info@jayrimal.com

98********

पुनर्जन्मको आभाष

पुनर्जन्मको आभाष

 

बोंझु आ तु ल मोन्द ! कम: ता ले भु ?" 

सबैलाई अभिवादन गर्दै फ्रेन्च भाषाकी शिक्षिका कक्षामा प्रवेश गरिन् । साथीहरुले फ्रेन्चमा म्या’म सँग कुरा गर्दा अजय भने ट्वाल्ल परेर हेरिरह्यो । उसले केही बुझेन । किताबको पाना केलाउँदै बसिरह्यो ।

यसैविच कोठाको ढोका खुल्यो । र हावाको झोकासँगै पृष्ठभूमिमा एउटा आवाज गुन्जियो ।

"प्युई जँ थ्रें मादाम?" कक्षामा प्रवेश गर्ने अनुमति माग्दै एउटी केटी भित्र आईन् । र वाँयातर्फको पहिलो बेन्चमा बसिन् ।

अजयलाई उनको आवाज परिचित लाग्यो । उसका आँखाहरु उनैतिर सोझिए । रक्तसञ्चार बढ्न थाल्यो । आँखाका नानीहरु फुल्न लागे । दुम्सीका काँडा झैं देखिएका कपालका मोटा रौंहरु तन्किए झैं देखियो । लामो दाह्रीले अनुहारको मांशपेशीको लयमा चाल दिन थाले । प्यासी नयनले उनका हरेक अंगहरु चुम्न थाले । उठेर उनीतर्फ जाने बाटो हेरे झैं लाग्यो ।

हठात् उ सतर्क भयो । भिन्न परिस्थितिले सृजित मन्द उत्तेजक गतिविधि काबुमा ल्याउन भरमग्दुर प्रयास गर्यो । पुन:आफैंलाई सम्हालेर कल्पनाको दुनियांमा रमाउन थाल्यो । मानौं, कल्पना नै उसको प्यास मेटाउने वस्तु हो ।

उसलाई नियाल्दा यस्तो लाग्थ्यो, उ उनलाई अँगालोमा कस्न हतार छ । यसको लागि उसले कुनै मौका छाड्ने छैन ।

अरु सहपाठी भन्दा करिब १५ वर्ष जेठो भएकोले सामान्यतया उसका गतिविधि “वाच” मै हुन्थे । फेरि कहिलेकांहि मात्रै कलेज जाने भएकोले पनि "नोटिस" मै हुन्थ्यो । त्यसमाथि उसको आजको यो बेचैनी अप्रत्यासित थियो । सहपाठीहरुको विचमा छुप्न सकेन । नजिकै बसेको सहपाठी श्यामले सोधीहाल्यो, "दाई, के भयो? तपाईं  त एकाएक गम्भिर हुनुभयो त !"

अजय झस्कियो । श्यामले थाहा पाएको अनुभुत गर्यो । लजाउँदै भन्यो, "केहि होइन श्याम ! बस्, पुराना दिनको याद आयो ।" यति भनिसकेर पुन: कल्पनामै रमाउन थाल्यो । 

बढो रंगिन थिए ती दिनहरु । छुट्टै आकर्षण थियो जीवनको । जिउनुको मजा नै बेग्लै थियो । छोटो समयको मिलन अनि सहयात्रामा जुगौं जुग सँगै बिताएका प्रेमी जोडीका झैं कहानीहरु लुकेका थिए उनीहरुबिच । उसलाई विश्वास थियो, उनीहरुको प्रेमिल कथा सार्वजनिक भएमा प्रेमका सबै पुराना कथाभन्दा बढी चर्चा पाउँथ्यो । 

तर वर्षौंसम्म एउटा अंध्यारो पोखरीको पिंध झैं भएका थिए ती प्रेमका कहानीहरु । कहिल्यै सफा नहुने फोहोरको थुप्रो झैं । निरन्तर थपिँदै, थिचिंदै अनि छोपिंदै गरेका ।

तर आज उसका विस्मृतिका यादहरु एकाएक ताजा हुंदै छन् । पोखरी संग्लिई पिंधका ढुङ्गाहरु देखिए झैं सबै उजागर हुँदै छन् । तंछाड मछाड गर्दै आएका यादका बाढीले घरी असिम आनन्द त घरी बेचैनी सृजना गर्दै छन् ।  

मध्यम उचाई । मिलेको सुन्दर शरिर । हंसिलो मुहार अनि मृगनयनी आँखा । थोरै लजालु अनि धेरै मायालु । उनको व्यक्तित्वबाट निकै प्रभावित थियो अजय । सम्बन्ध निभाउन जानेकी अनि सबै गुणले भरिपूर्ण थिइन् उनी । 

एक अर्कामा निकै समर्पित थिए दुबै जना । जीवनमा धेरै सपना बुनेका उनीहरुका भविष्यका धेरै योजना थिए । तर पापी दैवले उनीहरुको खुशी धेरै समयसम्म टिक्ट दिएन । एकाएक उनीहरुको जीवनमा बज्रपात भयो । सबै सपनाहरु अधुरा रहे । विस्मृतिमा गए, कहिले पुरा नहुने गरी । 

