info@jayrimal.com

98********

पुतलीको पिडा, तीलाको आक्रोश

पुतलीको पिडा, तीलाको आक्रोश

 

कोइली झैं सुसेल्दै,

निस्फिक्री गाउने तिलाको आवाजलाई

भिमकाय चट्टानले च्याप्दै गर्दा

एकल स्वरमा गाउने उनको चाहनालाई

परिस्थितिले रिमिक्स गर्दै थियो ।

 

छ्वाप्ल्याङ्ग ! 

अनायसै एउटा वस्तु खस्यो तीलामा,

अनिच्छित संगितमा अर्को कर्ड थपियो,

तीला असमञ्जसमा परिन्,

रिसाउँदै एउटा भुमरी सृजना गरिन् र

उक्त वस्तुलाई निमेशभरमै दबाइदिइन् ।

 

उनमा बेचैनी बढ्यो,

आक्रोशित हुँदै चिच्याउन लागिन्, 

“मलाई एकछिन पनि आराम दिंदैनौ ?

झम्के सांझमा आरती जगाउन त देउ !”

 

उनी यत्तिमा रोकिइन्,

“मेरो इतिहास बिगार्ने तिमीहरु नै हौ,

आफ्नो अस्तित्व जोगाउन नसक्ने अनि 

बारबार मलाई पापको भारी बोकाउने ? ”

 

(आँ⁓माँ ) नेपथ्यमा बालिका च्यांठ्ठिएको आवाज गुञ्जियो,

तीलाले उक्त आवाजलाई पछ्याउन लागिन्,  

उनको साथमा अर्की सानी नानी, दुई बाबु र 

कुप्री परेकी बुढी आमा समेत देखा परिन् ।

लम्बेतान शरिरको एक छेउ उचाल्दै तीला फेरी कराउन लागिन्, 

“हे पुतली ! मलाई थाहा छ, 

तिम्रो गोठभरी भोका पशु छन्,

आमा आई माम पकाई खुवाउने आशामा 

रुल्लटुल्ल हुँदै तिम्रा लालाबाला दैलो चियाउँदै बसेका छन्,

अनि तिम्रा मुहार फेर्न मुगलान पसेका तिम्रा मालिक 

घर फर्कि आउने बाटो हेर्दै दशैं पर्खिरहेका छन् ।

 

तिमी कति बेहोसी भएकी ?

तिम्रो घाँसको भारी तिमी हिड्ने बाटोमा अटाउँदैन भन्ने पनि हेक्का राखिनौ है !

म वर्षाको खहरे जस्तो अकल्पित छैन,

मेरो संगित त्यति सुमधुर छैन जसमा बहकिंदै तिमीले बाटो बिराउन सक्छौ ।

तिमिले बिर्सिसक्यौ है ?

केहि दिन मात्रै अगाडी होइन र तिम्री बहिनीले मलाई अंगालोमा कस्दा तिमी रोएकी ?

 

बिन्ती छ, अब कोहि पनि मेरो नजिक नआउ,

मेरो आँखा अगाडी देखा नपर,
मेरो श्वासले भेट्ने अनि मेरो संगीतले छुने दूरीभन्दा परै बस,
अब मैले तिमीहरुको यो स्थिति बनाउनेलाई लैजानु छ,
तिम्राजस्तै सयौंका सन्तानको भविष्य बिगार्नेलाई बगाउनु छ ।”

 

आक्रोस मिसाएको भावमा एकछिन फतफताउँदै  

ठुलो भ्यागुता निल्दा अल्तलिएको सर्पले झैं 

वेचैन मुद्रामा पुतलीलाई आफुमा समाहित गर्दै मन्द गतिमा बगिरहिन् ,

विचरा पुतली भने क्षणभरमै आफुलाई निष्प्राण तुल्याई उनै तीलामा बिलाइन,

सदाको लागि, अब कहिल्यै नफर्किने गरी ।

(खुईय: ...)

 

कालीकोट, २०७९ भाद्र ।

२०७९ भदौ १३ गते सेतोपाटीमा प्रकाशित (https://www.setopati.com/literature/280887) ।

Views: 143

यो रचना तपाईलाई कस्तो महसुस भयो ?

5

खुसी

1

दुःखी

0

अचम्मित

0

उत्साहित

0

आक्रोशित