info@jayrimal.com

98********

मलाई जन्मिन देउ

मलाई जन्मिन देउ

 

“बा ! म आएँ हजुरसँग सुत्न ।” छोरो उठेर आउँछ र रमेशसँग टाँसिन खोज्छ ।

“साने” तिमी किन आएको ? डर लागेको हो ?” चिन्ता व्यक्त गर्दै रमेशले सोध्छ ।

ह्या (झर्किंदै), म “ठुले” हो के, साने होइन । सधैं “साने” लाई मात्रै सँगै सुताउनु हुन्छ । मलाई किन सँगै नसुताएको ? हजुरलाई मेरो माया लाग्दैन ? 

 “के भन्छ यो ! आफ्नो छोराको नि माया लाग्दैन त ? किन तिमीले यस्तो कुरा गरेको बाबु ?” रमेशले चिन्तित हुँदै सोध्छ ।

“भाई हजुरसँग टांसिएर सुतिरहेको हुन्छ । मलाई नि तपाईंसँगै सुत्न आउन मन लाग्छ । म हेरेर बसिराख्छु तर हजुरले कहिले पनि बोलाउनु हुन्न । हजुरले थाहा नपाउने गरी कहिलेकांही सुटुक्क आएर सुत्छु । आज चाहिं कसरी थाहा पाउनुभयो बा ?” 

बाबु छोराको यो वार्तालाप चलिरहँदा “ड्वाङ्ग” आवाज आउँछ । रमेश झस्किन्छ । केहि ठुलै सामान खसेको अनुभुत गर्छ र हतारिएर छोराको कोठामा गई हेर्छ । 

छोरोलाई बेडमा देख्दैन । उसको मन आत्तिन्छ । बत्ती बालेर नजर डुलाउँदा दुई वटा बेडको बिचमा छोरो खसेको देख्छ । हतारिंदै छोरोलाई उठाउँछ र बोकेर आफ्नै बेडमा ल्याएर सुताउँछ ।

बा’को काखमा लपेटिएर छोरो चाँडै निदाउँछ । रमेशलाई भने अघिको “ठुले” ले सुत्न दिदैन । 

जिज्ञासु ठूलेको प्रश्नले रमेशलाई सोचमग्न बनाउँछ ।

आफ्ना एक मात्र सन्तानको सत्यतामा प्रश्न चिन्ह खडा गर्ने “ठुले” ले उसलाई निकै सताउँछ । 

मनमा अनेकन ताना खेल्छन् । सानोमा बुबा आमाले सुनाएको भुतको कथा उसको स्मरणमा आउँछ । एकछिन सोचमग्न हुन्छ र अघिको घटना सपना हो भन्ने निर्क्यौलमा पुग्छ । 

त्यस सपनाले उसको निद्रालाई कोसौं टाढा भगाइसकेको हुन्छ । तर उ जबरजस्ती निदाउने कोशिष गर्छ । निकै बेरको प्रयासपछि झकाउनै लाग्दा भासिएको स्वरमा आएको आवाजले उ पुन: झस्किन्छ । 

“को पापी ? मैले के गरें तिम्लाई ?” श्रीमतीको यो आवाजले उसलाई बेचैनी बढाउँछ । 

उनलाई झक्झक्याउँदै सोध्छ, “रीता, के भयो ? किन बरबराएको ? ” 

“सपनामा एउटा बाबु आएर मलाई निकै सतायो । “मलाई किन हजुरसँग नसुताएको ? किन माया नगरेको ? म ठुले हो । मलाई पनि जन्मिन मन थियो तर जन्मिनै दिनु भएन । चार महिना नपुग्दै मारिदिनु भयो । तपाईंहरु  पापी हो” भन्यो । मेरो त आङ्ग नै जिरिङ्ग भयो ।” श्रीमतीले आंखा मिच्दै भनिन् ।

सपनाको कुरामा चिन्ता नलिई सुत्न अनुरोध गर्यो । तर सपनाले उसको समेत निद्रा भगाएकोबारे केहि संकेत गरेन । 

