info@jayrimal.com

98********

बे-लगाम कुण्ठा

बे-लगाम कुण्ठा

 

शरदको सुनसान रात छिप्पिंदै गर्दा

रमेशमा एक्लोपनसँगै उदासी पनि बढेको छ ।

 

भेटघाट र छलफलका लागि आएको सबिन 

कोठाको एउटा किनारामा उभिरहेको छ ।

उसको आगतलाई रमेशले खासै महत्व दिएको छैन ।

देओस् पो  कसरी ?

जसलाई उसले आफ्नो मानेको थियो 

उसैको द्वेध चरित्र अनि पूर्वाग्राही व्यवहारले 

उसलाई निकै चोट पुर्याएको थियो ।

 

उसको आगमनले घाउहरु झनै बल्जिएका छन् ।

पीडादायी घटनाहरु मानसपटलमा ताजा हुँदै छन् ।

दु:खी रमेश खुइय: गर्दै बेडमा पल्टिन्छ तर निदाउन सक्दैन ।

 

लामो समयसम्म पिडा र आक्रोस कुण्ठित गरेको उसले

आज व्यक्त गर्ने उपयुक्त मौका सम्झन्छ ।

रमेशको आवाजले गति लिन थालेसँगै

सुनसान रातको रात्रिकालिन शान्ति खल्बलिन्छ ।

 

“हो, म त्यही मानिस ! जो तिमीले सुनेभन्दा फरक,

तिमी बुझेभन्दा अलग अनि

तिमी र तिम्राले बनाएको धारणाभन्दा बेग्लै !

तिमीले मलाई आफ्नै नयनबाट कहिल्यै हेरेनौ है ?

हेर्यौ त फगत तिनीहरुको नजरबाट

जो आफू बाहेक सबैलाई गलत देख्छन् ।

 

रमेशको आक्रोस बढ्दै जान्छ;

तिमी त सिन्डिकेटको बिरोधी थियौ !

साहस र क्षमता नहुनेले मात्र सिन्डिकेट खडा गर्छ भन्थ्यौ,

तर अफसोच ! तिमी नै आज यसको संरक्षक बन्यौ है !

 

विचरा म !

कति धेरै चिन्ता गर्थें मैले तिम्रो !

गलत मान्छेसँग तिम्रो बसउठ हुँदा

घाँटी सुक्ने गरी चिच्याउँथें ।

तिमी सुनेर पनि नसुने झैं गर्थ्यौं ।

 

सायद तिमीलाई छानिएका ध्वनि मात्रै सुन्ने बानी परेको थियो,

त्यसैले मेरो आवाज तिम्रो रोजाइमा परेन ।”

 

रमेशको बे-लगाम कुण्ठा सबिनले रोक्न चाहदैन, बस् सुनिरहन्छ ।

अनि एकतमासले रमेशको आँखामा हेरिरहन्छ ।

रमेश बोलिरहन्छ;

 

“तिम्रा तिनै हुन्, जो अरुको काँधमा चढेर

चिच्याई-चिच्याई अरुलाई सोध्छन्,

“हेर त, म कति अग्लो छु ?”

छि ! लाज पनि लजाउँछ तिनलाई देखेर ।

 

समस्या समाधान तिनले गर्दैनन्,

जटिल परिस्थितिमा “माईबाप” गुहार्छन् ।

लोभी र पापीको साथमा रमाउँछन्,

शक्तिको गुणगान गर्दै भजन गाउँछन् ।

 

“म” हरुका कुरा लगाउँछन्,

तिमीहरुका आरती जगाउँछ्न ।

सन्ध्यामा जुनकिरी मैनमा जले झैं,

पालैपालो “म” हरुलाई जलाइरहन्छन्,

उनीहरु हाँसीरहन्छन्, केवल नशामा मातिरहन्छन्,

मेराहरु रोइरहन्छन्, देख्नेहरु डराइरहन्छन् ।

 

मलाई थाहा छ,

तिमी एक महत्वाकांक्षी पाइलट हौ,

जसको जहाज बे-लगाम दौडन्छ,

प्रतिकुल मौसममा समेत उडान नरोकी,

बादलको गुजुल्टो छिचोल्दै गन्तव्यमा पुग्छ ।

तर मैले आज तिम्रो गति घटेको अनि 

तिमी कमजोर भएको देख्दैछु, सबिन ।

 

सायद तिमीलाई हेक्का होला, 

बहुरुपीलाई निकै कमले मात्र विश्वास गर्छन् ।

त्यसैले, आफ्नो रङ्ग स्थिर राख सबिन !

म चाहन्छु, तिम्रो आजको यो रङ्ग नै सक्कली होस् ।”

 

यति भनी सकेर रमेश मौन बस्छ,

सबिन उसलाई एक-टकले हेरिरहन्छ ।

भेटघाट अर्थहिन भएकोमा सबिन दु:खी त हुन्छ 

तर केहि नबोली चुपचाप घर फर्किन्छ ।

 

ज्येष्ठ, २०८१

टोखा, काठमाण्डौं ।

Views: 136

यो रचना तपाईलाई कस्तो महसुस भयो ?

0

खुसी

0

दुःखी

1

अचम्मित

0

उत्साहित

0

आक्रोशित