home कथा नियात्रा कविता मनोबाद सत्य कथा लघु कथा फोटो संग्रह सम्पर्क गर्नुहोस् लेखकको बारेमा
कविता

विगुल जिन्दगी

Jay Rimal Feb 02, 2026   •   765 Views
AI वाचक (नेपाली) समाचार सुन्न यहाँ क्लिक गर्नुहोस्

धेरै अघि हो,
मैले पहिलोपल्ट विगुलको आवाज सुनेको ।
त्यस दिन म निकै तरंगित भएको थिएँ,
सायद त्यो आवाज मेरै छातीभित्रबाट उठिरहेको थियो ।

त्यो रिवालीको हुंकार थियो,
त्यसपछि आजसम्म लाखौँ पाइला चालिए होलान्, 
तीमध्ये सबैभन्दा गह्रौँ पाइला त्यही थियो,
जहाँ आमाको आँखामा बहिरहेका आँसुको उपेक्षा गर्दै
कठोर तपस्यातर्फ
पहिलोपटक पाइला सारेको थिएँ ।

त्यसपछि मैले धेरैपटक विगुल सुनें

उठाउने, सुताउने, रुवाउने र हसाउने ।
तर सबैको ध्वनि एउटै थियो, 

सन्देश भने अनेक ।

तालिमका बिहानी, पसिनाले लेखिन्थे,

दिनहरू ज्ञानका किताबले ।

अनुशासन, संस्कार र फौजी लवजले
जीवनको रंग बिस्तारै बदलिँदै गयो ।

जब म वर्दी लगाउँथेँ,
मलाई केवल कपडा फेरेको अनुभूति हुँदैनथ्यो ।
घरको आँगन, आमाको काख,
परिवारको सहजता र प्रियसीको साथ,
सबैलाई एक कुनामा थन्क्याउँदै
कर्तव्यमा कठोर
र सेवामा दृढ बन्दै गएको अनुभूति हुन्थ्यो ।

फगत एउटा अपेक्षा थियो;
एक थान ज्यान
नागरिक सेवामा समर्पित गर्ने ! 

त्यो निर्णय केवल पदको थिएन,
नागरिक सुरक्षाका लागि बलिदान
र सेवाको उत्कट अभिलाषाले भरिएको

एक सफेद आत्माको चाहना थियो । 

यसैलाई कर्तव्य ठानी बोक्दै हिँडेँ,
पल, घण्टा, दिन, महिना र वर्ष गर्दै । 

एउटै दैनिकी पछ्याउँदै गर्दा
करिब दुई दशक बिते । 

चाहना आज पनि उस्तै छ,
सेवा निरन्तर छ, दैनिकी व्यस्त छ ।
फरक यत्ति हो;
त्यसबेलाको व्यस्तता अभ्यासमा केन्द्रित थियो,
आजको व्यस्तता त्यागमा समर्पित छ ।

सेवाका वर्षहरू थपिँदै जाँदा
शरीरमा धेरै परिवर्तन आए,
तर नागरिक सेवाप्रतिको लगावमा
कहिल्यै कमी आएन ।

न्याय नपाएका आँखाहरू अगाडि आउँदा
एक्लोपनले दिशा बदल्थ्यो,
तिनका खुशी र सन्तुष्टिमा रमाउँदा
पत्तै नपाई
थकानले कोसौँ पार गरिसकेको हुन्थ्यो । 

न्याय खोज्दै आएका निःसहायका ओठ मुस्कानले भरिँदा,
अनि आँखा सन्तुष्टिले चम्किँदा,
मनमनै धन्यवाद दिएको अनुभूत हुन्थ्यो ।

सायद सेवाको गर्व यही हो; 

जो अरू कसैले
कहिल्यै पाउँदैन ।

हो, त्यही क्षण मन पुलकित हुन्छ,
र विगतका सबै त्याग
मूल्यवान् लाग्छन् ।

रिट्रीटको धुनमा अस्ताउने सूर्यजस्तै
मेरो जीवनमा पनि
धेरैपटक मौनता अस्तायो ।

आखिर कसैको उज्यालो जोगाउन
अर्कोको साँझ त, गुम्नु नै पर्ने रहेछ । 

आज पनि विगुलले 

अमरत्वका कथा मात्र सुनाइरहँदा
मेरो मनले प्रश्न गर्छ;
के हामीले सधैं वीरताको गाथा मात्र सुन्ने हो ?

ती सपूत जन्माउने अभिभावकको
त्याग र पीडा कसले सुनाउने?
उसकै बलिदानले
बैंशमै विधवा बनेकी श्रीमतीको
बाँकी जीवनको कथा कहिले सुनाउने ?

अनि नाबालकमै बाबु-आमा गुमाएका
सन्तानका मौन दुःखहरू, 

कसले, कहिले बुझिदिने ?

सायद ती सपूतहरूको
पुनर्जन्म हुने हो भने,
र फेरि पनि यसैगरी विगुल बज्ने हो भने,
उनीहरू जुरुक्क उठ्ने थिए,
जसरी उनीहरू ढले ।

तर यसपटक,
उनीहरूले विगुल समाएर
वीरताको होइन,
आफ्ना परिवारका पीडा र व्यथा सुनाउने थिए, 

जो आजसम्म अरू कसैले
कहिल्यै सुनेका छैनन्, सुनाएका छैनन् ।

तपाईलाई यो रचना कस्तो लाग्यो?

😍 20 उत्कृष्ट
🤩 0 रोचक
😢 0 दुखद
प्रतिक्रिया दिनुहोस्