दुबै जना बेडमा पल्टिए । अनपेक्षित सपनाले बेचैन रीता “साने” लाई अङ्गालोमा कसेर सुतिन् । र एकैछिनमा निदाइन् । किन आज दुबै जनाले समान प्रकृतिको सपना देखियो भनि सोचमग्न भयो । बिपनामा टोलाउँदै दुवै सपनाको समानता खोज्न लाग्यो । अनि क्यामेराको रिल घुमाए झैं आफ्नो विगतलाई उल्टो दिशामा घुमाउन थाल्यो ।

“ठुले” को आवाज रमेशको कानमा प्रतिध्वनित हुँदै गयो । यससँगै सपनाको पुन:स्मरण हुन थाल्यो ।  फलत: लाख कोशिष गर्दा पनि निदाउन सकेन । 

उ एउटा विद्यालयमा पढाउँथ्यो । यसैक्रममा रीतासँग उसको चिनजान भएको थियो । एक अर्कालाई मनपराए पनि परिवारको असहमतिका कारण भागी विवाह गरेका थिए । विवाह गर्दा रमेश २२ वर्षको थियो भने रीता १७ वर्ष । 

३/४ वर्ष बच्चा नजन्माउने सल्लाह गरेका थिए उनीहरुले । 

पहिलो कारण रीताको उमेर थियो भने दोस्रो कारण उनीहरुको कमजोर आर्थिक अवस्था । 

पारीवारिक सहयोग प्राप्त हुने अवस्था थिएन । रमेशको तलब र ट्युशन पढाएर कमाएको पैसाले कोठा भाडा तिर्न र दुई जनालाई खान धौ-धौ हुन्थ्यो । जीवन धान्नै कठिन थियो । 

समय योजनामा चलेन । चाहना बिपरित गर्भ रह्यो । दुबै दु:खी त भए तर वच्चा भने जन्माउने निधो गरे ।

समय वित्दै गयो । दुबै उत्साहित हुन थाले । यस्तो लाग्थ्यो कि सन्तानको मायाले दुबैको मनमा खुशी सञ्चारित भयो । अनि मायाको बन्धन अझै कसिंदै गयो ।

बाबु बन्ने कुराले रमेशलाई थप जिम्मेवार समेत बनायो । पारीवारिक व्यवस्थापनको योजनामा लागे ।   

भावी सन्तानलाई सम्झेर सपना बुन्न शुरु गरेका थिए । हुनेवाला सन्तानको नाम समेत राखिसकेका थिए । छोरा भए “अपिल” अनि  छोरी भए “रीया” । 

आमालाई छोरी हुनुमा जति गर्व थियो, बाबुलाई पनि छोरा हुनुमा उत्तिकै । दुबैलाई “आफू” मा पूर्ण सन्तुष्टि थियो । त्यसैले हुनेवाला सन्तान बाबुले छोरा अनि आमाले छोरी नै चाहेका थिए । यसर्थ “अपिल” बाबुको रोजाई थियो भने “रीया” आमाको ।

समय राम्रैसँग बित्दै थियो । अकस्मात रीताको सोचाईमा परिवर्तन आयो । उनी वच्चा नजन्माउने निर्णयमा पुगिन् । र एभोर्सनको लागि रमेशलाई मनाउन लागिन् ।

समय निकै घर्किसकेको थियो । उनको गर्भमा आएको वच्चा ४ महिना पुगिसकेको थियो । रीताको निर्णयले रमेश दु:खी भयो । श्रीमतीको स्वास्थ्यको चिन्ताले समेत उसलाई पिरोल्न थाल्यो । केहि दिन छलफल चल्यो । यही विषयलाई लिएर उनीहरुबिच मनमुटाव पनि भयो । रमेशले सहमति दिएन तर रीताले आफ्नो हठ छाडिनन् । उनले एभोर्सन गरेरै छाडिन् । त्यो पनि असुरक्षित तवरले !

