home कथा नियात्रा कविता मनोबाद सत्य कथा लघु कथा फोटो संग्रह सम्पर्क गर्नुहोस् लेखकको बारेमा
कविता

बदलिएको ऊ !

Jay Rimal May 20, 2026   •   20 Views
AI वाचक (नेपाली) समाचार सुन्न यहाँ क्लिक गर्नुहोस्

हाकिमी स्वरको अभिनयमा दिक्क मानेको उसले
‘टक्सिक इन्भायरमेन्ट’ बाट मुक्ति पाउन
बाटो अन्तै मोडेको छ ।
केही समयको लागि नै सही
साविक जिम्मेवारीमा अल्पविराम लगाएको छ ।

बदलिएको कथाको परिदृश्य पुनः फेरिँदा
ऊ कठिन शब्दजालमा हराउँदै जान्छ
आफ्नो स्वभाव र चरित्र विपरीत
विचार र प्रश्नहरूको भरिया बन्दै जान्छ ।

उसलाई थाहा छ ऊ गहिराइमा जान सकेको छैन
जाओस् पो कसरी !
ज्ञानको समुद्र नाप्ने सामर्थ्य पनि त हुनुपर्‍यो नि !
तर पनि ऊ ज्ञानको भोको छ,
सिक्ने प्रयासमा ऊ उत्ति नै इमानदार छ
जति ऊ पहिले थियो ।

तर अपेक्षा र यथार्थ एकाकार हुन सकेका छैनन्
त्यसैले ऊ बेचैन मात्रै होइन, चिन्तित समेत छ ।
समयको गतिमा समाहित हुन नसक्दा
कतै समयरूपी रेलले निकै पछाडि छाड्ने त होइन ?
ऊ आफैँलाई प्रश्न गर्दै छ ।

उतारचढावले भरिएको जीवनमा
कहिले यात्राले कर्तव्य लिएर आएको छ त
कहिले कर्तव्यले यात्रा तय गरेको छ ।
सायद यसैका कारण होला
मनमा तर्कना खेल्नुलाई उसले सामान्य नै ठान्छ ।

उमेर, सेवा र पदीय योगदानको विरासतलाई
फगत एक लेखोटले छोप्दा
अनि अपेक्षा र चाहनाका शालीन प्रस्तुतिलाई
‘एक फिस्टे’ ले हमला गर्दा
ऊ आफ्ना तार्किक आवाज दबाउन चाहँदैन ।

त्यसैले समर्पणको भारलाई यथावत् काँधमा बोकी
लेखोटको मर्यादालाई केही बेरको लागि बिसाई
आत्मसम्मानका खातिर
स्वच्छन्दताको पाइला अघि बढाउँछ ।

साहित्यपोष्टमा मिति २०८३ बैशाख २४ गते प्रकाशित ।

https://sahityapost.com/kabyapost/kabya-poetry/190070/

तपाईलाई यो रचना कस्तो लाग्यो?

😍 0 उत्कृष्ट
🤩 0 रोचक
😢 0 दुखद
प्रतिक्रिया दिनुहोस्