मग्लानी समेत हुँदैन । हामीमा न नियमको पूर्ण पालना गर्ने आदत छ न त जरिवानाको रकम नै ठुलो छ जसले हाम्रो चेत खुलाउँछ । वास्तवमा हामी प्रणाली र पद्दतीबाट निर्देशित हुनै चाँहदैनौं । 

भनिन्छ, अनुशासन कायम गर्नको लागि डर बाट शुरु भएर आदतमा परिणत हुनुपर्छ, ज्ञान मात्र पलाएर अनुशासन कायम हुदैन । हामीमा विकास भएको संस्कार हेर्दा कानुनी शासन लागू गर्न लागि नियम कानुन कडा बनाउनुपर्छ र यसलाई कडाईका साथ लागू गर्नुपर्छ । यसो भएमा मात्र नियम उल्लंघन गर्न खोज्नेलाई डर पैदा हुन्छ  र त्यही डरको कारणले नियम पालना गर्ने आदत बन्छ अनि असल संस्कार विकास हुन्छ । तबमात्र कानुनी शासनको प्रत्याभुति हुन्छ ।

सेतोपाटीमा मिति २०७२ चैत्र ६ गते प्रकाशित (https://www.setopati.com/blog/43543)

Views: 176

यो रचना तपाईलाई कस्तो महसुस भयो ?

0

खुसी

0

दुःखी

0

अचम्मित

0

उत्साहित

0

आक्रोशित