अजयले उनको साथ कहिल्यै नपाउने भएको थियो । अब उनलाई भुल्नुको बिकल्प थिएन उसँग । तर  जति भुल्न कोशिष गर्यो त्यति उनी याद आउँथिन् । लामो समयसम्म कोशिष गर्दा पनि उसले सकेको थिएन । गसको छायाँ झैं साथमा आइरहन्थिन् उनी ।

वर्षौंसम्म लक्ष्यहीन यात्रमा हिंडेको यात्री बनेको थियो अजय । घरी के गर्ने घरी के गर्ने गर्थ्यो । उकुसमुकुसका बिच समय विताउन फ्रेन्च भाषामा भर्ना गरेको थियो । कक्षाकोठाको पहिलो बेन्चमा बसेर पढ्ने बानी उनको वियोगसंगै हराएको थियो । पहिले पढाईमा अब्बल उसमा अहिले सजिवता देखिएको छैन । होस् पो कसरी उ स्वयं नै निर्जीव प्राय: छ । त्यसैले कक्षाकोठामा नियमित पनि थिएन । 

निकैपछि ज्योतीलाई भेटेकोमा उ पुलकित भयो । उनकै उपस्थितिमा बिगतका रंगिन दिनहरुमा छुटेका रंगहरुको काल्पनिक संयोजन गर्दै रह्यो । पुराना यादहरुको स्मृतिमा रमाइरह्यो ।

"ओ रभ्वाख:, आ दमा ।" उनी बाहिर निस्किइन् । उनको आवाज उसको कानमा गुञ्‍जियो अनि प्रतिध्वनित हुंदै बिलिन भयो । तर उसका प्यासी आँखाले भने उनलाई पछ्याइरहे । 

उनलाई देखेदेखि नै कल्पनाको सागरमा डुबेको उसले एक घण्टा बितेको पत्तो नै पाएन । सायद उनीसँग बोल्दा र केहि समय उनी सँगै विताउँदा उसको व्याकुल मन तृप्त हुन्छ भन्ने हेक्का समेत भएन उसलाई ।  

उनका तिलस्मी ओंठहरुमा छाएको मुस्कानले आफुलाई सिंचित गर्दै भोलिपल्ट पुन: कक्षाकोठामा भेट्ने अभिलाशाका साथ उ घर फर्कियो । 

अरुबेला क्याम्पस जान अल्छि गर्ने उ भोलिपल्ट समय अगाडी नै पुग्यो । २१ वर्ष अगाडिको स्कुले जीवनको स्मरण ताजा गरायो । कक्षाकोठामा छिर्ने बित्तिकै सबैभन्दा पहिले आफैंले देख्ने अभिलाषाका साथ पहिलो बेन्चको पहिलो सिटमा बस्यो । अनि वर्षौं देखिको प्यासी नयन ढोकामा अड्याउँदै एक तमासले हेरिरह्यो । 

पालैपालो आउने सहपाठीहरुलाई नियाल्दै गयो । तर उसको आँखा निमेशभर ढोकाबाट यताउता गरेनन् । समय भइसकेको थियो । उनको आगमन प्रतिक्षामा रहेको उसमा बेचैनी बढ्दै गयो । करिब सबैजसो साथीहरु आइसकेका थिए । शिक्षिका पनि आइन् । पढाई शुरु हुन लाग्यो । तर उनी आइनन् । 

उसले पढाईमा ध्यान केन्द्रित गर्न सकेन । उनलाई देख्न लालायित आँखाहरु शिक्षिकामा केन्द्रित हुन सकेनन् । केवल उनको आगमनको पर्खाइमा ढोकामा अडिरहे ।

करिब १० मिनेट पछि कोठाको ढोका खुल्यो । उनलाई देख्न व्यग्र उसका आँखा चनाखा भए । तर ढोकामा उनी नभएर सबिन थियो । अजय थप निराश भयो । 

सबिनले ढोकामा ठिङ्ग उभिएर म्यामतर्फ फर्किंदै भन्यो, "म्या'म सरी टु से । ज्योति इज नो मोर ! एक घण्टा अगाडी गल्कोपाखामा भएको सवारी दुर्घटनामा उनको मृत्यु भयो ।”

ज्योतिको अकल्पित मृत्युको खबरले सबै स्तब्ध भए । कोठामा सन्नाटा छायो । 

असाध्यै मिलनसार र सहयोगी थिईन् ज्योती । पढाईमा पनि अब्बल थिइन् ।  सबैसँग समान व्यवहार गर्ने उनले कहिल्यै कसैको चित्त दुखाएकी थिइनन् । 

अजयको मनमा चिसो पस्यो । कतै हिजोको केटीको बारेमा त कुरा भइरहेको छैन ? डराई डराई श्यामलाई सोध्यो, “सबिनले कसको कुरा गरेको ?"