रीताको निर्णयले रमेश निकै लामो समयसम्म बिक्षिप्त भयो । रीताप्रतिको माया अनि सम्बन्धको खातिर जबरजस्त “कम्प्रमाइज” गर्यो । असहमतिका बाबजुद उनको निर्णयमा साथ दिन विवश भयो । 

धन्य, भगवानको कृपा भयो । रीताको स्वास्थ्यमा प्रतिकुल प्रभाव परेन । 

समयक्रममा यस घटना विस्तारै ओझेल पर्दै गयो । उनीहरुको जीवन सामान्य रुपमा चल्दै थियो । तर करिब १५ बर्षपछि भने उनीहरुलाई त्यस घटना “न्याउरी मारी पछुतो” भयो । 

विगतलाई सम्झेर अल्झिनु भन्दा भविष्यमा खुशी हुने अरु नै उपाय खोज्नु बुद्धिमानी ठानेकोले रमेशले आजसम्म कुनै दिन त्यस निर्णयको बिपक्षमा श्रीमतीसँग बिबाद गर्न चाहेको थिएन । त्यसो त उनले पनि त्यो बेलाको जिद्दीले अहिले पश्चाताप भएको उसलाई सुनाउन सकेकी छैनन् । तर दुबै जना यस मानेमा एकाकार छन् कि दुबैलाई आत्मग्लानी भएको छ । तर आपसमा “सेयर” गर्न भने दुबैले सकिरहेका छैनन् । 

हालको सन्तानमा देखिएको “न्यूरो डेभलपमेन्ट डिसअर्डर (अटिजम)” ले उनीहरु चिन्तित थिए । दोस्रो सन्तान जन्माउने चाहना ७ वर्षदेखि अधुरै रहेको थियो । आजको सपनाले बिगतलाई पुन:स्मृतिमा ल्याएको थियो । उनीहरु थप मर्माहत भए ।  

अर्कोतर्फ कोल्टो फेर्दै रमेश खुइय: गर्छ । बिगतको सम्झना, आफ्नो चाहना र वर्तमान बेचैनीले तड्पिएको उसको मनमा आएका तरंगले उसलाई लाख कोशिष गर्दा पनि निदाउन दिएको छैन । 

निदाओस् पो कसरी ? जीवनका सप्तरङ्गी चाहनाहरु सबै रङ्गहिन हुँदैछन् । अनायसै सुक्दै, झर्दै, खुइलिंदै अनि उजाडिंदै गएको छ । फगत एक झिक्रा (अस्थिपञ्जर) मात्र बांकी छ । 

निराश हुँदै कोल्टो फेर्छ । उत्साह र उमङ्ग बिनाको शिथिल शरिरसँगै मन पनि सेलाउँछ । आँखाहरु लोलाउन थाल्छन् , विस्तारै झकाउँछ ।

नेपथ्यमा चर्को आवाज आउँछ । “ मलाई नमार । म जन्मिन चाहन्छु । मलाई जन्मिन देउ ! ”

हतासिंदै साथमा सुतेको छोरालाई अंगाल्दै बोल्छ, “बाबु अपिल ! के भयो तिम्लाई ?”

छोरो मस्त निद्रामा हुन्छ । केहि प्रतिक्रिया जनाउँदैन । 

रमेशलाई पुन: सपना देखेको आभाष हुन्छ । ब्याकुल मन सम्हाल्दै श्रीमतीलाई धारे हात लगाउँछ । यो सब उनकै कारण भएको भनि मनमनै गाली गर्छ । 

एकछिन गम्दै यो सबको कारक आफैं ठानी आफैंलाई धिकार्छ । असुरक्षित गर्भाधारणमा आफूलाई अनि भ्रुण हत्यामा श्रीमतीलाई दोषी ठान्छ । आफ्नो असावधानीका कारण यो परिस्थिति सृजना भएकोमा आत्मग्लानी गर्दै अबको आफ्नो बांकी जीवन प्रजनन स्वास्थ्य र भ्रुण संरक्षणमा लगाउने प्रण गर्छ ।

 

टोखा, काठमाण्डौं (२०७९ साउन)

२०७९ पुस ५ गते साहित्यपोष्टमा प्रकाशित (https://sahityapost.com/aakhyan/story-aakhyan/91872/) ।

Views: 475

यो रचना तपाईलाई कस्तो महसुस भयो ?

1

खुसी

0

दुःखी

0

अचम्मित

0

उत्साहित

0

आक्रोशित