"हाम्रै साथी ज्योतिको के! तपाईंले त चिन्नुभाको छैन होला । क्लासमा रेगुलर आउने भए पो चिन्नुहुन्थ्यो !" पढाईप्रतिको उसको बेवास्तामा व्यङ्ग कस्दै श्यामले भन्यो । अजय अवाक भयो ।

श्यामले थप्यो, " उनी एक टुहुरी केटी हुन् । मामाघरमा हुर्के बढेकी र त्यही बसेर हाईस्कुलसम्म पढेकी । धेरै पढेर ठुलो मान्छे बन्ने अनि देशको लागि केहि गर्ने चाहना थियो उनको । अहिले भर्खर १९ वर्षकी भइन् ।”

अजयको गला अबरुद्द भयो । एकछिन असमञ्जसमा परेको उ फेरी टोलाउन थाल्यो । यादको रिल छिटो-छिटो घुम्न थाल्यो । अनि १५ वर्ष पहिलेको घटनामा पुगेर अडियो ।

कलेजको शुरुवाती दिनमै ज्योतिसँग उसको चिनजान भएको थियो । छोटो समयमै गहिरो सम्बन्धमा गांसिएका थिए । जुगौंजुग सँगै जिउने बाचा गरेका उनीहरु छिट्टै बैबाहिक बन्धनमा बांधिदै थिए ।  यसैविचमा उनको असामयिक निधन भएपछि कहिल्यै नभेटिने गरी अजयसँग ज्योती टाढिएकी थिइन् । उनको निर्जिव शरिर आफ्नो आँखाले देख्न नपाएको उसले सत्यलाई स्वीकार्न सकिरहेको थिएन । त्यसैले उनलाई आफ्नो जीवनमा पाउने विश्वास साँचेर बसेको थियो । 

ज्योतीको सजिव शरिर भेटाउने उसको चाहना मृगतृष्णा बनेको थियो । उनलाई भेट्ने चाहनामा १५ औं वसन्त बितिसकेको समेत उसले पत्तो पाएको थिएन । उनको यादमा बेस्सरी तड्पिएको उसले आफूलाई समेत भुलेको थियो । त्यसैले उसको कल्पनामा जीवित नै रहेकी ज्योतीको उमेर समेत परिवर्तन हुन्छ भन्ने समेत ख्याल गरेन ।  त्यसैले हिजो भेटिएकी ज्योतिलाई उसले आफ्नै ज्योति ठानेको थियो । यो उसको दिवास्वपना थियो ।

संयोग पनि कस्तो अचम्मको । दुबैको नाम ज्योती नै थियो । उचाई, कद, रुप, सबैमा समानता । विडम्वना, दुबैको मृत्यु समेत एकै किसिमबाट भयो । फरक यतिमात्र थियो कि उसकी ज्योति १५ वर्ष अघि र यी ज्योतिले १५ वर्ष पछाडी भौतिक संसार छाडेकी थिइन् ।

अजय लामो समयसम्म टोलाइरह्यो । कन्चटको नशा एक तमासले चलिरहेको थियो । उसको गतिविधी याद गरिरहेको श्यामले उसलाई कोट्याउँदै सोध्यो, "के सोचिरहनु भएको दाई ?" 

अजयले श्यामलाई पुलुक्क हेर्यो । ऐकछिन सोच्यो अनि चुपचाप बस्यो । मानौं सुनेर पनि नसुने झैं गर्यो । लाग्थ्यो उसँग श्यामलाई फर्काउने जवाफ नै छैन । तर श्यामले अजयलाई एक तमासले हेरिरह्यो ।

विचरा श्यामलाई उसको बिगतबारे थाहा थिएन । न उसले ज्योतिको विछोडमा अजयले पाएको पिडा अनुभुत गर्न सक्थ्यो न त उसको पुन: प्राप्‍तिको कल्पनामा खुशी हुन नै ।

अजय सम्हालिन कोशिष गर्यो । एकपटक सबैको अनुहारमा नियालेर हेर्यो । समान उमेरमा देहावसान भएका दुई ज्योतिलाई एकैसाथ उभ्यायो । आफ्नै दुई आँखाका ज्योती झैं लागे उसलाई उनीहरु । 

दुबैको बियोगको पिडालाई पुन: अनुभुत गर्यो । घरको छत खसेर छाती थिचे झैं मन भारी भयो । पुन: सोचमग्न भयो । अकस्मात उसको अनुहार रातो भयो । ज्योतीको पुनर्जन्मको आभाष गराएकोमा भगवानसँग आक्रोशित भयो । ठुला-ठुला आँखा बनाउँदै युद्धभुमिमा होमिन लागेका सिपाही झैं कठोर हुँदै डेस्कमा मुड्की बजार्यो । र पागल झैं चिच्यायो, “आई हेट रि-वर्थ !”

 

भदौ १०, काठमाण्डौं ।

२०७८ फागुन २० मा सेतोपाटीमा प्रकाशित ।

Views: 371

यो रचना तपाईलाई कस्तो महसुस भयो ?

7

खुसी

0

दुःखी

0

अचम्मित

0

उत्साहित

0

आक्रोशित